सलमान खान नेपाल आउने

सुरज कुँवर

काठमाडौं — बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ ।

‘राष्ट्र बैंक मार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमती मागेको छ,’ पर्यटन सचिव महेश्वर न्यौपानेले शुक्रबार कान्तिपुरसँग भने ।
सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, शुरक्षा लगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ । कन्सर्टको लागत र कलाकारहरूको पारिश्रमिकबारे चाहिँ दुईपक्षिय सम्झौता अनुसार खुलाउन नमिल्ने उनले बताए ।

प्रकाशित : मंसिर १, २०७४ २१:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मतदानको दिन सार्वजिनक बिदा दिन आयोगको आग्रह, विद्यालयहरू चार दिन बन्द हुने

कान्तिपुर संवाददाता

काठमाडौं — निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनका दिन निर्वाचन हुने जिल्लाहरूमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । मंसिर १० गते पहिलो चरणमा ३२ र मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुँदै छ ।

आयोगले मतदानका दिन सार्वजनिक सवारीसाधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने हुनाले सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको हो । पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म तथा दोस्रो चरणमा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरू बिदा दिनसमेत आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसमा रहेकाले चार दिन बिदा दिन आग्रह गरिएको बताए । निर्वाचन व्यवस्थापनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने तीन दिनअगावै मतदान केन्द्र पुग्ने भएकाले सोहीअनुसार बिदा मिलाउन भनिएको उनले जनाए । त्यसबाहेक मतदान केन्द्र रहेको स्थानीय तहका भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द्रलगायत सार्वजनिक भवन तथा परिसर पनि चार दिनका लागि निर्वाचन प्रयोजनमा उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : मंसिर १, २०७४ २१:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT