क्रिटिक्स अवार्ड “कालो पोथी” लाई

फिल्म
कान्तिपुर संवाददाता

काठमाडौं — चलचित्र समीक्षक समाजले २०७३ र २०७२ का क्रिटिक्स अवार्डका विजेता घोषणा गरेको छ । समाजको विज्ञप्तिअनुसार २०७३ को उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालो पोथी’ ले प्राप्त गरेको छ ।

‘सेतो सूर्य’ का लागि दीपक रौनियारले निर्देशक, ‘कालो पोथी’ का लागि मीन भाम र अविनाशविक्रम शाहले पटकथा, ‘सेतो सूर्य’ का लागि डेभिड बार्करले सम्पादन, छायांकनमा ‘कालोपोथी’ का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । उत्कृष्ट अभिनेतामा अवार्ड ‘जात्रा’ का लागि विपिन कार्की र ‘पुरानो डुंगा’ का माओत्से गुरुङ छनोट भएका छन् भने ‘लभ सासा’ का लागि केकी अधिकारीले अभिनेत्रीको पुरस्कार पाएकी छन् ।

समाजले एकैसाथ अघिल्लो वर्ष २०७२ को अवार्ड पनि घोषणा गरेको छ । २०७२ मा ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘पशुपति प्रसाद’ बाटै दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले पटकथाको अवार्ड पाएका छन् । ‘कबड्डी कबड्डी’ का लागि शैलेन्द्र डी कार्कीले छायाकारको अवार्ड पाएका छन् । सम्पादनमा ‘क्लासिक’ का सुरेन्द्र पौडेल अब्बल घोषित भएका छन् । अभिनयतर्फ ‘फन्को’ का लागि सौगात मल्ल र ‘कबड्डी कबड्डी’ का लागि रिस्मा गुरुङले अवार्ड पाएका छन् ।

समाजले यसअघि घोषणा गरिसकेको २०७१ को समेत गरी तीनै वर्षका अवार्ड मंसिर ६ गते राजधानीमा वितरण गर्ने जनाएको छ । २०७१ मा ‘कबड्डी’ ले फिल्म, ‘टलकजंग भर्सेज टुल्के’ का लागि निश्चल बस्नेतले निर्देशक, ‘कबड्डी’ का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पटकथा, ‘ताण्डव’ का लागि बनिस शाह र मिलन श्रेष्ठले सम्पादन तथा ‘सुन्तली’ का लागि ओन्ड्रा बेलिकाले पुरस्कार पाएका थिए । त्यस वर्षका लागि ‘कबड्डी’ का दयाहाङ राई उत्कृष्ट अभिनेता तथा ‘सुन्तली’ का लागि प्रियंका कार्की उत्कृष्ट अभिनेत्री घोषित भएका थिए ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

मलाई मन पर्छ - कमलमणि नेपाल, अभिनेता

कान्तिपुर संवाददाता

काठमाडौं — ठाउँ धेरै ठाउँ घुम्ने अवसर जुरेको छैन । सुटिङका बेला सजिलै पुगिने पोखरा हो । त्यसैले पनि होला, त्यहाँको दृश्य निकै मन पर्छ ।

ठाउँ
धेरै ठाउँ घुम्ने अवसर जुरेको छैन । सुटिङका बेला सजिलै पुगिने पोखरा हो । त्यसैले पनि होला, त्यहाँको दृश्य निकै मन पर्छ ।

परिकार
मलाई मन पर्ने परिकार अनुसार त म निकै मोटो देखिनुपर्ने हो । मलाई दूधले बनेको ढकनी खुब मन पर्छ । पेटले मागुन्जेल खाइरहन्छु । र, पनि ज्यानचाहिँ उस्तै छ ।

पेय
कहिलेकाहीं अल्कोहल लिन्छु । तर, डबल ब्ल्याक व्हिस्की । जुसमा क्यानबेरी मन पराउँछु ।

पुस्तक
हुन त बजारमा थुप्रै साहित्यिक पुस्तक छन्, तैपनि म चाहिँ भर्खरै बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ पढेर सक्दै छु । कुमार नगरकोटीको ‘दोचा’ ले अलिक बढी मन छोएको छ ।

लेखक
जसलाई पढियो उसैलाई मन पराउने हो । मैले नजिकबाट अध्ययन गरेका दुई लेखक छन्, बुद्धिसागर र कुमार नगरकोटी । बुद्धिसागर रियालिटीमा लेख्ने भएकाले मन पर्छन । कुमार चाहिँ फयान्टासी लेख्न माहिर छन् ।

गीत
विभूषण बस्नेतको गीत, ‘कोशीले ’नि पिर्‍यो हजुर...’ भन्ने । यो गीत जति सुन्दै गयो उत्ति नै भावुक बनाउँछ । हाम्रै नेपालीको मनोभाव समेटेर बनाएको भएर होला ।

गायक/गायिका
पुराना गीत खोजीखोजी सुन्छु । गायिकामा अरुणा लामा र गायकमा शिशिर योगी मन पर्छन् ।

फिल्म
फिल्म चाहिँ लेटेस्ट नै मन पर्छ । भर्खरै हेरेको आमिर खानको ‘सिक्रेट सुपरस्टार’ ले मन छोयो । कुनै तडकभडकबिना बालकलाकारलाई लिड रोल दिएर पनि फिल्म राम्रै बनाउन सकिने रहेछ ।

अभिनेता/अभिनेत्री
आमिर खानको फयान हुँ । उनी कम फिल्म बनाउँछन् तर आफू पूर्ण रूपमा अब्बल भएको प्रमाणसहित काम देखाउँछन् । अभिनेत्रीमा चाहिँ विद्या बालन र कोनकोना सेन मन पर्छन् । कोनकोना आर्ट मुभीमा सुहाउँछिन् । रोल छोटो भए पनि त्यसमा उनको क्षमता प्रशस्तै देखिन्छ ।

ग्याजेट
अहिले हुवाईको मोबाइल चलाएको छु ।
यसका नयाँ भर्सनहरू आएका छन् । यसको ब्याट्री मज्जाले टिक्छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT