दिवसको ‘सम्झिराख’ भिडियोमा

शैली संक्षेप

काठमाडौं — वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले धेरै वर्षअघि ‘सम्झिराख’ शीर्षकमा यस्तो कविता लेखेका थिए–

दिवसको ‘सम्झिराख’ भिडियोमा


मेरैजस्तो तिम्रो 
हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला 
सम्झिराख
सम्झिराख, लामो सफरमा 
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख...

अब यो कवितालाई गीतको रूपमा संगीतबद्ध सुन्न र भिडियोमा हेर्न पाउने भएको छ । यो कवितालाई नेपथ्यले आफ्नो दसौं एल्बममा समेटेको छ । 

युट्युबमार्फत नेपथ्यले यसको भिडियो पनि सार्वजनिक गरेको छ । ‘मैले यो कविता बाल्यकालमै रचेको थिएँ,’ कवि दिवसले भने, ‘पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरूको मर्मले छोएपछि प्रकाशित पनि गरेको थिएँ ।’ बाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशित भएको यो कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रूपमा अघि बढाएकोमा उनले खुसी प्रकट गरे । म्युजिक भिडियोले भने ललितपुरका पुराना गल्ली, दरबार र ढुंगेधाराहरूलाई लोकेसन बनाएको छ । भिडियोमा ब्यान्डका सदस्यहरू रातको एकान्तमा पुरानो सहरको यात्रा गरेको सन्दर्भ छ । 

‘शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हातपरे र पढ्दै जाँदा कविता मनपराएर गाउने योजना बनाएको’ गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङले भने । नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणासँगै यो गीत सार्वजनिक गरेको बताइएको छ । 

प्रकाशित : मंसिर ४, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?