लोकप्रिय बन्दै प्रिन्टमेकिङ
काठमाडौं — सन् १९६० को दशकपछि नेपाली आधुनिक कला सुरु भएको मानिन्छ । त्यसको केही समयलगत्तै प्रिन्टमेकिङ माध्यम पनि देखा पर्न थाल्यो । यस माध्यमको बाटो खोल्ने जस वरिष्ठ चित्रकार उर्मिला उपाध्याय गर्गलाई जान्छ ।
करिब छ दशकअघि उनले पहिलो एकल प्रिन्टमेकिङ कला प्रदर्शन गरेकी थिइन्, काठमाडौंमा । राजधानीमा सोमबार उनी आफ्ना कला यात्राका अनुभव सुनाउँदै थिइन् । बबरमलस्थित आर्ट काउन्सिलमा जारी १० दिने ‘मिनी प्रिन्ट वर्कसप’ मा उर्मिलाको अनुभव सुनेर युवा प्रिन्टमेकर कलाकारहरू प्रभावित भएका देखिन्थे ।
उर्मिला फ्रान्सबाट प्रिन्टमेकिङ आर्ट अध्ययन गर्ने पहिलो नेपाली कलाकार पनि हुन् । त्यसपछि लैनसिंह बाङ्देल, वीरेन्द्रप्रताप सिंह, उमाशंकर साह, सीमा शंकर साह लगायत कलाकार प्रिन्टमेकिङमा उदाए । त्रिभुवन विश्वविद्यालयका कला प्रोफेशर उमा शंकरले झन्डै दुई दशकदेखि प्रिन्ट मिडियमबारे पढाउँदै आएका छन् । कलाको यस माध्यममा युवा भविष्य राम्रो देखेकाले उनले प्रोत्साहन स्वरूप प्रिन्टमेकिङ नेपाल संस्था नै खोलका छन् । बबरमहलमा जारी कार्यशालामा उमा शंकर, सीमा, वीरेन्द्रलगायत पाका र युवा विद्यार्थीले सँगै काम गरिरहेका छन् ।
‘नयाँ र पुराना पुस्ताबीच अनुभव साटासाट गर्ने यो राम्रो अवसर पनि हो,’ उमाशंकरले भने ।
एउटै प्रिन्टबाट सयभन्दा बढी प्रति निकाल्न सकिने भएकाले प्रिन्टमेकिङ कला सुपथ मानिन्छ । हरेकले सहजै किन्न सक्छ । उमाका अनुसार सजाएर राख्न सानै ठाउँ भए पनि पुग्छ र सजिलै अरू देशमा हातैमा राखेर निर्यात गर्न पनि सकिन्छ । तर, प्रिन्टमेकिङ प्राविधिक माध्यम हो । यसमा रासायनिक तत्त्व मिलाउनुपर्ने हुुन्छ । यो माध्यमबाट चित्र बनाउन भने निकै चुनौती झेल्नुपर्ने कलाकार अनिता भट्टराईले बताइन् ।
त्रिभुवन विश्वविद्यालयबाट पछिल्लो समय प्रिन्टमेकिङ माध्यममा स्नातकोत्तर गर्ने संख्या पनि बढ्न थालेको उमाशंकरले सुनाए । कार्यशालामा वरिष्ठ चित्रकारहरू वत्यसगोपाल वैद्य, मनुजबाबु मिश्र, शशीविक्रम शाह, लोक चित्रकारदेखि हृदयवल्लभ पाण्डे, सुषमा शाक्य, सौरगंगा दर्शनधारी, विधाता केसी, उमेश साह, प्रमोद तुलाधर, विपना महर्जन, भीषण राजभण्डारी, इन्द्र खत्री, कृष्ण राउत, सम्झना राजभण्डारी, सन्तोष सिग्देल, संगीता घिमिरे, टीका दाहाल, जेन्नी घले, रविता केसी, लक्ष्मीप्रसाद खोतेजालगायत ५० चित्रकार सहभागी छन् ।