१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

द्वन्द्वकालबारे राज्यलाई प्रश्न

मधु शाही

काठमाडौं — नेपाली साहित्यमा कुमार नगरकोटीको आफ्नै पहिचान छ । उनलाई उनकै पाठकले बुझ्न धेरैपटक पढ्नुपर्छ भन्ने भनाइ सहरमा व्याप्त छ । उनको यस्तो लेखन अब दृश्यमा पनि उपलब्ध छ ।

द्वन्द्वकालबारे राज्यलाई प्रश्न

यस्तो कार्य गरेका हुन्, अहिलेका व्यस्त र महँगा अभिनेता मानिने दयाहाङ राईले । उनले कुमारको कथामा आधारित रहेर नाटक ‘झयालिञ्चा’ निर्देशन गरेका छन् । यति बेला यो नाटक अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चन भइरहेको छ । 

नाटकलाई कुमारको ‘फकिर फिक्सन’ मा आधारित भनिएको छ । लेखनकै लागि फकिरझैं सबै कुरा बिर्सेर भौंतारिरहने कुमारको उत्तरआधुनिक शाब्दिक फिक्सनलाई दयाहाङले सरल दृश्य प्रस्तुतिमा रूपान्तरण गरेका हुन् । झन्डै एक घण्टाको नाटकमा अधिकांश समय न्यारेसनमा केन्द्रित छ । उपन्यासकार र पात्र दुई जनाको मात्रै अभिनयमा नाटक प्रस्तुत छ । 

दृश्यमा हराउँदै जाँदा दर्शक स्वयं कुमारको किताबको पाठक भएको महसुस गर्छन् । नाटकमा अनौठो प्रकारको कुनै उतारचढाव देखिँदैन । जब उपन्यासकार पात्रले झयालिञ्चाको कथा धेरै ठाउँमा वाचन गरिरहेको हुन्छ, यसपछि दर्शकको झयालिञ्चाप्रतिको कल्पनाशीलता बढ्दै जान्छ । लामो समय रहस्यमय देखाउन खोजिएको झयालिञ्चालाई अन्तमा फरक शैलीबाट खुलासा गर्न खोज्नु नाटकको राम्रो पक्ष हो । कुनै पक्षीको आवरणमा झयालिञ्चाको विवरण नाटकले दिइरहेको हुन्छ । वास्तविकता भने बेग्लै हुन्छ, जनु रहस्य नाटकको अन्तिममा खुल्छ । झयालिञ्चा जनयुद्धमा अनायसै मारिएकी एक युवती पात्र हुन् । जनयुद्धमा लालसेनालाई खाना खुवाएकै कारण शाही सेनाले गाउकी झयालिञ्चाको अस्तित्व लुट्छ । त्यति मात्रै नभई उनलाई जिउँदै ऐंसेलुको झाडीमुनि पुरिदिन्छ । 

नेवार समुदायमा घामकिरी अर्थ लाग्ने ‘झयालिञ्चा’ मार्फत नाटकले द्वन्द्वकालको संवेदनशील घटना खोतलेर राज्यप्रति प्रश्न गर्छ । झयालिञ्चा जस्तै थुप्रै बेपत्ता नागरिकको अवस्था के होला ? नाटक हेर्दै गर्दा दर्शकको दिमागमा प्रश्न उठ्छ ।

विजय बराल र रञ्जना वलीको अभिनय रहेको नाटकको प्रवाह भने केही सुस्त लाग्छ । टेबलमा बसेर चुरोटको धुँवा उडाउँदै, रक्सीको चुस्की लिँदै विजयले पात्रका संवाद बोलिरहनुबाहेक अरू रचनात्मक क्रियाकलाप गर्दैनन् । यद्यपि निर्देशकले दिएको पात्र अनुकूल अभिनयमा उनी सफल छन् । कुमारको जस्तै लाग्ने उनको शारीरिक बनावट र अभिनय शैलीमा भने दर्शकले चित्त बुझाएका छन् । केही दृश्य प्राविधिक हिसाबले रोचक छन् । 

उक्त नाटक मंसिर ३ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : कार्तिक २८, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?