कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जब आँचल परिन् अपहरणमा

सुटिङ रिपोर्ट
शंकर आचार्य

पर्सा — शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप भ्यानमा अपहरणकारीहरूले उनलाई जबरजस्ती बोकेर लग्दा उनी हारगुहार गर्दै थिइन् ।

 जब आँचल परिन् अपहरणमा

‘आमा मलाई बचाउनु....’ भन्दै आँचलले हारगुहार गरिरहँदा आमा वसुन्धरा भुसाल हवेलीभित्रबाट दौडँदै बाटोसम्म आइपुगिन् । छोरीलाई जबरजस्ती भ्यानमा हालेर लगेको देखेपछि उनी दौडँदै भ्यानलाई त पछयाइन्, तर सफल भइनन् ।  ‘लौ न मेरी छोरीलाई बचाउ...,’ उनी चिच्याइन् । तर उनको पुकार सुन्ने कोही थिएनन् । 

दृश्य साँच्चिकै भए पनि घटना भने वास्तविक थिएन । ‘मह सञ्चार’ ले लामो अन्तरालपछि प्रस्तुत गर्न लागेको फिल्म ‘शत्रु गते’ को सुटिङ भइरहेको थियो यहाँ । तीनपटक रिटेक लिएपछि मात्रै क्यामेरा पछिल्छिरबाट युवा निर्देशक प्रदीप भट्टराईले भने ‘ओके’ । 

आँचल र वसुन्धराको दृश्य सकिएपछि आफ्नो दृश्यको लागि हरिवंश आचार्य, पल शाह, मोहितवंश आचार्य, शिवहरि पौडयाल, नरेन्द्र कंसाकारलगायतका कलाकार तम्तयार भए । मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की पनि यो फिल्ममा हुनेछन् । मदनकृष्णको भूमिका रहेको दृश्य भने तराईमा नपरेकाले उनका यो टिममा थिएनन् । तराईको महापर्व छठको छेकोमा शुक्रबारदेखि वीरगन्ज र आसपास छायांकन भइरहेको छ । १५ दिनमा मोफसलका दृश्यहरू छायांकन गरी सक्ने लक्ष्य राखेको निर्देशक भट्टराईले जनाए । ‘वीरगन्जको छायांकन सकेपछि राजधानीको सुरु हुन्छ,’ उनले भने, ‘तराईको परिवेश चाहिएकाले हामी यता आएका हौं ।’ 

फिल्म पूर्णरूपमा हास्यप्रधान रहेको उनले बताए । ‘गतेहरू नै शत्रु भए केसम्म आइपर्छ भन्ने कुरालाई फिल्ममा हास्यशैलीमा प्रस्तुत गरेका छौं,’ भट्टराई भन्छन्, ‘कलाकारले दु:ख पाउँदा दर्शकले भने रमाइलो गर्छन् ।’ हरिवंश आचार्यको कथामा फिल्मको स्क्रिप्ट लेखन भने दीपकराज गिरी र निर्देशककै रहने बताइएको छ । नृत्यमा कविराज गहतराज र संगीतमा राजनराज सिवाकोटी, कालीप्रसाद बाँस्कोटा र प्रवेश मल्लिकले काम गर्नेछन् । चैत ९ गते फिल्म प्रदर्शन गर्ने लक्ष्यका साथ दू्रतगतिमा काम भइरहेको निर्देशक भट्टराईले बताए । ‘जात्रा’ पछि उनको यो दोस्रो फिल्म हो । 

फिल्म छायांकन उत्साहजनक भइरहेको उनले बताए । ‘काम गर्ने टिम मजबुत भएपछि काम गर्न सहज हुन्छ,’ उनले भने, ‘फिल्म निर्माण पनि एउटा टिम वर्क नै हो, टिम राम्रो भएपछि फिल्म पनि राम्रो बन्छ ।’ 

प्रकाशित : कार्तिक १२, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?