स्कटल्यान्डको चिसोमा “लिलीबिली”

सुटिङ रिपोर्ट
नवीन पोखरेल

लन्डन — ‘ओ केटाकेटी हो, हिम्मत गर हिम्मत । कम अन गाइज, यति जाडो त सहनुपर्‍यो नि ?’ मिलन चाम्स आफ्नो निर्देशकीय अधिकार प्रयोग गर्दै अलिक चर्किएर बोलिरहेका थिए । कोरियोग्राफर कविराज गहतराज पनि सान्त्वना दिँदै कलाकारलाई सिकाउन अघि बढे ।

कठयांग्रिने चिसोका कारण ‘टेक’ चाहिँ बढेको बढयै थियो, कलाकार लुगलुग काम्दै ‘ओके’ पर्खिरहेका थिए । 

‘लिलीबिली’ को सुटिङ स्पट । लोकेसन स्कटल्यान्डको एडिनबरा टाउन सेन्टर । टाइटल गीतको सुटिङ सेटमा यस्तै हालतमा थिए अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङ । केटाले केटीलाई फकाउने गीतको दृश्य हुँदै गर्दा वेदर फोरकास्टले तापक्रम माइनस देखाइरहेको थियो । पाँच वटा ज्याकेट लगाउँदा पनि कठयांग्रिने जाडोमा प्रदीप र जसिता एकसरो लुगा लगाएर क्यामेरा फेस गर्दै थिए । तातो पानी र कफीको सहाराले पनि जाडो थामिएन ।
‘जसिता त झन्डै कोल्याप्स भएर ९९९ (इमर्जेन्सी नम्बर) डायल गर्नुपरेन,’ मिलन जिस्काउँदै थिए, ‘तर धन्न भगवान्, काम सम्पन्न भयो ।’ 
स्थानीय काउन्सिलको अनुमति र १० मिलियन पाउन्डको पब्लिक ल्याबिलिटी इन्सुरेन्स (पीएलआई) गरेर कलाकार/प्राविधिकले एडिनबराको मध्य सहरमा सुटिङ गर्न छ घण्टाजति खर्चिए । ‘खिचिन्जेल अप्ठेरो भए पनि नयाँ अनुभवले उत्साहित छु,’ प्रदीप भन्दै थिए ।
जसिताले पनि अविस्मरणीय अनुभव भइरहेको सुनाइन् । मिलनका अनुसार यो समूहमा केही दिनपछि नै अब प्रियंका कार्की पछि थपिनेछिन् । प्रियंका र प्रदीपको जोडी ‘लिलीबिली’ बाटै पहिलो पटक देखिन लागेको हो ।
पछिल्लो समय मुलुकबाहिर नेपाली फिल्मको बजार मात्रै हैन, यतैको कथा र लोकेसन टिप्ने प्रचलन पनि बढदै गइरहेको छ । केही सातायता ‘लिलीबिली’ फिल्मको युनिट पनि यतै छ । टाइटिल गीत सुरु गरेको पाँचौं दिन थियो सोमबार । ‘गीतकै लागि मंगलबार फेरि तीन घण्टा ड्राइभ गरेर अर्को लोकेसनमा जानुपर्ने छ,’ सुटिङ प्याकअपअघि निर्देशक चाम्स योजना सुनाउँदै थिए, ‘राति ३ बजे उठेर अर्को लोकेसन जाने योजना छ । भोलि त हिउँमा पो खिच्नुपर्नेछ ।’ यसका लागि बिहान तीन बजे नै उठेर मेकअप गर्नुपर्ने झन्झटलाई सजिलै स्विकारिन् मेकअप आर्टिस्ट बिना राईले । बेलायती र नेपाली ‘क्रु’ चार बजेसम्म सुटिङ स्पट पुर्‍याइसक्ने मिलनको योजनालाई टिमको सपोर्ट नहुने कुरै भएन । 
करिब ९० प्रतिशत सुटिङ बेलायतमा गर्ने योजनाअनुरूप दोस्रो सातासम्म ३० प्रतिशत सुटिङ सकिइसकेको निर्देशक मिलनले बताए । ‘पोखरा, जोमसोम पुगेर सुटिङ गर्न त गार्‍हो छ,’ उनले विदेशमा फिल्म सुटिङको अप्ठेरो पाटो सुनाए, ‘लोकेसन, स्थानीय निकायसँग अनुमति, 
इन्सुरेन्स, प्राविधिक, सामग्रीजस्ता व्यवस्थापनमा धेरै झन्झटहरू आइपर्ने रहेछ ।’ तर, यो 
चुनौतीलाई भने आफूले अवसरका रूपमा लिएको मिलनले बताए । 
नेपाली फिल्म उद्योगमै पहिलोपटक यति धेरै चुनौती खेपेर फिल्म सुटिङ गरिएको उनको दाबी छ । ‘तैपनि उत्साहित छौं । बलिउड जस्तो कुनै दिन २ सय जनाको जम्बो टिम विदेशमा लगेर छायांकन गर्ने सपना त बाँकी नै छ,’ मिलनले भने, ‘नेपाली फिल्म अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने प्रयास थालनी गरेका छौं, यसमा फिल्मकर्मी र शुभचिन्तकको साथ खाँचो छ ।’ उनले नेपाली फिल्म उद्योगका ‘केही मान्छेहरू’ अहिले ‘लिलीबिली’ निर्माणविरुद्ध लागिरहेको गुनासो गर्दै त्यस्तो कदमले हतोत्साही बनाउने बताए । ‘कहिले छायांकनमा समस्या आयो भनिदिने, कहिले प्रियंकाको त आमाको रोल रहेछ भन्दै हल्ला गर्ने साथीहरू देख्दा दु:ख लागेको छ,’ उनले दु:खेसो पोखे । 
निर्देशक मिलनको स्थायी बसोबास बेलायतमै छ । उनले नै निर्देशन गरेको ‘हयाप्पी डेज’ फिल्मको सुटिङ पनि करिब ९० प्रतिशत बेलायतमै गरिएको थियो । बेलायतमा रेड कार्पेट प्रिमियर सो भइसकेको उक्त फिल्म नेपालमा माघ १२ देखि प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । 

