पपबाट फिल्ममा सरेकी शशी

सजना बराल

काठमाडौं — संगीतमा कालीप्रसाद बाँस्कोटा अहिले चर्चित छन् । उनलाई यो स्तरको ख्याति कमाउन धेरै वर्ष कुर्नुपर्‍यो । तर, कालीकै संगीत र अरेन्जमेन्ट रहेको गीत गाएकी शशी रावल पहिलो प्रयासमै हिट भएकी थिइन् । अहिलेका कालीप्रसाद जत्तिको हिट नभए पनि शशीको गाना ‘चाहना सकियो, बहाना सकियो...’ त्यो बेला धेरै सुनिएको थियो ।

पपबाट फिल्ममा सरेकी शशी

‘मलाई अहिलेसम्म त्यही गीतले चिनाइरहेको छ’, शशी भन्छिन्, ‘मेरो मनले खाएको गीत थियो । कालीप्रसाद दाइले सुनाउनेबित्तिकै मन परेर गाएकी थिएँ ।’ सन् २००७ को कुरा । आफ्नो पहिलो एल्बम ‘इन्ट्रान्स’ का लागि शशी गीत जम्मा पार्दै थिइन् । जमलको ‘डोरेमी’ म्युजिक स्कुलमा संगीत सिक्थिन् । काली त्यहाँ बाक्लै आउँथे । त्यही क्रममा शशीले उनीसँग गीत मागेकी थिइन् ।

‘सुरुमा उहाँले अर्कै गीत दिनुभाथ्यो,’ शशी सम्झन्छिन्, ‘त्यो अलि चित्त बुझिरहेको थिएन । ‘चाहना सकियो...चाहिँ मन परिहाल्यो ।’ रेश्मा सुनुवारको ‘मै ठूली भइछु रे...’ र शशीको ‘चाहना सकियो...’ एकैसाथ बजारमा आए । दुवै पप गीत मज्जाले चले पनि । शशीलाई फरक भोकल टोन वा बोल्ड भ्वाइस भएकी गायिकाका रूपमा लिन थालियो । क्यासेट बिक्री हुने जमाना थियो । स्टेज सो पाउन थालिन् । म्युजिक अवार्डहरू पनि जितिन् ।

दोस्रो एल्बमको गीत ‘तिम्रो हात समाई...’ बाट पनि उनले आफूप्रतिको श्रोताको विश्वास कायमै राखिन् । यसमा उनी स्वयंको शब्द र संगीत थियो । स्लो बिटको उक्त गीत राम्रै चल्यो । तेस्रो एल्बम ‘ताली बजाइदेऊ’ चाहिँ शशी–शैलीको थिएन । ‘त्यो एल्बम ममीको लागि निकालेकी थिएँ’, नत्थीवाली गायिकाले भनिन्, ‘उहाँ मलाई तीज गाऊ भनिरहनुहुन्थ्यो । इच्छा पूरा गरिदिएँ ।’ उनको तीज गीत लोक र आधुनिकको फयुजन जस्तो सुनियो ।

झन्डै चार वर्ष भइसक्यो, शशीले नयाँ एल्बम निकालेकी छैनन् । बरु यही अन्तरालमा १२/१५ वटा फिल्मका गीत गाइसकेकी छन् । उनका फयानलाई यो कुरा थाहा छ । शशीको स्वर चिन्न नसक्नेहरूलाई भने उनी कहाँ हराइन् भन्ने लाग्ला । ‘फिल्ममा गाउँदाको दु:ख यही हो,’ उनले हाँस्दै भनिन्, ‘भिडियोमा गायकको नाम आउँदैन, कसले गायो कसले !’

भनिदिइहालौं, ‘लुटेरा’ फिल्मको ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी...’, ‘रातो घर’ को ‘झक्कास झापाली...’ जस्ता गीतमा शशीको आवाज छ । यी गीत चर्चित भएयता उनलाई डान्सिङ नम्बरका गीतको प्रस्ताव आइरहेका छन् । ‘नेपाली फिल्मका गीतहरू अहिले बलिउडकै लेभलको बन्न थालेका छन्,’ उनले भनिन्, ‘पार्टीहरूमा नेपाली गीत बजाउन थालिएको छ । यसलाई पनि हाम्रो प्रगति मान्नुपर्छ ।’

म्युजिकको मार्केट डामाडोल भएकोमा उनी खिन्न छिन् । तर, एकातिरको बाटो बन्द भए पनि अर्कोतिर खुल्ला भएको भन्दै उनले नयाँ प्लेटफर्महरूको प्रसंग निकालिन् । शशीका अनुसार युटयुब, आइटयुन्स आदिबाट थोरबहुत आम्दानी हुनुका साथै स्टेज सोहरूबाट संगीतकर्मीले आफूलाई मज्जैले धान्न सक्छन् । ‘म्युजिकमा स्कोप छैन भन्ने कुरा गलत हो’, समाज–सेवामा सक्रिय शशीले भनिन्, ‘डेडिकेटेड भएर लाग्यो भने प्रगति हुन्छ ।’

प्रकाशित : कार्तिक २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?