३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राष्ट्रिय बाल नाटक महोत्सव

सुनीता साखकर्मी

काठमाडौं — ‘पृथ्वी गोलो छ,’ म चिच्याउँछु । ‘कस्तो गोल गुरु ?’ विद्यार्थी स्पष्टीकरण माग्छ । ‘पृथ्वी भोगटे जस्तो गोलो छ,’ म बुझाउँछु । ‘कस्तो गोलो रे गुरु ?’ विद्यार्थीले बुझ पचाउँछ । म रिसले तिलमिलाउँछु । मभित्रको गुरुत्व कक्षा चर्काएर टेबुलमा बजारिन पुग्छ, ‘पृथ्वी तेरो टाउको जस्तो छ ।’

राष्ट्रिय बाल नाटक महोत्सव

यी पंक्ति समाहित भैरव अर्यालको चर्चित निबन्ध ‘टाउको’ पढदा जति सरल र सरस लाग्छ, यसलाई अभिनयमा उतार्न भने पक्कै सजिलो छैन । अझै एक्लैले सबै पात्रको अभिनय गर्नु चुनौतीपूर्ण नै हुन्छ । राजधानीमा जारी तीनदिने राष्ट्रिय एकल बाल नाटक महोत्सवको दोस्रो दिन मंगलबार कीर्तिपुरको क्रिएटिभ स्कुलका सुवेग पौडेलले अर्यालको सर्वाधिक लोकप्रिय निबन्धलाई अभिनयमा उतारे । आठ मिनेटको नाटकमा उनी कहिले विद्यार्थी बन्थे भने कहिले शिक्षक । फरक पात्रहरूको फरक अभिनय एक्लैले गरेर उनले मंगलबार महोत्सवमा रौनक थपिदिए । उनको अभिनयले सबैको मन जित्यो ।

मंगलबारै उदयपुरको क्यानभास एकेडेमीकी प्रतिभा रायमाझीले ‘ढुकुर्नीको व्यथा’ प्रस्तुत गरिन् । १० मिनेटको नाटकमा उनले कसैले आफ्ना बच्चा मारिदिएपछि आमालाई कस्तो पीडा हुन्छ भन्ने उतारेकी थिइन् । त्यस्तै पेप्सिकोलाको ग्लोबल पब्लिक स्कुलका हिमाल भट्टराईले ‘आमा’, अनिल पराजुलीले ‘देशको माया’, ग्रिन फिल्ड उमाविका निकेश ओझाले ‘तुलो’, हिलारी स्कुलकी हिमा खतिवडाले ‘मेरो लक्ष्य’, ललितपुरको जुगल स्कुलका रोचक कठायतले ‘म पागल’, कान्जीरोवा नेसनल स्कुलकी प्रेक्षा अधिकारीले ‘भिखारी’, काठमाडौं इन्टरनेसनल स्कुलकी सिमरन थापाले ‘छात्रवृत्ति’, उदयपुरको क्यानभास एकेडेमीकै शिखा पराजुलीले ‘अघिल्लो पाना’ नाटक प्रस्तुत गरे ।


त्यस्तै, रोजबड स्कुलका आकार श्रेष्ठले ‘शहीद’, भुदेव कटवालले ‘परदेश’, पोखराको प्रगति स्कुलका दीक्षा कार्कीले ‘सपना’, इलामको वीरेन्द्र माविका विनोद सापकोटाले ‘बालअधिकार’ नाटक गरेका थिए । गाईघाटको सगरमाथा मोडेल स्कुलकी गरिमा तिमिल्सिनाले ‘सपनाहरू’ र रस्मिता गुरागाईले ‘आसुँको चिठ्ठी’ नाटक प्रस्तुत गरे ।

सोमबार नेवार समुदायको धिमे बाजासहित विद्यार्थी, शिक्षक र अभिभावकहरू शिल्पी थिएटर पुगेका थिए । आयोजक प्रज्ञा कुञ्ज स्कुलका पाँच विद्यार्थीहरूले कुमारी नाच प्रस्तुत गरेपछि नाटक मञ्चन सुरु भएको थियो । औपचारिक उद्घाटनपछि रंगमञ्च, अभिनय र फिल्म विषयमा अभिनेता हरिहर शर्मा, देशभक्त खनाल, निर्देशक मनोज पण्डित, दीपेन्द्र के खनाल, दिपर्सनजंग राणाबीच अन्तरक्रिया गरिएको थियो । पहिलो दिन अक्षरा स्कुलका सहर्ष सिवाकोटीले ‘न्यायको खोजी’ र नतासा अधिकारीले ‘आमाको माया’, एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराईले ‘परी’, सातदोबाटोस्थित ब्राइट फयुचर उमाविका लक्ष्मण इसरले ‘काग र कमिला’ र विप्लव पुडासैनीले ‘मापसे’ तथा काठमाडौं युनिभर्सिटी हाई स्कुलकी प्रजु श्रेष्ठले ‘चिट्ठा’ शीर्षक नाटक प्रस्तुत गरे ।

महोत्सवमा वरिष्ठ रंगकर्मीहरू हरिहर शर्मा र देशभक्त खनाल निर्णायकका रूपमा छन् । ‘बालबालिकाहरूलाई पढाएर मात्रै पुग्दैन, सिकाएर मात्रै पुग्दैन,’ महोत्सव निर्देशक टंक चौलागाईंले भने, ‘उनीहरूको सीप, उनीहरूको पढाइ माझिएर प्रयोगमा आउनुपर्छ । यही उद्देश्यसहित हामीले महोत्सव गर्दै आएका छौं ।’
महोत्सव बुधबार सकिँदै छ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?