सकियो ‘भोर’ को छायांकन

कान्तिपुर संवाददाता

जनकपुर — निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित फिल्मको छायांकन गत वर्ष छठ पर्वदेखि सुरु भई यस वर्ष छठकै दिनमा सम्पन्न भएको निर्देशक भट्टराईले जनाए ।

शनिबार मिथिला नाटयकला परिषद्मा आयोजित पत्रकार सम्मेलनमा निर्देशक भट्टराईले फिल्मको सम्पूर्ण दृश्य जनकपुरकै वरिपरिमा छायांकन गरिएको जानकारी दिए ।

‘दाइजो मधेसको मात्र समस्याजस्तो देखिए पनि यो विश्वव्यापी छ,’ उनले भने, ‘दाइजोग्रस्त समाजका विभिन्न पक्षलाई सार्वजनिक गर्ने प्रयास गरेका हौं ।’ साहित्यकार कृष्ण धराबासीको कथानकमा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक यादवकुमार भट्टराई स्वयंले लेखेका हुन् भने रामनारायण ठाकुर, मदन ठाकुर, बीएन पटेल, डली सरकार, अनितारानी मण्डल, परमेश झा, राजेश सक्सेनालगायतले अभिनय गरेका छन् । 

राज तिमिल्सिना र रामगोपाल थापा निर्माता रहेको फिल्मको छायांकन दीपक ब्रजाचार्यले गरेका छन् । करिब ८० लाखको लागतमा निर्माण भएको फिल्म अगामी फागुनसम्ममा सार्वजनिक हुने निर्देशक भट्टराईले जानकारी दिए ।

प्रकाशित : कार्तिक १२, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?