१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पोखरा आइपुग्यो मैंरिमो

दीपक परियार, बिना थापा

पोखरा — मुलुकमा नेपाली भाषापछि धेरै बनेका भाषाभाषीका फिल्ममा गुरुङ फिल्मको संख्या धेरै छ । गुरुङ भाषाका कुनै पनि फिल्म पोखरा आइपुगेनन् भने तिनको निर्माणले सार्थकता नपाउने सिनेकर्मीहरूको भनाइ छ । पछिल्लोपटक बनेको भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म ‘मैंरिमो’ (सम्झिरहेछु/मिस यु) को प्रदर्शन शुक्रबारदेखि पोखरामा सुरु भएको छ ।

पोखरा आइपुग्यो मैंरिमो

उक्त फिल्म अन्य नेपाली भाषाका फिल्मजस्तै नियमित प्रदर्शन थालिएको हो । नेपाली बक्स अफिसमा शुक्रबारदेखि ‘रोमियो’ प्रदर्शन सुरु भएको छ । ‘फाटेको जुत्ता,’ ‘मेला’ र ‘झ्यानाकुटी’ पनि चलिरहेका छन् । यो भीडमा ‘मैंरिमो’ ले आफ्नो राम्रो प्रदर्शन सुरुवात गरेको निर्देशक भोजबहादुर गुरुङले दाबी गरे । पोखराको बाराही हलमा शुक्रबार तीन सो चलेर राम्रो सुरुवात भएको उल्लेख गर्दै उनले भने, ‘नेपाली राम्रा फिल्ममाझ हामीले भाषाभाषीका फिल्मलाई नियमित प्रदर्शन थालेका छौं । नेपाली फिल्मसमेत एक साता नटिकिरहेको अवस्थामा हामीले भाषाभाषीलाई नियमितको सुरुवात गरेका छौं, यो चुनौतीपूर्ण छ ।’

यसअघि पनि केही गुरुङ फिल्मको नियमित प्रदर्शन गरिए पनि एक/दुई दिनमै हलबाट उत्रनुपर्ने बाध्यता थियो । त्यसपछि निर्माताले हल रिलिज गर्न छोडेका थिए । भीआईपी र च्यारिटी सोमा सीमित गुरुङ फिल्मलाई हलसम्म पुर्‍याउन ठूलै चुनौती भए पनि चुनौती मोलेरै नियमित प्रदर्शन थालिएको निर्देशक गुरुङले बताए । ‘अब हामी च्यारिटी सो/भीआइपी सोमा मात्रै कति रहने भन्ने हो,’ उनले भने, ‘दुई दशकदेखि गरिँदै आएको भीआईपी र च्यारिटी सो विस्तारै छोड्दै दर्शकलाई हलसम्मै डोर्‍याउनुपर्छ ।’

उनले यसअघि ‘सैं न्होँर्बे मु्रस्यो’ (हृदयकी रानी), ‘ङै ङ्हो’ (मेरो भाग्य), ‘आक्रोदो’ (नरुनु) निर्देशन गरिसकेका छन् । गुरुङ फिल्मको निर्देशनबाट खारिएका भोजबहादुरले पछिल्लो समय निर्देशन गरेको फिल्म ‘मैंरिमो’ लाई दर्शकले औधि रुचाएको दाबी गरे । उक्त फिल्ममा ‘ए ङोल्स्यो...ए ङोल्स्यो...’ बोलका गीत गुरुङ फिल्म क्षेत्रमा निकै चर्चित बनेको छ । उक्त गीतले पनि ‘मैंरिमो’ ले सफलता हासिल गर्ने उनले दाबी गरे ।

कार्यकारी निर्माता बालकाशी गुरुङका अनुसार गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयासलाई फिल्मले मुख्य विषय बनाएको छ । ‘युवा वैदेशिक रोजगारीमा जाँदा र गाउँका
महिला, बालबालिकाको शिक्षादीक्षाको लागि सहर पस्दा ग्रामीण बस्ती पतालिँदै गएका छन् । जसले गर्दा गाउँको समुदायिक विद्यालयमा विद्यार्थी घटेका छन्’ उनले भने, ‘यथार्थ घटनालाई हामीले फिल्मी क्षेत्रबाट उठाएका छौं ।’

मुनाल फिल्मसको ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा छ । छायांकन लमजुङको क्व्होलासोंथर गाउँपालिका २, मालिङको सैलुङ गाउँमा भएको हो । गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङलगायतको फिल्ममा अभिनय छ । गुरुङ कवि केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका हुन् । तेजेन्द्र गुरुङको संगीतमा गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन् । आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङले गीत लेखेका छन् । फिल्मका निर्माता प्रेम गुरुङ र सपना गुरुङ हुन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?