नेपाल आइडल अस्ट्रेलियामा

नारायण खड्का

सिड्नी — अस्ट्रेलियाका सबै सहरमा हुन लागेको सांस्कृतिक प्रस्तुतिका लागि नेपाल आइडललगायतका कलाकारहरू यहाँ आइपुगेका छन् ।

राजधानी क्यानबेराबाट सुरु हुने उनीहरूको सांगीतिक यात्रा यहाँका विभिन्न सात सहरमा हुँदै छ । 

सिड्नीस्थित नेपाली टचले नेपाल आइडलका विजेताहरूलाई अस्ट्रेलिया ल्याएको हो । 

शुक्रबार क्यानबेरा आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्र्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपाल छन् । पहिलो पटक भव्य र फरक कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका राजकुमार गोश्वामीले जानकारी दिए ।

उनका अनुसार नेपाल आइडल टिमले सिड्नीको प्रतिष्ठितमध्येको ओलम्पिक पार्कमा रहेको स्पोर्टस् सेन्टरमा पनि कन्सर्ट गर्नेछ । अस्ट्रेलिया आइपुगेपछि गायकहरूले यहाँ रहेका नेपालीहरूले देखाएको माया र सम्मानप्रति खुसी व्यक्त गरे ।

उनीहरूले सबैलाई कार्यक्रममा सहभागी भएर आफूहरूलाई हौसला दिनसमेत आग्रह गरे । करिब एक महिना अघिदेखि नै उनीहरूको कार्यक्रम सफल बनाउन आयोजकले सामान्यभन्दा फरक प्रचार शैली अपनाएको थियो । सिड्नी र मेलबर्नका ट्रेन स्टेसनहरू र धेरै नेपालीहरूको बसोबास रहेको स्थानहरूमा ठूला प्रचारात्मक ब्यानर नै टाँगेर यसपटक प्रचार गरिएको छ । 

आयोजकमध्येका दिपेश पुनले पहिलो पटक रियालिटी सोबाट चर्चामा आएका उनीहरूको कार्यक्रम अन्य सांगीतिक कार्यक्रमभन्दा अलग र मनोरञ्जनात्मक हुने दाबी गरे । उनीहरूको कार्यक्रम अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड, ब्रिसबन, पर्थ, डार्बिन र क्यानबेरामा हुँदै छ । 

 

प्रकाशित : मंसिर ८, २०७४ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘जो नाच्छ ऊ बाँच्छ’

लोक संगीत फिल्म फेस्टिभल
कान्तिपुर संवाददाता

काठमाडौं — अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलअन्तर्गत बिहीबार बायोपिक र डकुमेन्ट्रीहरू देखाइए । जमलस्थित राष्ट्रिय नाचघरमा चलिरहेको फेस्टिभलको दोस्रो दिन भारतीय संगीत रामदयाल मुण्डालाई समर्पित गरिएको थियो र उनैको बारेमा तयार पारिएको ‘नाची से बाँची’ (जो नाच्छ ऊ बाँच्छ) बायोपिक देखाइयो ।

उनको बायोपिकबाहेक फेस्टिभलमा अरू चाहिँ डकुमेन्ट्रीहरू थिए । नेपालको तीनवटा र भारत, भुटान, अमेरिका, स्विट्जरल्यान्ड, हंगेरी, जिम्बावेको एउटा गरी नौवटा डकुमेन्ट्रीहरू देखाइए । 

भारतीय आदिवासी संस्कृतिलाई पुनर्जागरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका मुण्डाको बायोपिकमा उनैको छोरा गुंजिल इकिर मुण्डाले अभिनय गरेका छन् । झारखण्डको तमार परिवारमा जन्मिएका मुण्डाले उच्च शिक्षाका लागि अमेरिका पुगेको र पछि भारतमा आएर आदिवासीहरूको आवाजलाई राज्यसभा र संयुक्त राष्ट्रसंघसम्म पुर्‍याएका कुराहरू डकुमेन्ट्रीमा हेर्दा दर्शक निकै भावुक बनेका थिए । साहित्य एकेडेमी अवार्ड र २००९ मा पद्मश्रीबाट विभूषित मुण्डाको सन् २०११ मा निधन भएको थियो । मुण्डाको जीवनमा आधारित फिल्मको निर्देशनको पाटो बिजु टोप्पो र मेघनाथले सम्हालेका थिए भने मुण्डाको चरित्र उनैको छोराले निभाएका थिए । 

रामदयाल मुण्डा

नेपालका तर्फबाट रेणु क्षेत्री निर्देशित ‘संकटमा भगवान्’, तुलसी प्रभास निर्देशित ‘गल्लैलाउरे लोक गीत’ र एलपी देवकोटा निर्देशित ‘कर्णाली मस्टो’ डकुमेन्ट्री देखाइयो । क्षेत्रीले ‘संकटमा भगवान्’ डकुमेन्ट्रीमा दसैंमा तनहुँको खड्गदेवी मन्दिरमा ब्राम्हण (कथित माथिल्लो जात), मगर (आदिवासी समुदाय) र दलित (कथित तल्लो जात) तीनै समुदायका पुजारीले पूजा गर्ने परम्परा देख्न सकिन्छ । त्यस्तै प्रभासको ‘गल्लैलाउरे’ मा पश्चिम नेपालको स्याङ्जा र पर्वतमा गाइने परम्परागत गीतको बारेमा केन्द्रित थियो । देवकोटाको ‘कर्णाली मस्टो’ मा चाहिँ सुदूरपश्चिम र मध्यपश्चिमा कुल देवताको रूपमा मानिने मस्टो देवतासम्बन्धी धामी नाच देखाइएको छ । तीनैवटा डकुमेन्ट्रीमा लोकगीत, संगीत र परम्परा लोप हुने अवस्थामा पुगेको र यसलाई जोगाउने युवापुस्ताको खाँचो रहेको निष्कर्ष थियो । 

अमेरिकन निर्देशक विलियम औराले बनाएको ‘बटरफ्लाई’ डकुमेन्ट्रीमा थाइल्यान्डको संगीत र नेपाली संगीतको माध्यमले समाज परिवर्तन भएको कथा बुनिएको छ भने स्विस थोमस लुचिङ्गर निर्देशित ‘जोहली एन्ड वेर्ची’ मा स्विट्जरल्यान्डमा अहिले पनि दैनिक रूपमा गाइने परम्परा देख्न सकिन्थ्यो । बोर्डोज अनिको निर्देशित ‘द भ्वाइस अफ मदर अर्थ’ मा हंगेरीमा कविताको माध्यमले रोगलाई निर्मूल पार्ने अचम्मको संस्कृति नेपालीले देखे ।

भारतकै तर्फबाट बिहीबार औरेली चौलेउर निर्देशित ‘द लिटल प्रिन्सेस अफ राजस्थान’ मा लाङ्गा समुदायले पुस्तौँदेखि जोगाउँदै आएको राजस्थानी संगीतको महत्त्व र यसलाई जोगाउन स्कुले बालकहरू हमिद, अन्वर र स्वरूपले गरिरहेको प्रयासलाई उतारिएको थियो । दक्षिण अफ्रिकाका ल्युस गिमेन्ज अमोरोसले जिम्बावेबारे बनाएको ‘एड्गर बेरा’ र भुटानका खेङ सोनाम दोर्गी निर्देशित ‘खेङ चोइडपाला’ पनि देखाइयो । 

 

प्रकाशित : मंसिर ८, २०७४ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्