१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कामकै माया लाग्छ कल्कीलाई

कान्तिपुर संवाददाता

काठमाडौं — झन्डै दुई दर्जन फिल्म खेलिसकेकी अभिनेत्री कल्की कोचलिनलाई आफू बलिउडका लागि योग्य छु/छैन भन्नेमा द्विविधा रहेछ । ‘रिबन’ र ‘जिया और जिया’ फिल्मको प्रमोसनमा व्यस्त उनले हालैको कार्यक्रममा मनको कुरा खोलेकी थिइन् ।

कामकै माया लाग्छ कल्कीलाई

‘भारतीय फिल्ममा मैले आफ्नो ठाउँ त बनाएकी छु,’ उनले भनेकी छन्, ‘तर, बलिउडमा फिट छु कि छैन भन्ने कुरा थाहा छैन । र, यो कुरा जान्ने चासो पनि छैन ।’

कल्कीले ‘देव डी’, ‘दयाट गर्ल इन यल्लो बुट्स’, ‘मार्गरिटा विद अ स्ट्र’ जस्ता फरक धारका फिल्ममा काम गरेकी छन् । उनी अभिनीत ‘ए जवानी है दिवानी’, ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता फिल्मले राम्रो प्रतिक्रिया पाएका थिए । ‘फ्रिडम म्याटर्स’ र ‘लिभिङ सेक्सपियर’ डकुमेन्ट्रीमा पनि उनको कामलाई तारिफयोग्य मानिएको थियो । यति हुँदासमेत आफूलाई बलिउडमा योग्य भए/नभएको बारे प्रश्न आउँदा आश्चर्य लाग्ने गरेको उनले बताएकी छन् ।

‘म कतिवटा पार्टीमा सामेल भएँ या कतिवटा पार्टीको निम्तो आयो भन्ने पर्वाह छैन मलाई,’ कल्की भन्छिन्, ‘काममा ध्यान दिन्छु, कामकै माया लाग्छ । फिल्मको कथा र पात्रका लागि धेरै होमवर्क गर्छु । यसमै व्यस्त हुन्छु ।’ उनले आफू जुनसुकै राम्रो फिल्म हेरेर उत्साहित हुने गरेको बताएकी छन् ।

अरुको खुलेर प्रशंसा गर्ने मामिलामा पनि कल्की कन्जुस छैनन् । सन् २०१५ मा उनी र राधिका आप्टेको फिल्म एकसाथ प्रदर्शन भएको थियो । कल्कीको ‘वेटिङ’ र राधिकाको ‘फोबिया’ को रिलिज मिति जुध्दा कल्कीले राधिकाको मनग्गे तारिफ गरेकी थिइन् । ‘म प्रतिभाको प्रशंसा गर्न अलिकति पनि हिचकिचाउदिनँ,’ उनले भनेकी थिइन्, ‘यो फिल्म हेर्नेले मेरो कुरा अवश्य बुझ्नुहुनेछ । राधिकाले सानदार काम गरेकी छन् ।’

नेसनल फिल्म अवार्ड, फिल्म फेयर र स्क्रिन अवार्ड जितिसकेकी यी अभिनेत्री फ्रान्सेली मूलकी हुन् । उनका बुबा ६ दशकअघि भारत आएर त्यतै घरबार जोडेका थिए । उनकी जिजुआमा माउरिस कोचलिन आइफेल टावर र अमेरिकाको स्टयाच्यु अफ लिबर्टी निर्माणटोलीकी चिफ इन्जिनियर थिइन् । कल्कीलाई हिन्दी, अंग्रेजी, तामिल र फ्रेन्च भाषा बोल्न आउँछ । 

 

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?