प्रकाशित : मंसिर १३, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

एजेन्डामै परेन पोखरामा फिल्मसिटी

दीपक परियार, बिना थापा

लेखनाथ — फिल्म छायांकनका लागि प्राकृतिक स्टुडियो हो पोखरा । तर ‘फिल्म सिटी’ बनाउन भने यहाँका राजनीतिक दल र तिनका उम्मेदवार उदासिन देखिएका छन् ।

कुनै पनि दलले आफ्नो घोषणापत्रमा ‘फिल्म सिटी’ को एजेन्डा समेटेका छैनन् । चलचित्र विकास बोर्ड दोलखाको डाङडुंगे डाँडामा ‘फिल्म सिटी’ शिलान्यास गर्ने तयारीमा छ । कात्तिक १० मै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट शिलान्यास गराउने तयारी बोर्डको थियो । निर्वाचन आचारसंहिता लाग्ने भएपछि शिलान्यास चुनावपछिसम्मको लागि धकेलियो । 

दोलखाभन्दा अघि नै पोखरालाई फिल्म सिटी घोषणा गरी धितालको अस्ताम गाउँमा अन्तर्राष्ट्रियस्तरको फिल्म स्टुडियो बनाउने तयारी थियो । आर्थिक वर्ष ०६८/६९ को बजेट भाषणमै तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले पोखरालाई फिल्म सिटी घोषणा गरेका थिए । बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीसहितको टोलीले धिताल गाउँको स्थलगत अध्ययन गरेको थियो । टोलीले फिल्म स्टुडियो निर्माणको लागि उपयुक्त रहेको र २ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको पनि थियो । तर निर्वाचित जनप्रतिनिधि, पोखरेली चलचित्रकर्मी र अन्य सरोकारवालाले सशक्त आवाज उठाउन नसक्दा फिल्म सिटीको मुद्दा त्यसै सेलायो । अन्तत: दोलखामा फिल्म सिटी पुग्यो । 
अभिनेता प्रकाश घिमिरे राजनीतिक पहुँच र अभियानको नेतृत्वकर्ताकै अभावमा पोखराले अवसर गुमाएको स्विकार्छन् । ‘राजनीतिकर्मीले पहल गरेको भए पहिल्यै बनिसक्थ्यो,’ पोखरामै रहेर अभिनय कर्मलाई अगाडि बढाइरहेका उनले भने, ‘नेतृत्व गर्ने कोही भएन ।’ राजनीतिक दलले फिल्म सिटीको महत्त्व नबुझा चुनावी एजेन्डा बनाउन नसकेको उनको आरोप छ । ‘सबै हिसाबले फिल्मकर्मीको लागि पोखरा नै उत्तम ठाउँ हो,’ उनले भने, ‘अघोषित फिल्म सिटी नै भएकोले यहाँका नेताको ध्यान पुग्न जरुरी छ ।’ 
फिल्मकर्मी माओत्से गुरुङ नेता र बौद्धिक भनिएका व्यक्तिमा नै फिल्मप्रति हेर्ने दृष्टिकोणमा कमजोरी रहेको बताउँछन् । ‘फिल्म भनेको रमाइलो मात्रै हो भन्ने भ्रमपूर्ण मानसिकता उनीहरूमा छ,’ उनले भने, ‘उद्योगको रूपमा स्थापना भएर सामाजिक, आर्थिक, सांस्कृतिक पक्ष सबल बनाउन सक्छ भन्ने सोच अझै विकसित भएको छैन ।’ फिल्म छायांकनका लागि उपकरण, छायांकनस्थल, स्थानीय तहमै फिल्म दर्तालगायतमा सहजता ल्याए मोफसलका फिल्मकर्मी लाभान्वित हुने उनी सुनाउँछन् । फिल्म सिटी नबन्नुमा पोखरेली फिल्मकर्मीकै जोड नपुगेकोमा उनी सहमत छन् । तत्कालीन अध्ययन टोलीका सदस्यसमेत रहेका उनले धितालका स्थानीयबाट पनि सहयोग नभएको खुलाए । 
पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने राजनीतिक नेतामा अध्ययन र दूरदर्शीताको कमी भएको बताउँछन् । ‘विदेशका ठुल्ठूला सहरमा फिल्म फेस्टिभललाई सरकारको वार्षिक कार्यक्रममै राखिन्छ,’ उनले भने, ‘यहाँका नेतामा फिल्मीचेत नै छैन ।’
