कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तालमा ताल मिलाई...

सुनीता साखकर्मी

काठमाडौं — कुनै बेला गाउँघरका हरेक चाडपर्वमा बज्थ्यो, मादल । गाउँघरमा संगीत र मनोरञ्जनको साधन नै मादल थियो । विहेमा रत्यौली खेल्दा होस् या तिहारमा देउसी भट्टयाउँदा, मादलकै संगीत साथी हुन्थ्यो ।

तालमा ताल मिलाई...

तर पश्चिमा संगीतको व्यापकताले अचेल गाउँमा मादल बजेको सुन्न र बजाउनेहरूको संख्यामा कमी आएको छ । रोचक के भने अब मादल खोज्दै शहर पस्नेहरू पनि भेटिन थालेका छन् । 

दाङ नारायणपुरका चन्द्रकुमार गन्धर्व यी मध्ये एक हुन् । मादल सिक्नकै लागि उनी वर्ष दिनअघि काठमाडौं आएका थिए । यति बेला उनी वरिष्ठ मादलवादक नुच्छेमान डंगोलसँग नेपाल म्युजिक सेन्टरमा मादल सिकिरहेका छन् । ‘सानैदेखि गाउँमा मादल बजाउँथेँ, तर कुन कुन ताल के हो भन्ने थाहा नै थिएन,’ चन्द्रले भने, ‘कता हान्दा ताक हुन्छ, कता हान्दा तान हुन्छ भन्ने यहाँ थाहा भयो ।’ सानैदेखि संगीतप्रतिको मोह देखेर उनका हजुरबुवाले उनलाई संगीत नै पढाउन चाहेका रहेछन् । त्यही बेलामा नेपाल म्युजिक सेन्टरमा कक्षा नौदेखि म्युजिक पढ्न पाइने व्यवस्थाको जानकारी पाएपछि उनका हजुरबुवाले नै उनलाई म्युजिक कक्षामा भर्ना गरिदिए । जेहेनदार चन्द्रले छात्रवृत्ति पनि पाए । उनी अहिले सेन्टरमा नि:शुल्क म्युजिक सिक्छन् । 

उनी मादलसँगै सारंगी, गितार पनि सिक्दै छन् । भने, ‘हामीले मादल नबजाए कसले बजाउँछ । यत्तिकै छोड्दै गयो भने हराउँछ । मादल हराउनु भनेको नेपाली पहिचान हराउनु हो ।’ ललितपुर कुुसुन्तीका १६ वर्षीय सुशान्त गजुरेलचाहिँ बुवाको सपना पूरा गर्न मादल सिक्दै छन् । ‘मेरो बुवा सानैदेखि मादल, तबला बजाउनुहुन्थ्यो रे । तर हजुरआमाले म्युजिक सिक्न दिनुभएनछ,’ उनले भने, ‘बाबाको अधुरो सपना म पूरा गर्नेछु ।’ मादलमा नयाँ शैली र नयाँ भाका निकाल्दै मादललाई लोकप्रिय बनाउने सोच रहेको उनले सुनाए । 

नेपाल आइडलको प्रतिस्पर्धी माइती नेपालबाट आएकी पूजा परियारले जुरीहरूको मन राम्रै जितेकी थिइन् । उनी पनि कक्षा १० मा म्युजिक सिक्दै छिन् । भोकल सिक्न पुगेकी उनी मादलतिर पनि तानिएकी हुन् । ‘भोकल नै सिक्छु भनेर आएको थिँए, तर यहाँ आएर मादल देखेपछि सिक्न मन लाग्यो,’ उनले भनिन् । उनलाई वेस्ट्रन वाद्यवादनभन्दा मादल आफ्नै जस्तो लाग्छ रे । मादल बजेको सुन्दा गाउँतिरको याद आउने उनले सुनाइन् । मादल सिकेर उनले आफ्नो गायकी पनि थप माझिएको महसुस गरेकी छन् रे । भनिन्, ‘राम्रो गाउने मात्र नभई बाजा पनि बजाउन सिक्यो भने थप राम्रो गाउन सकिँदो रहेछ । यसले तालमा गाउन मद्दत गर्दाे रहेछ ।’ 

