कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुमनको स्वप्निल दुनियाँ

सजना बराल

युट्युबले स्टारहरू जन्माइरहेको छ । यो नहुँदो त स्वप्न सुमन यतिविघ्न प्रख्यात नहुन पनि सक्थे । अथवा, उनले यत्तिका ख्याति कमाउन अझै कुर्नुपथ्र्यो । तर, यो अब हाइपोथेटिकल कुरा भइसक्यो । उनी युट्युब स्टार बनिसकेका छन् । सन् २०१२ देखि सुमन थापा अर्थात् स्वप्न सुमन युट्युबको स्वप्निल दुनियाँमा छाइरहेका छन् ।

 सुमनको स्वप्निल दुनियाँ

युट्युबले नै उनलाई वास्तविक दुनियाँमा पनि व्यस्त बनाइदिएको छ । कार्यक्रमका लागि विभिन्न ठाउँ पुग्छन् । उनले हालै विराटनगर, पोखरा, चितवनलगायत मोफसलका सहरमा प्रस्तुति दिए । यही साता अस्ट्ेरलिया जाँदैछन् । ‘यो मेरो पहिलो इन्टरनेसनल सो हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘एकदम एक्साइटेड छु ।’ सिड्नी र मेलबर्नमा उनको कार्यक्रम हुनेछ ।


यता, सुमनको तिहार विशेष गीत नेपाल युट्युबको ट्ेरन्डिङमा अगाडि नै छ । यसमा उनले तिहार भाका गाएका छैनन् । ‘उपकार’ फिल्मको ‘लौ न मायालुको देशमा...’ र गायक विपुल क्षत्रीको ‘फर्की आयो असार...’ गीतलाई म्यासअप भर्सनमा उतारेका छन् । सुमनसँगै यसमा अनुज प्रधानको स्वर सुन्न सकिन्छ । दुवै गिटारिस्ट पनि हुन् । नट्टु शाहले भिडियो निर्देशन गरेकी छन् ।

अपलोड गरिएको एक सातामै उक्त भिडियोलाई सात हजारले लाइक गरेका छन् भने २ लाख बढीले हेरिसकेका छन् । तीन सयभन्दा धेरै प्रतिक्रिया देख्न सकिन्छ । ‘वो... स्वपु, तिम्रो भ्वाइसले मन छोयो,’ काव्या केसी लेख्छिन्, ‘अनुज दाको भ्वाइस नि सही रैछ ।’ रूपेश थापा नामक युजरले चाहिँ गीतभन्दा गायकद्वयको एक्सप्रेसन राम्रो लागेको फिडब्याक दिएका छन् ।

काठमाडौंमा जन्मे–हुर्केका सुमन कभर सङ गाएपछि हिट भएका हुन् । उनी सुरुमा होम भिडियोहरू पोस्ट गरिरहन्थे । पछि कर्मा रेकर्ड्ससँग सहकार्य गरी उनले कभर गीतको भिडियो युट्युबमा राख्न थाले । ‘सुन, भनन...’, ‘उकाली चढौंला...’, ‘सानु म...’ जस्ता गीत गाए । च्यानल आर्बिटरीसँग आबद्ध भएपछि ‘मोहनी लाग्ला है...’, ‘छिटको गुन्यु...’, ‘ए कान्छा ठट्टैमा यो...’ जस्ता गीत गाएका छन् ।

सुमनले अहिलेसम्म आधा दर्जनजति ओरिजिनल सङ पनि रिलिज गरेका छन् । सन् २०१४ मा पहिलो अफिसियल गीत ‘के साह्रो राम्री भाको...’ युट्युबमा राखेका थिए । त्यही गीत सन् २०१६ मा रि–अपलोड गरे । यसमा १२ लाख बढी भ्युज छ भने झन्डै पाँच सयवटा कमेन्ट्स आएको छ । ‘वान डिरेक्सन, जस्टिन बिबरहरू बेस्ट थिए,’ शशांंक मानन्धरले ६ महिनाअघि कमेन्ट गरेका रहेछन्, ‘अब सुमन नै नम्बर वान होलान् जस्तो लाग्यो ।’


१५ वटा जति कभर गीत गाएका उनले पछिल्लो समय दुइटा ओरिजिनल गीत निकालेका छन् । ‘कुनै दिन– द कफी सङ...’ र ‘कसरी भनुँ...’ युट्युब प्रयोगकर्तामाझ चर्चित छन् । अघिल्लो गीतको भिडियोमा ९ लाख बढी भ्युज छ भने पाँच महिनाअघि निकालेको ‘कसरी भनुँ...’ मा ३८ लाख । सुमनकै शब्द, संगीत र स्वर रहेको उक्त गीतपछि उनी युवा पुस्ताका क्रेज बनेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?