कतारमा सुनिए उपेन्द्र

कान्तिपुर संवाददाता

काठमाडौं — कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा एकल सिर्जना वाचन गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नवोदित साहित्यिक वाचनालय, मुग्लानी सौगात नेपाली कला केन्द्र र गैरआवासीय नेपाली संघ कतारले गरेको ‘अनेसास नवोदित वाचन डबली’ मा सुब्बा प्रस्तुत भएका हुन् ।

 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा सुब्बाले ‘सायद,’ ‘जँडयाहाको तर्क,’ ‘समान अन्तर,’ ‘आमाको नाम,’ ‘ढुंगाको मन,’ ‘भेडेटारको पिकनिक,’ 
‘मेरो आमाको नाम,’ ‘ना४ख ४३८५,’ ‘ख्यालीमा हारेको धुर्ब,’ ‘अँध्यारोको गीत,’ र ‘कृष्णेले बिहे गरेछ’ लगायत दर्जनभन्दा बढी कविता प्रस्तुत गरे ।

‘कतार मेरो भाग्यमा रहेनछ,’ कविता प्रस्तुत गर्ने बेलामा उनले भने, ‘सन् १९९८ मा कतारमा काम गर्न आउन दुई पटक प्रयास गरेँ । तर, दुवै पटक सफल भइनँ ।’

‘खोलाको गीत’ र ‘लाटो पहाड’ जस्ता कृतिका सुब्बालाई सिर्जना वाचनबापत् ५० हजार रुपैयाँ पारिश्रमिक पनि दिइयो । कार्यक्रममा फिल्म निर्देशक प्रकाश आङदेम्बेको ‘देश खोज्दै जाँदा’ को विशेष सोसमेत गरियो । स्रष्टा हरिविनोद अधिकारीको एल्बम ‘पञ्चे बाजा’ को लोकार्पण पनि गरियो ।

कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव हरिप्रसाद अर्याल र डबली संयोजक श्यामराज रानाभाटले प्रवासमा नेपाली साहित्यको विकास भइरहेको बताएका थिए । 

 

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

‘संगीतको स्तर घट्नुमा मिडियाको बढी हात’

कान्तिपुर संवाददाता

काठमाडौं — सिर्जना र साधनाका अन्य क्षेत्रमा जस्तै संगीतमा पनि करिअर बनाउन खोज्नेहरू केही वर्षयता राम्रै किसिमले बढेका छन् । यो यथार्थले गायनगुरु चण्डीप्रसाद काफ्लेलाई पनि हर्षित बनाउने गरेको छ ।

सिर्जना र साधनाका अन्य क्षेत्रमा जस्तै संगीतमा पनि करिअर बनाउन खोज्नेहरू केही वर्षयता राम्रै किसिमले बढेका छन् । यो यथार्थले गायनगुरु चण्डीप्रसादकाफ्लेलाई पनि हर्षित बनाउने गरेको छ ।

‘संगीत सिकाइप्रति यस्तो लगाव पहिले देखिएको थिएन,’ उनले सुनाए, ‘यसले संगीतको बजार विस्तारमा निकै टेवा दिएको छ ।’

डेढ दशकदेखि गायनज्ञान बाँड्दै आएकाकाफ्लेका लागि संगीतका जिज्ञासुहरू बढ्नु लाभदायकै कुरो हो । तर, यो कुनै थुम्काको एउटा पाटो मात्रै हो । उनलाई यस्तै लाग्छ ।

‘सिक्नेहरू बढेका छन्, राम्रो हो, तर अहिलेका युवायुवती सिक्छन् मात्रै, साधना गर्दैनन्,’ उनलाई दु:ख यसैमा छ, ‘सिक्ने, सुन्ने र साधना गर्ने– यी तीन चरणलाई अनुशासित रूपमा पालना नगरी संगीतमा स्थापित हुने गरी अघि बढ्न सकिन्न ।’

काफ्लेको बुझाइमा, पहिलेका गायक/संगीतकारहरू साधनाको अवस्थामा धेरै बसेका थिए । उनीहरू निखारिएका थिए । ‘त्यही भएर उनीहरू दिलले गाउन सक्थे र ती गीतले श्रोतालाई भित्रैसम्म छुन्थे,’ हालैको भेटमा उनले सुनाए, ‘ती गीत हामीलाई अहिलेसम्म मन पर्नुको एउटा कारण यो पनि हो । अहिलेका अधिकांश गायकगायिका दिलले होइन, दिमागले गाउँछन् र त्यस्ता गीत श्रोताको दिमागबाट पनि तत्कालै फुर्र उडेर गइहाल्छन्, दिलमा बस्दैनन् ।’

अहिलेका गायकगायिका खाली बजारको पछि कुद्ने गर्नाले, धेरै कुरा भएर पनि केही नभए जस्तो भइरहेको हो भन्ने उनी ठान्छन् । ‘सबैलाई स्टेज तताउने गीत चाहिएको छ,’ शिव परियार, राज सिग्देलजस्ता गायकका गुरु गुनासिए, ‘ठीक छ, स्टेज तताउने गीत गाऊ, बजारको पछि लाग, पैसा कमाऊ, तर स्तर पनि मेन्टेन गर । बजारिया शब्द भएका चारवटा गीतगाउँछौ भने, कम्तीमा एउटा त स्तरीय कालजयी हुने सम्भावनाको, साहित्यिक हिसाबको गीत गाइदेऊ ।’

धेरैजसो गायकगायिका प्रचारमुखी भइदिनाले, संगीतका जिज्ञासु बढे पनि स्तर खस्किँदै गएको उनको ठम्याइ छ । ‘त्यसमा मिडियाले आगोमा घ्यूको काम गरिरहेको छ,’ उनले हाकाहाकी भने, ‘संगीतको प्रचारप्रसार गर्ने जिम्मामा बसेका रेडियो र टीभीका मिडियाकर्मीहरूले क्षणिक स्वार्थका कारण जस्तो पायो त्यस्तो गीत बजाइदिने गर्नाले संगीतको स्तर यस्तो दु:खलाग्दो गरी घटेको हो । श्रोताहरूको संगीत बुझ्ने क्षमतामा ह्रास आएको हो ।’

मिडियाकर्मीले विवेक पुर्‍याइदिने हो भने जस्तो पायो त्यस्तो गीत बज्न कम हुने, गायकगायिकाले जिम्मेवारीबोध गर्दै जाने र श्रोताको रुचि पनि बढ्ने उल्लेख गर्दै उनले थपे, ‘पहिलेका श्रोताहरू पनि स्तरीय थिए । उनीहरूको रुचि परिष्कृत थियो । तिनलाई त्यस्तो बनाएका रेडियो/ टीभीले नै हुन् ।

अहिले त जस्तो गीत पनि बज्ने भएकाले न गीतकारलाई गीत लेख्न धक लाग्छ, न त गाउनेलाई । गीतको स्तर मापनको कुनै निकाय नहुने भएकाले मिडियाकर्मीहरू विवेकी भइदिनैपर्छ । यसो हुन सके नेपाली संगीतको धेरै कल्याणहुने थियो ।’

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्