चार सय वर्ष पुराना दाफा भजन नयाँ कलेवरमा

सुनीता साखकर्मी

ललितपुर — हरेक दिन सबेरै उपत्यकाका नेवार टोल डुल्ने हो भने वृद्धहरू पाटीमा बसेर दाफा भजन गाइरहेका भेटिन्छन् । चार सय वर्षअघि नै कवि राजा सिद्धिनरसिंह मल्लले लेखेका नेपालभाषाका गीतहरूलाई ३२ वटा रागमा खिँ (मादलजस्तै ठूलो आकारको बाजा), टाँ (फलामको झयाली) र पोङ्गा बाजा बजाएर गाउने प्रचलन अझै पनि उस्तै छ ।

श्रुतिपरम्पराबाट दाफा भजन पुस्तान्तरण हुने क्रममा गीतको शब्द र भाव अस्पष्ट भएको, रागहरू अशुद्ध गाउने क्रम बढेपछि ललितपुर संस्कृति सम्वद्र्धन केन्द्रले संस्कृतिविद् छत्रबहादुर कायस्थ, संगीतकार जुगल डंगोललगायत विज्ञसँग मिलेर यसको पुन: खोज अनुसन्धान गरी राग र गीतहरूलाई लिपिबद्ध गर्नुका साथै दाफा भजन रेकर्ड गराइएको छ ।
केन्द्रले शुक्रबार पाटनको मोमदुगल्लीमा ललितपुर महानगरपालिका र विश्व बैंकसँगको सहकार्यमा कार्यक्रम गर्दै अनुसन्धानबाट प्राप्त भएका सिद्धिनरसिंह मल्लका ३६ गीत र रागहरूलाई लिपिबद्ध गरिएको कृतिसमेत लोकार्पण गरेको छ । नसचा: दाफा गुठीले सिद्धिनरसिंहका केही गीतहरू पनि प्रस्तुत गर्‍यो । 
मल्लकालीन राजाहरूले कृष्णलाई समर्पण गरेर दाफा भजनहरू लेखेको संस्कृतिविद् सत्यमोहन जोशीले बताए । ‘एउटै गीतले त्यस बेलाको इतिहास बयान गरेको छ । त्यति बेलाको कला, भवन निर्माण विधा, गीतको शब्द, गाउने शैली सुन्दा त्यस बेला कलाको विकासक्रम कस्तो थियो भन्ने थाहा पाउन सक्छौँ,’ उनले भने, ‘मलाई त कस्तो लाग्छ भने हामी कलामा माथिल्लो ठाउँमा पुगेर बिर्सदै बिर्संदै झरेको जस्तो लाग्छ । अहिलेका हाम्रो कोसिस नयाँ आविष्कार गर्नुभन्दा पनि पहिलेकै ठाउँमा कसरी पुग्ने भन्नेमा छ ।’


