१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तिब्बतको भर्चुअल यात्रा

सुनीता साखकर्मी

काठमाडौं — तिब्बतको मानसरोवर अर्थात् माउन्ट कैलाश । यो कैलाशको दर्शन गर्नाले मृत्युपछि स्वर्गमा बास हुन्छ भन्ने मान्यता अझै पाइन्छ । यसैले बर्सेनि हजारौंको संख्यामा नेपालबाट हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू मानसरोवर पुग्ने गरेका छन् ।

तिब्बतको भर्चुअल यात्रा

चिनियाँ सरकारी समाचार संस्था सिन्हवाको काठमाडौं ब्युरो र चाइना मोबाइल तिब्बत कम्पनीले शुक्रबारदेखि लाजिम्पाटस्थित होटल सांग्रिलामा गरेको ‘इन्टरनेसनल डिजिटल आर्ट प्रदर्शनी’ मा मानसरोवरलाई डिजिटल माध्यमबाट देखाइएको थियो । सोमबार सकिएको प्रदर्शनीमा भीआर (भर्चुअल) हेडसेट लगाएर तिब्बतको रोडमा आफैंले साइकल चलाएको र हवाईजहाजमा उडेको अनुभूति गर्न सकिन्थ्यो । आइतबार बिहानै प्रदर्शनीमा पुगेका चित्रकार दम्पत्ती सौरगंगा दर्शनधारी र पृथ्वी श्रेष्ठलाई भीआर हेडसेट (भर्चुअल रियालिटी) लगाएर हेर्दा तिब्बतै पुगेको अनुभूति भएको सुनाए । ‘कहिल्यै नदेखेको र नपुगेको ठाउँ पनि देखियो,’ भीआरबाट हेरिसकेपछि सौरगंगाले भनिन्, ‘त्यहीँ पुगेर आएजस्तो भयो ।’

यी दुवैजना चित्रकार हुन् । सौरगंगा ललितकला र सृजना कलेज अफ फाइन आर्टमा पनि पढाउँछिन् । समाज र संस्कृतिलाई आफ्नो पेन्टिङमा उतार्न चाहने सौरगंगा र पृथ्वी नयाँ कन्सेप्टहरूको खोजीमा प्रदर्शनी आएका थिए । भर्चुअल आर्ट हेरेपछि यी दुई यति प्रभावित भए कि वर्षको एकपटक ट्रेकिङ जाने गरेका उनीहरूले अबको डेस्टिनेसन मानसरोवरै बनाउने अठोट गरे ।

नेपालको पर्यटन प्रवर्धनमा यस्ता टेक्नोलजीले महत्त्वपूर्ण भूमिका खेल्ने पृथ्वीको भनाइ थियो । ‘हामीलाई त्यहाँको फोटो र भिडियो हेरेर त्यहाँ नै जाने सोच आयो,’ उनले भने, ‘विदेशीहरूलाई पनि यसरी नै नेपालको बारेमा देखाउन सके नेपालको पर्यटन केही बढ्थ्यो । हाम्रो प्रकृति अझै पर्याप्त रूपमा फोटोबाट देखाउन सकेका छैनौं ।’ 

चीनका डिजिटल प्रविधिका विज्ञ थोङ ट्रुट छयाले चाहिँ यस्तै प्रदर्शनी थाइल्यान्ड र रूसमा पनि सम्पन्न भइसकेको जनाए । भीआर हेडसेटबाट मानसरोवर, न्याङची, नाग्रीलगायतका सुन्दर थलो देख्न सकिने उनले बताए भने प्रदर्शित फोटोहरूमा तिब्बतको सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तालतलैया, बाटोघाटो, प्रकृति देख्न सकिने उनले सुनाए । प्रदर्शनीमा राखिएका तस्बिरहरूमा सम्बन्धित फोटोग्राफरहरूको नाम भने उल्लेख थिएन । भीआर सिर्जनामा पनि स्रष्टाको नाम उल्लेख थिएन । 

डिल्लीबजारका अविरल आर्ट गु्रपका किशोर डंगोल पनि आइतबार बिहानै प्रदर्शनीमा पुगेका थिए । उनले चाहिँ आशा गरेअनुरूप फोटाहरू नपाएको टिप्पणी गरे । ‘म खासमा फोटाहरू हेर्न आएको थिएँ । फोटोमा कस्तो डिजिटल प्रविधि युज भएको छ भन्नेमा जिज्ञासु थिएँ,’ उनले भने, ‘डिजिटल क्यामेराबाटै खिचिएका डिजिटल फोटाहरू नै हुन् यी, तर सिम्पल रहेछन् । अघिपछि प्रदर्शनीमा हेरेजस्तै ।’ तर पहिलोपटक भीआर हेडसेट लगाएर तिब्बत हेर्दा भने निकै रमाइलो अनुभूति भएको उनले बताए । ‘यो प्रविधिमा भएको रिभोलुसन नै हो,’ उनले भने । ‘आजकल कार्यक्रम, नाटक, फिल्ममा पनि डिजिटल प्रविधि प्रयोगमा आइसकेको छ’, नाट्यकर्मीसमेत रहेका उनले भने, ‘यो देखेपछि पनि नाटकलाई पनि नयाँ विचार आउने रहेछ ।’ 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?