२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

डकुमेन्ट्री : चुनौती र सम्भावना

सजना बराल

ललितपुर — पाटनस्थित यलमाया केन्द्रमा आयोजित ‘फिल्म साउथ एसिया, २०१७’ मा भारत, श्रीलंका, बंगलादेश, बेलायत, अमेरिकालगायत विभिन्न देशका फिल्ममेकर सहभागी थिए ।

डकुमेन्ट्री : चुनौती र सम्भावना

उनीहरुले दक्षिण एसियाली विषयवस्तुलाई आआफ्ना डकुमेन्ट्रीमार्फत प्रदर्शन गरे । तीमध्ये केहीले डकुमेन्ट्री निर्देशन, यसका चुनौती र रमाइलोबारे कान्तिपुरसँग आफ्ना विचार साझा पनि गरे ।

महिलाका विषयमा लगाव 

इम्पावर वुमेन इन नेपाल नामक गैरसरकारी संस्थामा स्वयंसेवक रहँदाताका बेलायतकी मिरान्डा मोर्टन याप जुम्ला पुगेकी थिइन् । त्यहाँका महिलालाई वातावरणमैत्री पर्यटनसम्बन्धी तालिम दिनु उनको उद्देश्य थियो । तर, ग्रामीण जनजीवन देखेपछि मिरान्डालाई अर्कै ख्याल आयो । उनी डकुमेन्ट्री बनाउनतिर लागिन् । 

‘मेरी साथी सोफी डिया पेग्रुम अमेरिकामा थिइन्,’ मिरान्डाले भनिन्, ‘उनलाई गाउँको कथा सुनाएँ । उनी तुरुन्तै नेपाल आइन् । हामी दुई मिलेर निशा बुढाको कथा खिच्न थाल्यौं ।’ अन्धविश्वास र रूढिवादविरुद्ध संघर्ष गरिरहेकी जुम्ली युवती निशामार्फत उनीहरूले पश्चिम नेपालका महिलाका परम्परागत दायित्वहरू देखाएका छन् । कछुवाकै गतिमा भए पनि महिलाको सामाजिक र आर्थिक अवस्था बदलिँदै गएको सन्दर्भ फिल्ममा छ । 
‘डकुमेन्ट्री बनाउँला भन्ने सोचेकी थिइनँ,’ मिरान्डले सुनाइन्, ‘अब भने यतैतिर रम्छु जस्तो लाग्दै छ । यो फिल्म मेरा लागि लाइफचेन्जिङ एक्सपेरियन्स रह्यो ।’

मिरान्डा डकुमेन्ट्री निर्माणमा यति रत्तिइन्, उनले सोफीसँग मिलेर ‘शक्ति पिक्चर्स’ नामक डकुमेन्ट्री फिल्म कम्पनी नै खोलेकी छन् । 

यसैमार्फत दोस्रो फिल्मका लागि तयारी हुँदै छ । ‘अब हामी ट्रान्सजेन्डर महिलाका कथा देखाउँदै छौं,’ उनले भनिन्, ‘महिलाकेन्द्रित फिल्ममा मेरो विशेष लगाव छ ।’

क्रिएटिभ आर्टका क्षेत्रमा मिरान्डाको अनुभव झन्डै एक दशक लामो छ । उनले विज्ञापन, सर्ट फिल्म र स्टेज प्रोडक्सनहरूमा संयोजक वा सहजकर्ता भएर काम गरेकी छन् । त्यही अनुभवले उनलाई पश्चिम नेपालका महिलाको जनजीवन पर्दामा देखाउन लायक छ भन्ने महसुस गरायो ।

‘सोफीसँग काम गरेपछि झन् धेरै कुरा सिक्न पाएँ,’ उनले भनिन्, ‘अनेकथरी मान्छेका कथा र विभिन्न चालचलन देखाउन पाइने भएकाले डकुमेन्ट्री विधा मन परिरहेको छ ।’

ननफिक्सन फिल्मको मार्केट बढ्दो

 तुषार माधव र सार्वनिक कौर

भारतका तुषार माधव र सार्वनिक कौर ‘सोज : अ बालाड अफ मालाडिज’ मार्फत एक–अर्कासँग जोडिए । नयाँ दिल्लीस्थित जामिया मिलिया युनिभर्सिटीमा आमसञ्चार तथा फिल्म निर्माणमा स्नातकोत्तर गरिरहँदा उनीहरूले उक्त डकुमेन्ट्रीको काम सुरु गरेका थिए । सन् २००९ मा थालेको काम सक्न चार/पाँच वर्षै लाग्यो । 

लखनउका तुषार र दिल्लीकी सार्वनिकले आफ्नो डकुमेन्ट्रीमा कश्मीरको कथा देखाएका छन् । तर, यसमा त्यहाँको द्वन्द्व सोझै समेटिएको छैन । बरु, साहित्य र संगीतमार्फत कश्मीरवासीको इतिहास, वर्तमान र विद्रोह देखाइएको छ ।

‘हामीले यस्ता पात्र भेट्यौं जो कश्मीरमा भइरहेको ज्यादतीलाई गीत र कवितामार्फत विरोध गरिरहेका थिए,’ तुषारले भने, ‘राजनीतिक कारण देखाएर फिल्मका केही अंश सेन्सर्ड गरिएका छन् ।’

