सञ्जीवको ‘त्यो सपना’
काठमाडौं — ‘नाइँ मलाई थाहा छैन...’ गीतमार्फत चिनिएका गायक सञ्जीव पराजुली नयाँ एल्बमसहित उपस्थित भएका छन् । गीतकार होमनाथ न्यौपाने र संगीतकार दीपक भट्टराईसँग मिलेर उनले ‘त्यो सपना’ एल्बम तयार पारेका छन् । शनिबार आयोजित कार्यक्रममा गीतकार तथा कवि दिनेश अधिकारीले एल्बम लोकार्पण गरे ।
अस्ट्रेलिया बस्दै आएका सञ्जीवको यो दोस्रो एल्बम हो । यसमा ‘त्यो सपना...’, ‘पहिलो भेटैमा...’, ‘हिट हिट गीत..’, ‘मेरी मायालु...’ र ‘वेदनाले...’ बोलका गीत समाविष्ट छन् । तिनमा सञ्जिव बराइली, साहस शाक्य, गोपाल रसाइली र सचिन सिहंले अरेन्जमेन्ट गरेका हुन् ।
लोकार्पण समारोहमा गायक पराजुलीले ‘त्यो सपना...’ र ‘मेरो मायालु...’ बोलका गीत प्रस्तुत गरेका थिए । ‘पहिलो भेटैमा...’ मा उनलाई गायिका टीका प्रसाईंले साथ दिइन् । विदेशमा रहेर पनि संगीतकर्मलाई अगाडि बढाएकोमा गीतकार अधिकारीले पराजुलीहरूको प्रशंसा गरे ।
प्रकाशित : कार्तिक २६, २०७४ ०८:३८