बहसमा ढयाङ्ग्रो, खैंजडी र भजन

लोक संगीत फिल्म फेस्टिभल
कान्तिपुर संवाददाता

काठमाडौं — पछिल्लो समय झाँक्रीलाई मनोचिकित्सासँग जोडेर हेर्ने अवधारणा पनि पाइन्छ । नेपाली लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानले बुधबारदेखि राष्ट्रिय नाचघरमा सुरु गरेको सातौँ अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलको पहिलो दिन झाँक्रीलाई लोकसंगीतसँग जोडेर चर्चा गरियो ।

नेपाल लोकवार्ता परिषदका सदस्य मनोहर लामिछानलेले झाँक्रीसँगै नेपाली लोकसंगीत जोडिएको दाबी गरे ।

फेस्टिभलको उद्घाटन सत्रको रूपमा ‘फोक म्युजिक एन्ड पर्फमेन्स : इभालुएटिङ आवर इनहेरिटेन्स एन्ड इन्स्युरिङ अ लास्टिङ विक्वेस्ट’ विषयक गोष्ठी राखिएको थियो, उक्त गोष्ठीमा लामिछानेले पश्चिम नेपालमा झाँक्रीहरू र लोक संगीतको सम्बन्धबारे कार्यपत्र नै प्रस्तुत गरे । ‘झाँक्री र ढयाङ्ग्रो एक सिक्काका दुई पाटाजस्तै हुन्,’ कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘तिनीहरू एकअर्काबिना अपुरा हुन्छन् भन्ने मान्यता छ । समय परिवर्तन सँगै झाँक्री मान्नेहरूको संख्यामा कमी आएको भए पनि पश्चिम नेपालमा जन्म र मृत्यु संस्कारमा झाँक्री अनिवार्यजस्तै छ । उनीहरूले बजाउने ढयाङ्ग्रोको संगीत भिन्न छ र त्यसले सबैलाई आकर्षित गर्छ ।’

लामिछानेले कार्यक्रममा जामुन र किजुको काठलाई जंगली हरिणको छाला मोरेर बनाएको ढयाङ्ग्रोलाई खयर र कुकुरतुइनाको काठबाट बनाएको गजोले बजाएर पनि देखाए । कम्मरमा सामर पेटी, जोली घण्ट, घाँटीमा गुरुमाला लगाए नाच्दा आएको संगीतले छुट्टै वातावरण बनाएको थियो । अहिले पनि झाँक्रीलाई विश्वास गर्नुका कारणमाथि भने अध्ययन अनुसन्धान गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पश्चिम नेपालकै स्याङ्जा, कास्की, पर्वत, पाल्पा लगायत जिल्लामा विशेष चाडपर्व वा पूजाआजामा खैँजडी, मुजुरा बजाएर गाइने चुड्का भजनबारे स्याङ्जाका सागर काफ्लेले कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्र चुड्का भजनको चेतनालाई युवापुस्तामा ल्याउन के गर्नुपर्छ भन्नेमा केन्द्रित थियो । स्याङ्जाका गाउँहरूमा अचेल खैँजडी ताल र चुड्काको बोल आउने मानिस भेट्न मुस्किल भएको उनले बताए ।

‘पहिले मनोरञ्जनको साधन थिएन । गाउँका सबै भजन गाएर नाचेर रमाइलो गर्थे,’ काफ्लेले भने, ‘अहिले टेक्नोलजीको विकाससँगै मनोरञ्जनका साधनहरूले युवापुस्तालाई तान्यो । मनोरञ्जनको लागि भजन नै गाउनुपर्छ भन्ने भएन ।’ युवामाझ लोकप्रिय बनाउन भजन सिकाउने औपचारिक कक्षाहरू सञ्चालन गर्नुपर्ने र नेपाली सांगीतिक क्षेत्रमा यसलाई नयाँ ढंगले प्रस्तुत गर्नुपर्ने उनको निष्कर्ष थियो । 

काफ्लेले कार्यपत्रसँगै सानैदेखि खैँजडी र मुजुरा बजाउँदै आएका स्याङ्जाकै कृष्णप्रसाद काफ्ले र भेषराज रेग्मीसँग गरिएको अन्तर–वार्ताको भिडियो पनि देखाए । दुवै भजन लोप हुने हो कि भन्नेमा उनी दु:खी देखिन्थे । पहिले रातैभर गाइने भजन अहिले घटेर दुई–तीन घण्टामा झरेको उल्लेख गर्दै भेषराज भन्दै थिए, ‘भजनमा विरलै युवाहरू आउँछन् । पहिले चुड्का गाउँदा जम्मा हुने ठूलो जमात पनि अहिले घटेर सानो भएको छ ।’