कास्कीका उम्मेदवारको घोषणापत्रमा फिल्म सिटीको एजेन्डा नपर्नु दुर्भाग्यपूर्ण भएको उनले जनाए । केही सरकारी अधिकारीको स्वार्थमा दोलखा पुर्‍याइएको आरोप लगाउँदै उनले ढिलोचाँडो फिल्म सिटी पोखरामै आउनेमा आशावादी रहेको बताए । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई हेर्ने हो भने लामिछानेले देखेको सम्भावनालाई नकार्न सकिँदैन । ०७२ पुस १३ मा उनले एउटा फिल्मको म्युजिक रिलिज इभेन्टमा दोलखामा फिल्म सिटी बन्न नसक्ने अभिव्यक्ति दिएका थिए । सबै मौसमको लागि उक्त स्थान उपयुक्त नभएकोले गोरखाको पालुङटार वा तनहुँको चुँदीरम्घामा स्मार्ट सिटी बनाएर फिल्म स्टुडियो बनाउनुपर्ने उनको सुझाव थियो ।
पोखरामा व्यक्तिगत लगानीमा फिल्म स्टुडियो नबनेको भने होइन । पोखरा सिनेप्लाजा सञ्चालक उत्तम द्वाले बूढीबजारमा ६० लाख रुपैयाँकाको लगानीमा बाराही फिल्म स्टुडियो निर्माण गरेका थिए । इन्डोर सुटिङलाई चाहिने सबै पूर्वाधार स्टुडियोमा थियो । तर फिल्मको अभावमा १८ रोपनीमा फैलिएको सुटिङ स्टुडियो अहिले बन्द छ । २०२३ मा पहिलो पटक ‘माइतीघर’ को सुटिङ भएपछि अधिकांश निर्देशकको आँखा पोखरामा पर्न थाल्यो । ६० को दशकसम्म जुनसुकै फिल्मका केही न केही भाग पोखरामा सुटिङ भएकै हुन्थे । अहिले भने पोखरालाई केन्द्र बनाएर मुस्ताङ, मनाङ, स्याङ्जालगायत क्षेत्रमा फिल्म सुटिङ हुन्छन् । पोखरामा वार्षिक करिब ३० भन्दा बढी फिचर फिल्म, १५ आदिवासी जनजाति फिल्म र सयौंको संख्यामा म्युजिक भिडियो छायांकन हुन्छन् । स्वदेशी मात्र नभई विदेशी फिल्ममेकरको आँखा पनि पोखरामा पर्न थालेको छ । बलिउड फिल्म ‘लभ इन नेपाल’, ‘इश्क इश्क’, हलिउड फिल्म ‘हाइवे टु धम्पुस’, बंगलादेशी फिल्म ‘रिभेन्ज’, थाइ फिल्म ‘टु बी लभ’ लगायत विदेशी फिल्मको सुटिङ पोखरामा भएका छन् ।
उता फिल्म सिटी निर्माणमका लागि भन्दै दोलखाको भीमेश्वर नगरपालिकामा रहेको डाँङडुँगेडाँडामा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जमिन चलचित्र विकास बोर्डले आफ्नो नाममा ल्याइसकेको छ । यद्यपि यातायातको सहजता, भौतिक पूर्वाधार, प्राकृतिक दृश्यका हिसाबले पोखराको धिताल गाउँलाई नै उत्तम भएको कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ र निर्देशक घनश्याम लामिछाने दाबी गर्छन् । पोखराका फेवा, बेगनास, रूपालगायत ताल, सराङकोट, धम्पुस, हेमजाकोट, घान्द्रुक, पुम्दीभुम्दी, शान्तिस्तुप, माटेपानी गुम्बा, काहुँडाँडा, कालिका, हेमजा, नौडाँडा, पञ्चासे, सिक्लेस, ताङतिङ, निर्मलपोखरी, कृस्तीलगायत ठाउँ फिल्म सुटिङका लागि उपयुक्त छन् । पोखराका जुनसुकै स्थानबाट पनि देखिने हिमाल, यहाँको आदिवासी जनजाति संस्कृति, न्धर्व संस्कृतिको विषयदेखि ठुल्ठूला तारेदेखि सामान्यसम्मका होटल भएकाले फिल्मकर्मीको रोजाइमा पर्छ ।

प्रकाशित : मंसिर १३, २०७४ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्