१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देखाउन नपाएको एउटा गाउन

मिस युनिभर्स
मधु शाही

काठमाडौं — मिस युनिभर्सको फाइनल राउन्ड हुनुभन्दा एक दिनअघि नगमा श्रेष्ठले आफ्नो फेसबुक प्रोफाइलमा बिना घलेले डिजाइन गरेको गाउन लगाएको फोटो अपलोड गरेकी थिइन् ।

देखाउन नपाएको एउटा गाउन

उक्त पहिरनमा बिनाले के–के जडान गरेकी छन् भनेरसमेत उनले खुलाएकी थिइन् । लस भेगासमा हालै सम्पन्न मिस युनिभर्सको ग्रान्ड फिनालेमा प्रतियोगीहरूको परिचय राउन्डमा नगमाले उक्त गाउन पहिरिने योजना बनाएकी थिइन् । दुर्भाग्य, यो वर्ष टप टेनका सहभागीले मात्रै गाउन लगाएर सहभागी हुने नियम बनाएको त्यहीँ पुगेर मात्रै उनले थाहा पाइन् ।

६ फिट उचाइ भएकी नगमालाई गाउन बनाउन बिनाले दुई महिना समय लगाएकी थिइन् । बिनाका अनुसार जर्जेट फेब्रिक बेसमा पारेर पोते, सितारा, मोती लगायत विभिन्न पदार्थ जडान गरी तयार पारिएको उक्त गाउन १२ किलोको थियो । आकर्षक कलर कम्पोजिसनका कारण पनि यो ड्रेसको चर्चा भएको थियो । मिस युनिर्भसमा प्रस्तुतिका लागि जुन उत्साहसाथ काम गरिएको थियो, त्यसको नतिजा सकारात्मक नआउँदा बिनालाई दु:ख लाग्नु स्वाभाविक हो । उनको मात्रै हैन, सबै मुलुकका थुप्रै डिजाइनरको सिर्जना परिचय राउन्डमा यस पटक प्रस्तुत गरिएन ।
‘डिजाइनरका लागि पहिरन केवल पहिरन हुँदैन,’ बिनाले भनिन्, ‘त्यसमा कल्पनाशीलता लुकेको हुन्छ ।’ 


 बिना घले, डिजाइनर


ब्रुनाईमा जन्मेकी बिनाको पुख्र्यौली घर लमजुङ हो । बसाइँ सरी चितवन आएकी उनी अहिले भने काठमाडौंमै करिअर सुरु गर्दै छिन् । फेसन डिजाइनिङमा प्यासन भए पनि उनले करिअरको सुरुवातचाहिँ मोडलिङबाट गरिन् । झन्डै डेड दशक पहिला मोडलिङ गर्दा उनले यस क्षेत्रमा संघर्ष मात्रै महसुस गरेकी थिइन् ।
‘उस बेला मोडलिङ गर्नु टाइम पास मात्रै सोचिन्थ्यो,’ उनले भनिन्, ‘अचेल व्यावसायिक हुन थालेका छन् ।’
मोडलिङ गर्दा फेसन डिजाइनिङको महत्त्व नजिकबाट बुझ्न पाएको उनको मत छ । यस्तै बुझाइले उनलाई मोडलिङ छोडेर फेसन डिजाइनिङ अध्ययन गर्न भारत पुर्‍यायो । 
पढाइ सकेपछि मुलुक फिरेकी उनी सन् २०१२ देखि आफ्नै ब्रान्ड खोलेर लागि परेकी छन् । 
पछिल्लो समय फेसनमा जागरुकता आउन थालेपछि डिजाइनरको भविष्य उज्ज्वल देखेको उनको अनुभव छ । ‘फिल्म क्षेत्रमा पनि कस्टुम डिजाइनिङ प्राथमिकतामा पर्न थालेका छन्,’ उनले सुनाइन्, ‘डिजिटल युगले बजार अझै फराकिलो बनाइदिएको छ ।’
बिनाले ‘ड्रिम्स’, ‘मौन’, ‘सोल सिस्टर’, ‘हसिया’ मा कस्टयुम डिजाइन गरेकी छन् । त्यस्तै, आउँदै गरेको फिल्म ‘रोमियो मुना’ र ‘तिमीसँग’ मा पनि बिनाको कस्टुम क्रिएसन देख्न सकिन्छ । फिल्ममा काम गर्दा बिनालाई अत्यन्त क्रिएटिभ भए जस्तो लाग्छ रे ।
‘हरेक फिल्ममा स्क्रिप्ट पढेर, क्यारेक्टरको भावना महसुस गरेपछि मात्रै त्यहीअनुकूल पहिरन बनाउनुपर्ने चुनौती हुन्छ,’ उनले भनिन्, ‘हरेक क्यारेक्टरको पहिरनले डिजाइनरलाई सधैं क्रिएटिभ बनाइरहेको हुन्छ ।’ 

प्रकाशित : मंसिर १३, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?