नेवार समुदायमा औपचारिक शिक्षाबिना देखेर वा श्रुतिपरम्पराबाट सीप हस्तान्तरण हुँदै आएको छ । पहिलेका पुस्ताले ज्ञान सही तरिकाले हस्तान्तरण नगरेकाले यस्तो भएको हुन सक्ने बताउँदै जोशीले राग गीतहरूको नोटेसन गर्दा अन्तर्राष्ट्रिय रूपमै दाफा परिचित हुन सक्ने सम्भावनातर्फ औंल्याए । प्राचीन कला संस्कृति जोगाउन संस्कृति मन्त्रालय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान बने पनि केही काम नभएको गुनासो गर्दै उनले भने, ‘प्राचीन कला, संस्कृति, संगीतको महत्त्व नै नबुझेका मानिस पदाधिकारी छन् । प्राचीन कला संस्कृतिलाई कसरी जोगाउन सकिन्छ भन्ने पक्षमा दृष्टि नै राख्नै सकेनन् । अनि कहाँबाट हुन्छ विकास ?’ 
गीत र रागहरूलाई लिपिबद्ध र रेकर्ड गरेर बिग्रिएका गीतलाई शुद्ध बनाउने कोसिस गरेको केन्द्रका सचिव वदनलाल न्याद्यौंले बताए । भने, ‘सांस्कृतिक र परम्परागत रूपमा स्थापित मान्यतालाई हामीले भत्काउन मिल्दैन । श्रुतिपरम्पराबाट सिक्दै आउने क्रममा बिग्रिन गयो । हाम्रो शास्त्रीय संगीतको स्वरूपको शुद्ध रूप लिखित रूपमा बुझाउने र बनाउने कोसिस गरेका हौँ ।’ सिकाइ हस्तान्तरण गर्न केन्द्रले नयाँ युवाहरूलाई सिकाउन थालिसकेको उनले सुनाए । यसलाई पाठ्यक्रमको रूपमा विकास गरी नयाँ पुस्तालाई सिकाउने लक्ष्य लिएको न्याद्यौंले सुनाए । 
रागहरूको लिपि र रेकर्डको जिम्मा संगीतकार जुगल डंगोलले सम्हाले । नेवारी संगीतलाई विस्तृत रूपमा अध्ययन गरेर नेपाली संगीत भनेर छुट्टै पहिचान दिलाउन उनले टिस्टुङको दाफा भजनबारे खोजी गरिरहेका बेला उनलाई संस्कृति सम्वद्र्धन केन्द्रले थप कामका लागि प्रस्ताव राख्यो । अचानकको प्रस्तावले खुसी भएका डंगोलले काम पनि सुरु गरिहाले ।
‘दाफा त सिद्धिनरसिंहको पालादेखिको अध्ययन भयो, संगीतको चलन त अझै त्योभन्दा पुरानो हो,’ उनले भने, ‘दाफा गाउने शैलीले नै नेपाली म्युजिकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्न सक्छ । नेपाली सांगीतिक पद्धति वा शास्त्रीय संगीत भनेर चिनारी दिनको लागि दाफालाई लिन सकिन्छ ।’
नेपाली लोकबाजा बज्दैमा त्यो गीत नेपाली हुन्छ भन्ने उनी मान्दैनन् । भने, ‘राग र सात स्वर विश्वमा कहीँ पनि भिन्नता हुन्न । कुनै पनि देशको संगीतको परिचय गाउने शैली र स्वरको संरचनाले दिन्छ, त्यसमा आफ्नोपन हुन्छ ।’
काम गर्दै जाँदा उनले धेरै नयाँ कुरा पनि सिकेको बताए । दाफा गाउँदा बजाइने खिं, टां, पश्चिमा, पोङ्गा बाजाबारे उनले थुप्रै जानकारी पाएको उल्लेख गर्दै उनले कान्तिपुरलाई सुनाए, ‘बाजा बजाउने र गीत गाउनेलाई मात्र नभई बाजा बनाउनेलाई पनि संगीतको ज्ञान हुनुपर्दाे रहेछ । अहिले बजारमा पाइने कतिपय बाजाहरू बेसुरा छन् । दाफा गाउँदा बजाइने टां र खिं बाजामै सा सुर बज्नुपर्छ । मेकानिकल मात्रै हैन रहेछ बाजा बनाउनु भनेको । गर्दै जाँदा यो कुरा थाहा पाएर अनौठो लाग्यो ।’ अहिले सुरमा बज्ने टां बनाउने मान्छेको पनि अभाव हुँदै गएकामा उनले गुनासो पोखे । ‘जे भए पनि नेवारी शास्त्रीय राग र गीतहरूलाई लिपिबद्ध गरेर आधुनिक शैलीमा रूपान्तरण गर्ने कोसिस सुरु भएको छ,’ उनले भने, ‘यो सराहनीय काम हो ।’ 
कार्यक्रममा रामकृष्ण ताम्राकार, श्याम गोविन्द ताम्राकार, रुद्रलाल ताम्राकार, सानुलाल ताम्राकार, बाबुकाजी महर्जन, काजीबाबु महर्जन, ज्ञानलाल अवाली, अनिस ताम्राकार, मलिक ताम्राकार, सजक शिल्पकार, रसिक शाक्य, काजीबाबु व्यञ्जनकार, महेश शर्मा राजोपाध्यायले दाफा भजन प्रस्तुत गरेका थिए ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ ।

कमेडी जानरामा यम थापा निर्देशित उक्त फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, अरुण रेग्मी, सरिता राजोपाध्याय, अनुज पाण्डे, संगीता नापित, अनुज थापालगायतको अभिनय रहेको छ ।
आर्यन फिल्म्सको ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई यम थापाले नै लेखेका हुन् । तराईको पृष्ठभूमिमा कथा वाचन गरिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने चन्दन दत्तको सम्पादन रहेको छ । फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत रहेको छ । पुस २१ मा देशव्यापी प्रदर्शन थाल्न लागेको उक्त फिल्म मैथिली भाषामा समेत डब गरेर सोही दिन रिलिज गरिने बताइएको छ ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्