डिस्को किङ बप्पी

न् १९८० र ९० को दशक बप्पी लाहिरीको थियो। त्यो बेला उनले संगीत भरेका जुन कुनै गीत सुपर हिट हुन्थे। ‘याद आ रहा है तेरा प्यार...’, ‘आई एम अ डिस्को डान्सर...’ ‘जवानी जानेमन...’, ‘कोई यहाँ आहा नाचे नाचे...’, ‘तम्मा तम्मा लोगे...’, ‘नयनों में सपना...’ जस्ता गीत केही उदाहरण हुन्। आफ्नो जमानाका सबैभन्दा व्यस्त संगीतकारमध्येका एक हुन् बप्पी।

डिस्को किङ बप्पी

चार दशक लामो सांगीतिक करिअरमा उनले थुप्रै कीर्तिमान कायम गरेका छन्। जस्तो कि, एकै वर्षभित्र ३५ फिल्मका लागि १८० गीत रेकर्ड गराएबापत् उनको नामक गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता भएको छ। सन् १९८३ देखि ८५ मा बनेका १२ सुपर हिट फिल्मका सबै गीत उनले संगीतबद्ध गरेका थिए। उनको गीत ‘कलियों का चमन तब बनता है...’ लाई अमेरिकी गायिका ट्रुथ हर्टस्ले आफ्नो भर्समा गाइन्। बप्पीकै निम्तोमा सन् १९९६ मा माइकल ज्याक्सन भारत आएर कन्सर्ट गरेका थिए।

हिन्दी फिल्मका गीतमा डिस्को म्युजिक प्रवेश गराउने श्रेय बप्पीलाई दिइन्छ। कतिले त उनलाई ‘डिस्को किङ अफ इन्डिया’ समेत भन्ने गरेका छन्। इन्डिया टाइम्सका अनुसार संगीत निर्देशकका रूपमा उनको तुलना अरू कुनै संगीतकारसँग हुन सक्दैन। ‘संगीत रचना र गायनका मामिलामा उनीजति युनिक अरू कोही छैनन्,’ वेबसाइटमा भनिएको छ, ‘यद्यपि, बप्पीलाई अरूका संगीत चोरेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ।

उनले क्रेडिट दिने बानी बसालेको भए उत्तम हुने थियो।’बप्पीका अभिभावक थिए उस्तै राम्रा गायक किशोर कुमार, जो उनका मामा थिए। घरको सांगीतिक माहोलले उनलाई तीन वर्षको उमेरदेखि नै वाद्यवादक बनायो। उनी कुशल तबलावादक पनि हुन्। उनको असली नाम अलोकेश लाहिरी हो। तर, सबैले ‘बप्पी दा’ भनेर बोलाउने गरेका छन्। उनी सुनका सोखिन हुन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो। दुई किलोजति सुनका गहना सधैं पहिरिने उनी तिनको सुरक्षाका लागि चार जना बडी गार्ड साथमा लिएर हिँड्छन्।

प्रकाशित : मंसिर १२, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?