‘विदेशीकी स्वास्नी’ हेर्न घुइँचो

फिल्म
कान्तिपुर संवाददाता

भोजपुर — सामाजिक घटनामा आधारित फिल्म ‘विदेशीकी स्वास्नी’ लाई यहाँका दर्शकले रुचाएका छन् । हाल भइरहेको च्यारिटी सोहरूमा दर्शकको घुइँचो लोभलाग्दो छ ।

१ घण्टा ३६ मिनेट लामो फिल्ममा विदेशीकी श्रीमतीलाई नेपाली समाजले हेर्ने दृष्टिकोण, सोचाइ र त्यसको वास्तविकतालाई उतार्न खोजिएको छ । फिल्मले ‘दु:खले सुख निम्ताउँछ र सुखले काल’ भन्ने लोकोक्तिको परिधिभित्र रहेर समाजका विकृति विसंगतिसमेत उजागर गरेको छ । 

‘समाजमा भैरहने, दोहोरिरहने घटनाहरूलाई उतारिएको रहेछ । सन्देशमूलक लाग्यो,’ घोडेटारमा भएको सो हेरिसकेपछि स्थानीय जनक कार्कीले प्रतिक्रिया दिए । फिल्मबाट आशा गरेभन्दा बढी नै दर्शकको साथ र माया पाएको निर्देशक विनोद प्रधानले दाबी गरे । 

असोज १९ देखि च्यारिटी यात्रा थालेको फिल्म सदरमुकामदेखि जिल्लाका टक्सार, सिद्धेश्वर, गुप्तेश्वर, दावा, अन्नपूर्ण, च्याग्रे, घोडेटार, ओख्रे, दिङ्लालगायतका थलोमो प्रदर्शन भएको थियो । अन्य स्थानमा प्रदर्शन जारी रहेको र दिङ्ला र टक्सारमा प्रदर्शनका लागि फेरि माग भएको निर्देशक प्रधानले जनाए । 

एसएनयू प्रोडक्सन हाउसको ब्यानरमा भोजपुर चलचित्रकर्मी संघले निर्माण गरेको फिल्मको पहिलो सो सामुदायिक भवनमा भएको थियो । फिल्मको कथा, पटकथा र संवाद विरोध बस्नेतले लेखेका हुन् । छायांकन निर्देशक प्रधान र पारसमणि राईले गरेका हुन् । 

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?