सरकारी सहयोगमै फिल्म बनाएका उनीहरू सेन्सरविरुद्ध लडेका पनि थिए । तर, काटेको अंशले फिल्मलाई खासै असर नपरेको प्रतिक्रिया पाएपछि उनीहरू थामिए । ८५ मिनेटको डकुमेन्ट्रीले राष्ट्रिय फिल्म अवार्ड पाएपछि तुषार र सार्वनिकको हौसला झनै बढ्यो । अब उनीहरू दोस्रो प्रोजेक्टका लागि अध्ययनमा जुटेका छन् ।

‘संवादको सट्टा संगीत प्रयोग भएकाले धेरै कैँची चलेन,’ सार्वनिकले भनिन्, ‘डकुमेन्ट्रीमेकरहरू यस्ता कुरामा स्मार्ट हुनुपर्दोरहेछ । वैकल्पिक बाटो अपनाउन जाने सेन्सरको झमेला खेप्नु नपर्ने रहेछ ।’
ननफिक्सन फिल्मको मार्केट बढिरहेको तुषारको अनुभव छ । भारतमा फिक्सन फिल्म निर्माताहरूले पनि ननफिक्सन विधाले उठाउनुपर्ने विषय समात्न थालेको उनले बताए । ‘उडता पन्जाब’, ‘हाइवे’, ‘मसान’ जस्ता फिल्मको उदाहरण दिँदै उनले भने, ‘फिक्सन र ननफिक्सनबीचको धर्का मेटिँदै छ । यसले डकुमेन्ट्रीमेकरलाई फाइदै पुर्‍याउँछ ।’

पटकथा लेखनमा समेत अनुभव भएकी सार्वनिकलाई चाहिँ भारतीय दर्शकमा डकुमेन्ट्रीको आकर्षण बढिरहेको अनुभव हुन्छ । उनले सुनाइन्, ‘मनोरञ्जनात्मक फिल्म हेर्न बानी परेका दर्शकले अचेल डकुमेन्ट्रीलाई पनि सराहना गर्न थालेका छन् ।’

भिडियो रिपोर्ट जस्ता डकुमेन्ट्री

राजन कठेत

युरोपियन युनियनले प्रदान गर्ने ‘इरासमस प्लस’ छात्रवृत्ति पाएर युरोप पुगेका राजन कठेत २६ मिनेटको डकुमेन्ट्री बनाएर नेपाल फर्किए । पोर्चुगलको लिस्बनमा नेपालीले सञ्चालन गरेको हेयर सैलुनभित्रको गतिविधिलाई उनले डकुमेन्ट्रीको विषय बनाएका छन् । ‘स्प्लिट इन्ड्स’ शीर्षक उक्त फिल्मले नेपालीहरूको वैदेशिक जीवन देखाएको छ । 

‘कोठाभित्रैबाट यहाँको कठिनाइ देखाउन खोजेको थिएँ,’ राजनले भने, ‘अनुमति लिएरै भिडियो रेकर्ड गरे पनि पात्रहरूको हाउभाउ स्वाभाविक देखिएको भन्दै दर्शकले तारिफ गर्ने गर्नुभएको छ ।’ राजनले सन् २०१० मा फिल्ममेकिङ सुरु गरेका हुन् । त्यो बेला उनी ह्यान्डी क्यामेराले भिडियोहरू खिच्थे । पहिलोचोटि बनाएको ‘लस्ट’ फिल्मले उनलाई बड्स फिल्म फिएस्टामा अवार्ड नै दिलायो । 

त्यसपछि उनले साथीहरूसँग मिलेर ‘छाप्रो’ शीर्षक ट्रायलजी निर्देशन गरे । सन् २०१५ को काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा देखाएको ‘सेर्धक’ ले पनि उनलाई ‘बेस्ट माउन्टेन फिल्म’ को ट्रफी दिलायो । ‘मान्छेको अर्डिनरी लाइफमार्फत सामाजिक अवस्था देखाउन खोज्छु,’ उनले भने, ‘यो नै मेरो खुबी हो जस्तो लाग्छ ।’

अनुप बराल निर्देशित ‘दोख’ को पटकथा लेखकसमेत रहेका राजनले ‘मोक्ष’ मा संवाद र पटकथा लेखेका थिए । डकुमेन्ट्री मेकिङमा नेपालले अझै अनुभव बटुल्न बाँकी रहेको राजनको बुझाइ छ । ‘हाम्रा डकुमेन्ट्रीहरू भिडियो रिपोर्टजस्तै हुन्छन्,’ उनले सुनाए, ‘क्रिएटिभ पाटो कमजोर हुन्छ । समाचारका लागि पत्रकारहरूले खिचेझैं फुटेज लिइन्छ । यो सुधार्न आवश्यक छ ।’ उनी अब आफ्ना हजुरबा/आमाको जीवनयात्रालाई डकुमेन्ट्रीमा कैद गर्न जाँदै छन् । त्यसकै काममा व्यस्त रहेको उनले बताए ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?