चुनावी अभियानमा कलाकार

कान्तिपुर संवाददाता

काठमाडौं — मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि केही कलाकार समेत उम्मेदवार बनेका छन् । अभिनेत्री करिश्मा मानन्धर, अभिनेता नवल खडका, निर्माता प्रदीपकुमार उदय, निर्माता उद्धव पौडेल, अभिनेता राज घिमिरेलगायतलाई सम्बन्धित पार्टीहरूले सांसद उम्मेदवारका रूपमा चुनावी मैदानमा ओरालेका छन् ।

नाम चलेका अरू केही आकांक्षी कलाकारलाई भने पत्याएनन् । उम्मेदवारी पाएका कलाकारहरू अहिले आआफ्ना निर्वाचन क्षेत्र पुगेर चुनाव प्रचारप्रसारमा खटिसकेका छन् । 


अभिनेत्री करिश्मा नयाँ शक्ति पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा नयाँ शक्तिबाट करिश्माको नाम पहिलो नम्बरमा आउँदा एक किसिमको तरंग पैदा भएको थियो । पार्टीले थ्रेसहोल्ड कटाउन सके करिश्मा अब प्रतिनिधिसभा सांसद बन्ने छिन् । ‘हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बनाउनु नै मेरो प्रमुख उद्देश्य हो,’ उनले भनिन्, ‘महिलाका पक्षमा काम गर्नलाई म राजनीतिमा आएकी हुँ ।’


आफ्नो पार्टीले नयाँ र वैकल्पिक विचार लिएको हुँदा स्थापित दललाई भन्दा अलि गाह्रो भइरहेको करिश्माले बताइन् । पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेकी उनले आफ्नो पार्टीका विचार र उद्देश्य पढिदिन सबैलाई आग्रह गरेकी छन् । ‘मलाई समानुपातिक उम्मेदवार बनाइएको छ, त्यसैले एउटै क्षेत्रमा केन्द्रित हुने कुरा आएन,’ उनले भनिन्, ‘पार्टीका प्रत्यक्ष उम्मेदवारहरूलाई सहयोग गर्न विभिन्न जिल्ला पुगिरहेकी छु ।’ 


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष उद्धव पौडेल पनि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । गोपीकृष्ण हलका मालिकसमेत रहेका निर्माता पौडेल हिजोआज पार्टी र साथीभाइलाई जिताउन जनताको घरदैलो चहारिरहेका हुन्छन् । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट उठेका थिए । 

चलचित्र संघका अध्यक्ष एवं निर्माता प्रदीपकुमार उदय राप्रपा प्रजातान्त्रिकका प्रवक्ता पनि हुन् । उनलाई प्रदेश नम्बर ५ बाट समानुपातिक उम्मेदवार बनाइएको छ । समानुपातिकको सूचीमा नाम आउनुअघि नै उनी रुपन्देही पुगिसकेका थिए । संयुक्त लोकतान्त्रिक गठबन्धनको समर्थनमा उनी विभिन्न गाविस डुलिरहेका छन् । ‘विसं. २०४२ देखि राजनीतिमा लागेको हुँ,’ उदयले भने, ‘यसपालि चुनावी अभियानले खासै स्पिड समातेको चाहिँ देख्दिनँ ।’

‘दशगजा’, ‘भीमदत्त’ जस्ता राजनीतिक विषयमा फिल्म बनाएका निर्माता एवं कलाकार नवल खड्कालाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश नम्बर १ बाट प्रदेशसभातर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ । वाम गठबन्धनलाई विजयी गराउन सामाजिक सञ्जालमार्फत मतदातालाई अनुरोध गरिरेहका खडका अहिले चुनावी सभाहरूमा भाग लिन व्यस्त छन् । शुक्रबार उनले फूलमाला लगाएको तस्बिर फेसबुकमा राख्दै क्याप्सनमा ‘शुभसंकेत’ लेखेका थिए ।

अभिनेता राज घिमिरेलाई माओवादी केन्द्रले प्रदेश नम्बर ३ मा पर्ने ललितपुर जिल्लाको क्षेत्र नम्बर १ बाट समानुपातिकमा सिफारिस गरेको छ । फिल्म ‘चपली हाइट’ मा नायकको भूमिका निर्वाह गरेका राज लामो समयदेखि माओवादी केन्द्रका क्रियाकलापमा सक्रिय थिए । 

निर्माता मधुकुमार श्रेष्ठचाहिँ नेपाली कांग्रेसमार्फत धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ प्रदेश सभासद उम्मेदवार बनेका छन् । ‘स्पष्ट विचार, साझा सरोकार र जनहितमा कार्य सम्पादन गरिनुपर्छ भन्ने मान्यताका साथ नेपाली कांग्रेसले बहुमत प्राप्त गर्नुपर्छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत्लगायत आधारभूत कुराबाट कोही पनि नेपाली वञ्चित हुन नपरोस् ।’

निर्वाचनको मुखमै राप्रपाबाट एमाले प्रवेश गरेकी गायिका कोमल वलीले प्रत्यक्ष निर्वाचनतर्फ टिकट पाउने आशा राखेकी थिइन् । तर, पार्टीले टिकट नदिएपछि उनले दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी दिइन् । पछि पार्टीको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिइन् ।

अभिनेता रवीन्द्र खड्का पनि राप्रपाका कार्यकर्ता थिए । तर, उनलाई काभ्रेबाट टिकट दिइएन । त्यसपछि उनले पार्टी परित्याग गर्दै एमाले उम्मेदवारहरूलाई सघाउने घोषणा गरे । उनी एमालेका कार्यक्रमहरूमा सक्रियताका साथ लागिरहेका छन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘राज्जा रानी’ एक साताअगाडि

कान्तिपुर संवाददाता

काठमाडौं — नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’ को प्रदर्शन मिति निर्धातिर समयभन्दा एक साताअघि तानिएको छ ।

याम थापा निर्देशित उक्त फिल्म पुस २१ मा देशव्यापी रूपमा आउने भएको छ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले रिलिज मिति घोषणासँगै एक गीत पनि सार्वजनिक गरेको छ ।

दीपक शर्माको संगीत रहेको ‘चिपक चिपक...’ बोलको गीतमा केकी र नाजिर फिचरिङ छन् । नरहरि प्रेमी र सुमिना लोको गायन रहेको गीतको रचनाकार राजेन्द्र थापा हुन् भने विक्रम स्वाँरले नृत्य निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित ‘राज्जा रानी’ लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT