१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खेलीभाका गायक

कान्तिपुर संवाददाता

काठमाडौं — स्याङ्जाको पिँढीखोलामा ८५ वर्षअघि जन्मेका चन्द्रदत्त पाण्डे अझै पनि सक्रिय छन्, अझै पनि राम्रै सुनिन्छन् । खेली भाकाको कुरा झिक्नासाथ उनी ‘सतर्क’ बनिहाल्छन् ।

खेलीभाका गायक

२२ वर्षे उमेरमा कखरा सिकेका र गाउँले श्रम–पसिनामा रम्न सिकेका पाण्डेले आफैं गीतिभाकामा सवाल–जवाफ गर्न सिके । यसको परिष्कार ‘खेली भाका’ हो भन्नेसम्म पनि उनलाई सुरुमा थाहा थिएन । आर्य समुदायको यो पुरानो संस्कार र संस्कृतिलाई उनले यसरी समाए, स्याङ्जा, कास्की, बागलुङ, पर्वतवरपरका चाडपर्व, मेलाहरूमा उनी आमन्त्रित हुन थाले । ‘खेलीमा प्रेमरसका कुरा धेरै हुन्छन्, दोहोरीजस्तै भनौं न,’ केही समययता काठमाडौंको बालुवाटारमा बस्दै आएका पाण्डेले सुनाए, ‘पूजापाठमा पनि खेली भाकामा गीत गाइन्छ, भजन बनाएर ।’

उमेरमा चन्द्रदत्त तीन दिन तीन रातसम्मै खेली भाका गाइरहन्थे । उनका केही खेलीभाका पोखरामा रेकर्ड भएका छन् । ‘पोखरामा खेली गाउन आउँदा ५ हजार रुपैयाँ पारिश्रमिक पाएको थिएँ, गाउँघरमा त चियाखाजा खायो, चित्त बुझायो,’ उनले सम्झिए । उनका अनुसार, कथ्न र बुझ्न–बुझाउन सजिलो भएकाले गण्डक क्षेत्रमा खेलीको अर्कै नाम रहेको छ । ‘खेलीलाई कसैकसैले रोइला भन्छन्, तर त्यो सही होइन,’ उनले भने ।

खेली भाकामा योगदानको मूल्यांकन गर्दै उनलाई नेपाल लोकबाजा संग्रहालयले सम्मान गर्ने भएको छ । संग्रहालयले मंसिर पहिलो साता काठमाडौंमा सुरु हुने सातौं अन्तर्राष्ट्रि लोक संगीत फिल्म महोत्सवमा उनलाई ‘लोक संगीत दीर्घ सम्मान’ दिंँदै छ । यसअघि उनलाई अलि मिया लोक वाङ्मय प्रतिष्ठान, पोखराले सम्मन गरेको थियो ।

यसैगरी, संग्रहालयले आधा शताब्दीयता लोकसंस्कृति, संगीत र सभ्यता संरक्षण सम्वद्र्धनमा साथ दिँदै आएका तुलसी दिवसलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?