१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘वुमन इन फिल्मस्’

सजना बराल

काठमाडौं — दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’ फिल्म हेरिरहँदा आफू मूर्खझैं महसुस भएको अभिनेत्री ऋचा शर्माले बताएकी छन् । फिल्मको दोस्रो सिक्वेल अझै नहेरेकी उनले भनिन्, ‘मौका मिलेको छैन । छक्का पञ्जा एकमा दर्शक हाँसेको देख्दा, आई फेल्ट लाइक अ फुल ।’

‘वुमन इन फिल्मस्’

महिला निर्देशकले महिलालाई नै रुढिवादी पाराले चित्रण गरेको पाउँदा आफू छक्क परेको ऋचाको भनाइ थियो । ‘इन्टरभलमै मैले दीपा दिदीलाई यो के गर्नुभएको भनेर सोधेकी थिएँ,’ उनले भनिन्, ‘दिदीले पूरा फिल्म हेर भन्नुभयो । फिल्म अवधिभर दर्शक रमाएको देख्दा त्यो चित्रण सामान्य नै हो कि भन्ने पनि ठानेँ ।’

दर्शकका रूपमा नेपालीहरू हिपोक्रेट (ढोँगी) भएको ऋचाको बुझाइ छ । डकुमेन्ट्री फिल्म निर्देशक रम्यता लिम्बूले चाहिँ दीपाश्रीले आगामी फिल्ममा महिलालाई बहुआयामिक रूपमा प्रस्तुत गरून् भन्ने इच्छा व्यक्त गरिन् । ‘एउटा महिलाले पनि सफल व्यावसायिक फिल्म बनाउन सक्छे भन्ने प्रमाणित गर्नुभएको छ,’ रम्यताले भनिन्, ‘यसका लागि चाहिँ उहाँलाई बधाई दिन्छु ।’ 

कमलपोखरीस्थित कुमारी हलमा जारी पाँचौं एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभलको प्यानल डिस्कसन विधामा ऋचा र रम्यतासँगै आर्ट डिजाइनर/प्रोडक्सन म्यानेजर मेनुका राई र पटकथा लेखक सम्पदा मल्लले ‘वुमन इन फिल्मस्’ शीर्षकमा आफ्ना कुरा राखेका थिए । शनिबारको उक्त शृंखलामा नेपाली फिल्ममा महिलालाई कसरी देखाइन्छ र फिल्म क्षेत्रमा महिलाको उपस्थिति कस्तो छ भन्नेबारे छलफल भएको थियो ।

‘सुरुमा त हामीभित्रको पावर दबाइन्छ,’ हिन्दी टीभी शृंखलाहरूमा स्क्रिप्ट लेखनको अनुभव बटुलेकी सम्पदाले भनिन्, ‘म आफैं पनि परिवार र समाजसँग लडदै यो क्षेत्रमा आएकी हुँ । महिलाले ‘म गर्न सक्छु’ भन्ने महसुस गरिरहन जरुरी छ ।’ उनले महिलाले महिला केन्द्रित फिल्म बनाउन आवश्यक रहेको बताएकी थिइन् । 

सम्पदाका अनुसार फिल्म मेकिङ महँगो विधा भएकाले लेखकका रूपमा धेरै सम्झौता गर्नुपर्छ । ‘व्यावसायिक र आर्ट फिल्म दुवैमा काम गरेर सन्तुलन मिलाउनुपर्छ हामीले,’ उनले भनिन्, ‘मैले स्टार प्लस र कलर्सका सिरियलहरूको स्क्रिप्ट लेखेँ । तिनका आफ्नै दर्शक छन् । फिल्म फेस्टिभलमा देखाइने फिल्मका लागि पनि काम गर्छु । ब्यालेन्स गर्नुपर्छ ।’ 

नेपाली फिल्म क्षेत्रकी एक मात्र महिला आर्ट डिजाइनर मेनुकाले आफ्नो सिर्जना देखाउन पाइरहेको र यही आफ्ना लागि ठूलो स्वतन्त्रता भएको बताइन् । फिल्म क्षेत्रमा महिलाको उपस्थिति थोरै भएकोमा चाहिँ उनले खिन्नता प्रकट गरिन् । ‘टिम बनाउनसमेत गाह्रो हुन्छ मलाई,’ उनले भनिन्, ‘एक्लै पर्छु कहिले त ।’

सगुना श्रेष्ठले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बहसमा ऋचाले विश्व फिल्म क्षेत्रमै महिलाको अवस्था दयनीय रहेको स्पष्ट पारिन् । ‘ओस्कार अवार्डको ८६ औं वर्षे इतिहासमा... मात्र पटक महिला निर्देशकले पहिलो पटक अवार्ड जितिन्,’ ऋचाको भनाइ थियो, ‘उनीहरूकहाँ त त्यस्तो हाल छ । हामीले हाम्रा ‘मूल्यमान्यता’ तोड्नै अघि बढ्न अझै समय लाग्छ ।’ 

रम्यताले भने हामीकहाँ बोल्न सक्ने महिला आवाज र गर्न खोज्ने महिला हातहरू प्रशस्तै भए पनि तिनलाई साथ दिने संयन्त्र बनिसकेको तर्फ ध्यानाकर्षण गराइन् । फिल्म निर्माणमा महिला विषयक अनेक आइडिया देखिए पनि तिनलाई गरिने ‘ट्रिटमेन्ट’ उचित नहुँदा खल्लो महसुस हुने उनले बताइन् ।

***
फेस्टिभलको दोस्रो दिन तीसवटा सर्ट फिल्म प्रदर्शन गरिए । ‘वान डे इन द लाइफ अफ कन्भिक्ट’, ‘कोल्ड स्टोरेज’, ‘अस्तित्व’, ‘मदर’, ‘युआर सिइङ थिङस’, ‘अ क्युरियस गर्ल’, ‘इमागो’, ‘रुवा’, ‘नाइरोबे’, ‘डु नट डिस्टर्ब’ लगायत फिल्म देखाइएका थिए । 
आमाछोराको सम्बन्धमाथि बनेको ‘मदर’ फिल्मका निर्देशक परिच्छेद सेनले सन्तानले कसरी अभिभावकलाई बेवास्ता गर्छन् भन्ने देखाउन खोजेको बताए । ‘सिम्पल विषयमा फिल्म बनाएको छु,’ उनले भने, ‘सानो कुरामै दर्शकलाई कसरी अल्झाउन सकिन्छ भनेर प्रयोग गरेको हुँ ।’ 

यौनकर्मीका विषयमा निर्मित ‘कोख’ का निर्देशक सुवर्ण थापाले चाहिँ महिलाको अस्तित्व र सुरक्षित गर्भपतनबारे देखाउन चाहेको बताए । ‘डकुमेन्ट्रीको काम गर्दै गर्दा न्यारेटिभ फिल्मको आइडिया आयो,’ उनले भने, ‘यसमा महिलाको फिलिङ र उनका च्वाइस प्रस्तुत गरेको छु ।’ महिला केन्द्रित फिल्म बनाइरहेकोमा सुवर्णको प्रशंसा पनि गरियो ।

प्रकाशित : मंसिर ३, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?