कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एक साता ‘मैंरिमो’

पोखरा — गुरुङ फिल्म प्रदर्शनको इतिहासमै पहिलोपटक सफलता मिलेको छ । गुरुङ भाषाको फिल्म ‘मैंरिमो’ लाई लगातार एक साता प्रदर्शनको सफलता मिलेको हो । दैनिक २ देखि ४ सो गरी १६ पटक ‘स्क्रिनिङ’ हुन सफल यो फिल्म बिहीबारसम्म नियमित थियो भने शनिबार विशेष प्रदर्शन भयो । निर्देशक भोजबहादुर गुरुङ मख्ख छन् । ‘यो नयाँ रेकर्ड हो,’ उनले भने ।

एक साता ‘मैंरिमो’


पोखराको बाराही हलमा कात्तिक २४ गतेदेखि नियमित प्रदर्शन गरिएको फिल्मको शुक्रबार र शनिबार भने दैनिक ३/३ सो चलेको थियो । नेपाली फिल्म क्षेत्रको राम्रो बजार मानिएको पोखरामा मातृभाषाको गुरुङ फिल्म पहिलोपटक लगातार एक साताको व्यावसायिक प्रदर्शन अभ्यास भएको निर्देशक गुरुङले बताए । यसअघि चितनवस्थित क्यूएफएक्स हलमा एक दिन प्रदर्शन गरिएको फिल्मलाई पोखरामा पनि मल्टिप्लेक्स हलमा देखाउने तयारी अब उनको छ । सभागृह चोकस्थित मिड टाउन हलमा आउँदो ल्होछारमा फेरि नियमित प्रदर्शनमा ल्याउने उनले बताए ।
‘च्यारिटी र भीआईपी सो गरेर मात्रै चित्त बुझाउने मातृभाषी फिल्मका लागि अब व्यावसायिकताको ढोला पनि खुल्नुपर्छ,’ उनले भने, ‘पोखराबाट यसको सुरुवात भएको छ ।’ थुप्रै चुनौती मोलेर उनले नेपाली फिल्मकै टिकट शुल्कमा फिल्म देखाएको बताए । गुरुङ भाषाको फिल्म हलमै गएर टिकट काटेर हेर्नेहरू धेरैजना पहिलो पटक थिए । कास्की ताङतिङ घर भई हाल पोखरा चिसापानी टोल बस्दै आएका मन्त्रीजंग गुरुङले यसरी नियमित आफ्नै भाषाको फिल्म हेर्न पाउनेबारे सोचेकै थिएन । ‘पहिलो पटक परिवारै फिल्म हेर्न आएँ,’ उनले भने, ‘निकै खुसी लाग्यो ।’ एक सातामा ३ हजार बढी दर्शकले फिल्म हेरेको निर्देशक गुरुङले दाबी गरे ।
अभिनेत्री सेसुवा गुरुङ (सोनु) ले आफ्नो पहिलो डेब्यु फिल्म नै पोखराको हलमा एक साता चल्नुले गुरुङ फिल्ममा कलाकारको भविष्य छ भन्ने संकेत गरेको बताइन् । मुनाल फिल्मस्को ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा छ । लमजुङको सैलुङ गाउँमा छायांकन गरिएको फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङलगायतको अभिनय छ । केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका हुन् । तेजेन्द्र गुरुङको संगीतमा गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन् । आश गुरुङ, अमीर गुरुङ र प्रेम गुरुङले गीत लेखेका छन् । फिल्मका निर्माता प्रेम गुरुङ र सपना गुरुङ हुन् । कार्यकारी निर्माता बालकाशी गुरुङका अनुसार गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयासलाई फिल्मले मुख्य विषय बनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?