असनमा जन्मिएका ७० वर्षीय न्हुछेबहादुर डंगोलले २०१५ देखि नै मादल सिकाउन थालेका थिए । सात, आठ वर्षको उमेरदेखि ८० वर्षका मानिसलाई समेत मादल सिकाएको अनुभव उनीसँग छ । मादल बजाएरै जापान, लन्डन, फ्रान्स, अमेरिका, जर्मनीलगायत देशमा समेत पुगेका डंगोल पनि मादलको भविष्यलाई लिएर चिन्तित देखिन्छन् । ‘अहिले मादललाई किप्याडबाट निकाल्नेसम्मको टेक्नोलजी आइसक्यो । नयाँ पुस्ताले मादल देखेको त छ, तर पूर्वेली, पश्चिमेली र धिन्ताङ (मग खिं) मादलअनुसार बोल पनि फरकफरक हुन्छ भन्ने धेरैलाई थाहै छैन,’ उनले भने । 

केही दशकअघि पनि यो चिन्ताले सताउँदा उनले मादललाई आधुनिक गीतमा प्रयोग गरेका थिए । मीरा राणाको ‘मखमली चोलो चाहिँदैन...’, डेजी बराइलीको ‘भैसी लड्यो है दाजै...’सँगै गोपाल योञ्जन, धर्मराज थापाहरूको आधुनिक गीतमा समेत मादल बजाएपछि लोकप्रियता चुलिएको थियो । सात स्वरको आरोह अवरोह अनुसार आठवटा मादल बीचमा राखेर लन्डनमा महारानी एलिजाबेथ द्वितीयको अगाडि २२ वटा मादल एकैचोटि बजाए पनि उनले । ‘अहिले घरघरमा पाश्चात्य संगीतको सुनामी आएको छ । सुनामीले मादल, धिमे, मुर्चुङ्गा, पोङ्गा सबै बगाएर लैजान्छ । अनि नेपाली बाजा कसरी बजाइन्छ भनेर हेर्न आउनेलाई के देखाउने ?’ उनले भने । 

उनले भारतमा गएर ‘नेपाली बाजा’ मा स्नातकोत्तर गरेको प्रसंग पनि कोट्टयाए । भने, ‘नेपालमा बाजा बजाएर डिग्रीको सर्टिफिकेट पाउँदैन । नेपाली लोकबाजा बजाउनेलाई सर्टिफिकेट दिने युनिभर्सिटी कहाँ छ ? मैले भारतमा गएर तबलामा मादल र धिमे बाजाको बोल बजाएर त्यहाँको गुरुहरूलाई खुसी पारेर स्नातकोत्तरको सर्टिफिकेट लिएर आएँ ।’

डंगोलले मादलको छुट्टै लिपि तयार गरी मादलको ताल र बोलको खोजी गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिए । गत वर्षदेखि कक्षा नौ र दसको पाठयक्रम बनाएर नेपाल म्युजिक सेन्टरमा मादल सिकाउन थालिए पनि विद्यार्थीको संख्या कम भएको उनले सुनाए । ‘महिलाहरूले मादल, नाट्येश्वरलाई पनि छुनु हुँदैन’ भन्ने मान्यताका बाबजुद पनि न्हुच्छेबहादुरले २०१७ मा आफ्नी बहिनी नानीछोरीलाई मादल सिकाएका थिए । उनले पद्मकन्या क्याम्पसमा पनि थुप्रै महिलालाई मादल सिकाए । उनैले सिकाएका मध्येकी एक चेली शारदा डंगोल अहिले गुरुकै बाटोमा छिन् । 

शारदाको अहिले आफ्नै श्रीतारा ब्यान्ड पनि छ । उनले मादलमा महिलाको सहभागिता बढाउन उनले गत असारदेखि धिन्ताङ नेपाल नामक संस्था खोलेर महिलालाई मादलको बेसिक कोर्स नि:शुल्क सिकाउने गरेकी छन् । उनले अहिलेसम्म २१ जना महिला तथा बालिकालाई मादल सिकाइसकेकी छन् । उनैले सिकाएका केही विद्यार्थीहरूले गत महिना पाटनमा भएको ‘जमर्काे’ कार्यक्रममा मादल बजाएर तारिफ बटुले ।

 

प्रकाशित : मंसिर ३, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?