कृष्णप्रसादले भारतीय सेनामा भर्ती भएर जाँदा पनि खैँजडी र मुजुरा सँगै लगेका रहेछन् । भिडियोमा ७८ वर्षीय उनले भनेका छन्, ‘न्यास्रो लाग्दा खैँजडी र मुजुरा बजाएर चुड्का भजन गाएर रमाइलो गर्थें । दार्जिलिङ र काँगडाका नेपालीभाषीहरूलाई पनि खैँजडी र मुजुराको तालमा भजन गाउन सिकाएँ । नेपाल आएपछि निरन्तर भजन गाइरहेको छु । र, यो म पछि पनि निरन्तर नै होस् भन्ने चाहन्छु ।’ 

गोष्ठीमा भुटानका सोनाम दोर्जीले भुटानको परम्परागत संगीतबारे प्रकाश पारे । उनले भने, ‘पहिले भुटानको परम्परागत संगीतको मेलोडी र शब्द तिब्बती संगीतसँग मिल्दोजुल्दो थियो । त्यसैले आफ्नो देशको पहिचान जोगाउन जोङ्खा भाषा प्रचलनमा ल्याएका छौं । जोङ्खा भाषामा तिब्बती शब्दहरू छैनन् ।’

गोष्ठीमा श्रीलंकाका लासन्थी मनरञ्जानी कालिङगा डोना, स्लोभानियाका स्भानिवोर पेट्टन, अमेरिकाका होवर्ड लेस्टर, भारतका गुञ्जन इकिर मुण्डा र रुपेश कुमार साहु र नेपालका तर्फबाट पारमिता कँडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । आयोजकका अनुसार फेस्टिभलमा बिहीबारदेखि लोकसंगीतसम्बन्धी फिल्महरू देखाइनेछन् । 

 

प्रकाशित : मंसिर ७, २०७४ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

'प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ'

कान्तिपुर संवाददाता

काठमाडौं — नायीका श्वेता खड्काले भनिन्- 'तालको छाल हेरिरहँदा दिन बितेको पत्तै पाउँदिनँ । त्यसैले प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ । कति पटक पुगें भन्ने गन्ती नै छैन ।' उनलाई थप के के मन पर्छ त?

ठाउँ
तालको छाल हेरिरहँदा दिन बितेको पत्तै पाउँदिनँ । त्यसैले प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ । कति पटक पुगें भन्ने गन्ती नै छैन ।

परिकार
नेपाली खानाकी पारखी हुँ । दाल, भात, तरकारी, अचारलगायत थुप्रै परिकार चट्ट राखेर एकसाथ खाने हाम्रो संस्कार अति लोभलाग्दो छ । जुनसुकै विदेशी परिकार चाखेपनि आफ्नो घरको खाना मिस गर्छु ।
पेयपदार्थ
सफ्ट ड्रिंक्सजति सबै मन पर्छ । अल्कोहल चाहिँ परिस्थितिमा भर पर्छ । रेड वाइन खान मन पराउँछु । सबैभन्दा ठूलो नशा चाहिँ कफीमा छ । उस्तै परे दिनको तीन–चार कपकफी खाइदिन्छुु ।

पुस्तक
पुस्तक त पढ्छु, तर शीर्षक ठयाम्मै याद हँुदैन । पाउलो कोहेलोका प्राय: सबै किताब पढेकी छु । नेपालमा चाहिँ नयाँ साहित्यिक पुस्तक निस्किरहेका हुन्छन् । हात परेजतिका अध्ययन गर्न चासो राख्छु ।

लेखक
पाउलो कोहेलो ।

गीत
रोमान्टिक नेपाली गीत बढी सुन्छु । अञ्जु पन्तको ‘जिन्दगी यो फूलैफूलको काँडा हुँदैन...’ र आनी छोइङ डोल्माको ‘फूलको आँखामा फूलै संसार...’ सधैं सुनिरहूँ जस्तो लाग्छ ।

गायक/गायिका
गायिकामा अञ्जु पन्त नै मन पर्छिन् । गायकमा चाहिँ थुप्रै छन् । नेपालमा राजेशपायल राई र
भारतका अरिजित सिंहका गीतले मन छुन्छन् ।

फिल्म
आफू खेलेको फिल्म भएर मन पर्‍यो भन्नुहोला, त्यसो पक्कै होइन । तर, ‘कहाँ भेटिएला’ नै मेरो मनमा बेस्ट फिल्मको रूपमा बसेको छ । किनकि त्यसको लभस्टोरी टची लाग्छ ।

अभिनेता/अभिनेत्री
अभिनेत्रीमा जल शाहको याद आउँछ । नेपाली फिल्म क्षेत्रमा उनी जस्ती अभिनेत्रीको जहिले पनि अभाव खड्केको महसुस गर्छु । चुलबुले, क्युट र भूिमकाअनुसार बोल्ड अभिनय गर्न उनी सक्षम थिइन् । अभिनेतामा चाहिँ पाका पुस्तामा हरिवंश आचार्य र युवामा दयाहाङ राई मन पर्छन् ।

ग्याजेट
अहिलेको युग प्रविधिमा अडिएको छ । मेरो दैनिकी ग्याजेटबिना असम्भव नै देख्छु । सबै काम
यसैबाट हुन्छ । आईफोन र आईप्याड चलाउँछु ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT