कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एजेन्डामै परेन पोखरामा फिल्मसिटी

दीपक परियार, बिना थापा

लेखनाथ — फिल्म छायांकनका लागि प्राकृतिक स्टुडियो हो पोखरा । तर ‘फिल्म सिटी’ बनाउन भने यहाँका राजनीतिक दल र तिनका उम्मेदवार उदासिन देखिएका छन् ।

कुनै पनि दलले आफ्नो घोषणापत्रमा ‘फिल्म सिटी’ को एजेन्डा समेटेका छैनन् । चलचित्र विकास बोर्ड दोलखाको डाङडुंगे डाँडामा ‘फिल्म सिटी’ शिलान्यास गर्ने तयारीमा छ । कात्तिक १० मै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट शिलान्यास गराउने तयारी बोर्डको थियो । निर्वाचन आचारसंहिता लाग्ने भएपछि शिलान्यास चुनावपछिसम्मको लागि धकेलियो । 

दोलखाभन्दा अघि नै पोखरालाई फिल्म सिटी घोषणा गरी धितालको अस्ताम गाउँमा अन्तर्राष्ट्रियस्तरको फिल्म स्टुडियो बनाउने तयारी थियो । आर्थिक वर्ष ०६८/६९ को बजेट भाषणमै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले पोखरालाई फिल्म सिटी घोषणा गरेका थिए । बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीसहितको टोलीले धिताल गाउँको स्थलगत अध्ययन गरेको थियो । टोलीले फिल्म स्टुडियो निर्माणको लागि उपयुक्त रहेको र २ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको पनि थियो । तर निर्वाचित जनप्रतिनिधि, पोखरेली चलचित्रकर्मी र अन्य सरोकारवालाले सशक्त आवाज उठाउन नसक्दा फिल्म सिटीको मुद्दा त्यसै सेलायो । अन्तत: दोलखामा फिल्म सिटी पुग्यो । 
अभिनेता प्रकाश घिमिरे राजनीतिक पहुँच र अभियानको नेतृत्वकर्ताकै अभावमा पोखराले अवसर गुमाएको स्विकार्छन् । ‘राजनीतिकर्मीले पहल गरेको भए पहिल्यै बनिसक्थ्यो,’ पोखरामै रहेर अभिनय कर्मलाई अगाडि बढाइरहेका उनले भने, ‘नेतृत्व गर्ने कोही भएन ।’ राजनीतिक दलले फिल्म सिटीको महत्त्व नबुझा चुनावी एजेन्डा बनाउन नसकेको उनको आरोप छ । ‘सबै हिसाबले फिल्मकर्मीको लागि पोखरा नै उत्तम ठाउँ हो,’ उनले भने, ‘अघोषित फिल्म सिटी नै भएकोले यहाँका नेताको ध्यान पुग्न जरुरी छ ।’ 
फिल्मकर्मी माओत्से गुरुङ नेता र बौद्धिक भनिएका व्यक्तिमा नै फिल्मप्रति हेर्ने दृष्टिकोणमा कमजोरी रहेको बताउँछन् । ‘फिल्म भनेको रमाइलो मात्रै हो भन्ने भ्रमपूर्ण मानसिकता उनीहरूमा छ,’ उनले भने, ‘उद्योगको रूपमा स्थापना भएर सामाजिक, आर्थिक, सांस्कृतिक पक्ष सबल बनाउन सक्छ भन्ने सोच अझै विकसित भएको छैन ।’ फिल्म छायांकनका लागि उपकरण, छायांकनस्थल, स्थानीय तहमै फिल्म दर्तालगायतमा सहजता ल्याए मोफसलका फिल्मकर्मी लाभान्वित हुने उनी सुनाउँछन् । फिल्म सिटी नबन्नुमा पोखरेली फिल्मकर्मीकै जोड नपुगेकोमा उनी सहमत छन् । तत्कालीन अध्ययन टोलीका सदस्यसमेत रहेका उनले धितालका स्थानीयबाट पनि सहयोग नभएको खुलाए । 
पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने राजनीतिक नेतामा अध्ययन र दूरदर्शीताको कमी भएको बताउँछन् । ‘विदेशका ठुल्ठूला सहरमा फिल्म फेस्टिभललाई सरकारको वार्षिक कार्यक्रममै राखिन्छ,’ उनले भने, ‘यहाँका नेतामा फिल्मीचेत नै छैन ।’
कास्कीका उम्मेदवारको घोषणापत्रमा फिल्म सिटीको एजेन्डा नपर्नु दुर्भाग्यपूर्ण भएको उनले जनाए । केही सरकारी अधिकारीको स्वार्थमा दोलखा पुर्‍याइएको आरोप लगाउँदै उनले ढिलोचाँडो फिल्म सिटी पोखरामै आउनेमा आशावादी रहेको बताए । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई हेर्ने हो भने लामिछानेले देखेको सम्भावनालाई नकार्न सकिँदैन । ०७२ पुस १३ मा उनले एउटा फिल्मको म्युजिक रिलिज इभेन्टमा दोलखामा फिल्म सिटी बन्न नसक्ने अभिव्यक्ति दिएका थिए । सबै मौसमको लागि उक्त स्थान उपयुक्त नभएकोले गोरखाको पालुङटार वा तनहुँको चुँदीरम्घामा स्मार्ट सिटी बनाएर फिल्म स्टुडियो बनाउनुपर्ने उनको सुझाव थियो ।
पोखरामा व्यक्तिगत लगानीमा फिल्म स्टुडियो नबनेको भने होइन । पोखरा सिनेप्लाजा सञ्चालक उत्तम द्वाले बूढीबजारमा ६० लाख रुपैयाँकाको लगानीमा बाराही फिल्म स्टुडियो निर्माण गरेका थिए । इन्डोर सुटिङलाई चाहिने सबै पूर्वाधार स्टुडियोमा थियो । तर फिल्मको अभावमा १८ रोपनीमा फैलिएको सुटिङ स्टुडियो अहिले बन्द छ । २०२३ मा पहिलो पटक ‘माइतीघर’ को सुटिङ भएपछि अधिकांश निर्देशकको आँखा पोखरामा पर्न थाल्यो । ६० को दशकसम्म जुनसुकै फिल्मका केही न केही भाग पोखरामा सुटिङ भएकै हुन्थे । अहिले भने पोखरालाई केन्द्र बनाएर मुस्ताङ, मनाङ, स्याङ्जालगायत क्षेत्रमा फिल्म सुटिङ हुन्छन् । पोखरामा वार्षिक करिब ३० भन्दा बढी फिचर फिल्म, १५ आदिवासी जनजाति फिल्म र सयौंको संख्यामा म्युजिक भिडियो छायांकन हुन्छन् । स्वदेशी मात्र नभई विदेशी फिल्ममेकरको आँखा पनि पोखरामा पर्न थालेको छ । बलिउड फिल्म ‘लभ इन नेपाल’, ‘इश्क इश्क’, हलिउड फिल्म ‘हाइवे टु धम्पुस’, बंगलादेशी फिल्म ‘रिभेन्ज’, थाइ फिल्म ‘टु बी लभ’ लगायत विदेशी फिल्मको सुटिङ पोखरामा भएका छन् ।
उता फिल्म सिटी निर्माणमका लागि भन्दै दोलखाको भीमेश्वर नगरपालिकामा रहेको डाँङडुँगेडाँडामा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जमिन चलचित्र विकास बोर्डले आफ्नो नाममा ल्याइसकेको छ । यद्यपि यातायातको सहजता, भौतिक पूर्वाधार, प्राकृतिक दृश्यका हिसाबले पोखराको धिताल गाउँलाई नै उत्तम भएको कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ र निर्देशक घनश्याम लामिछाने दाबी गर्छन् । पोखराका फेवा, बेगनास, रूपालगायत ताल, सराङकोट, धम्पुस, हेमजाकोट, घान्द्रुक, पुम्दीभुम्दी, शान्तिस्तुप, माटेपानी गुम्बा, काहुँडाँडा, कालिका, हेमजा, नौडाँडा, पञ्चासे, सिक्लेस, ताङतिङ, निर्मलपोखरी, कृस्तीलगायत ठाउँ फिल्म सुटिङका लागि उपयुक्त छन् । पोखराका जुनसुकै स्थानबाट पनि देखिने हिमाल, यहाँको आदिवासी जनजाति संस्कृति, न्धर्व संस्कृतिको विषयदेखि ठुल्ठूला तारेदेखि सामान्यसम्मका होटल भएकाले फिल्मकर्मीको रोजाइमा पर्छ ।

प्रकाशित : मंसिर १३, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?