वेडिङ मेकअपले चम्किँदै बेहुला–बेहुली

मधु शाही

काठमाडौं — ‘उहिले उहिले बिहेको लागि जनैसुपारी भएदेखि नै हुनेवाला बेहुलीको मुहारमा वेदनाको ग्रहण लाग्न थालिसक्थ्यो । बिहेकै दिन जग्गेमा बसेदेखि अन्मिँदासम्म त बलिन्द्रधारा आँसु झर्थे,’ ब्राइडल मेकअप आर्टिस्टले यसो भनिरहँदा परिनीति श्रेष्ठ उदेक मानेर सुनिरहेकी थिइन् । ‘इज इट रियल स्टोरी ?’

वेडिङ मेकअपले चम्किँदै बेहुला–बेहुली

परिनीति उल्टै प्रश्न गर्थिन् । यति बेला उनी स्वयं बेहुली शृंगारमा थिइन्, राम्री देखिने उत्कट इच्छासहित । 

मंसिरलाई बिहेको महिना पनि भनिन्छ । चिसो महिनामा न्यानो सम्बन्धन कँस्न धेरै हतारिन्छन् पनि । समयअनुसार सामाजिक/सांस्कृतिक रूपान्तरणसँगै हिजोआज बेहुलाबेहुलीको परम्परागत सोचाइमा समेत परिवर्तन आइरहेको छ । पहिले ठिकठाकै अनुहार पनि रुँदारुँदा बिगार्ने बेहुली अनि ब्राइडल मेकअप गरेर चिरिच्याट्ट परी लजाउँदै जग्गेमा बस्ने अहिलेका बेहुली । थुप्रै बदलाव आइसकेको छ । त्यसो त अचेल बेहुलाले समेत ‘ग्रुम मेकअप’ गर्न थालिसकेका छन् ।
ब्राइडल मेकअप आर्टमा दखल राख्ने अम्बु रुचाल अविवाहित हुन् । उनले थुप्रै बेहुली सजाइ– सकेकी छन् । उनी आफूलाई ब्युटिसियन भन्न रुचाउँदिनन् । उनी ब्युटिसियन र मेकअप आर्टिस्टमा फरक देख्छिन् । ‘मेकअप आर्टिस्टले अनुहारको सेप हेरेर त्यही सुहाउँदो मेकअप गर्छ,’ झन् बेहुली भनेपछि अरूमा भन्दा बढी सचेत रहनुपर्ने जिकिर गर्दै अम्बु थप्छिन्, ‘जीवनकै महत्त्वपूर्ण क्षणमा विवाह पनि एक हो । युवापुस्ताले यसलाई झनै महत्त्वका साथ लिने गरेका छन् । यस्तो अवसरमा सकेसम्म कुनै पनि कुरा कमी नहोस् भन्ने हाम्रो उद्देश्य हुन्छ ।’ बेहुली सिंगार गर्दा उनी बेहुलीको मनोविज्ञानअनुसार काम सुरु गर्छिन् रे । बेहुलीको अनुहारमा दु:ख र निराशाभाव हटाउनु पहिलो सर्त ठान्छिन् अम्बु । ‘स्वाभाविक नै रूपमा केटीहरू बिहेमा नर्भस देखिन्छन्,’ उनी भन्छिन्, ‘मचाहिँ त्यो भावना हटाएर हयाप्पी देखाउनतिर लाग्छु ।’ मेकअप खुल्न बेहुलीको मनोभावले समेत ठूलो भूमिका खेल्ने अम्बुको बुझाइ छ । बेहुलाले समेत अचेल अनुहारमा भएको दाग धब्बा लुकाई नेचुरल लुक्स दिने गरी ग्रुम मेकअप गर्न थालेको अम्बु सुनाउँछिन् । उनका अनुसार मेकअप भनेको महिलाले मात्रै गर्ने भन्ने धारणाका कारण पनि ग्रुम मेकअप तुलनात्मक रूपमा फस्टाउन सकेको छैन । १० प्रतिशत मात्रै बेहुला मेकअप आर्टमा चाहना राख्ने उनको तथ्यांकले बताउँछ । मेकअप आर्टिस्ट भएकै नाताले अम्बु यस्तो परम्परागत मान्यतालाई चिर्न आवश्यक रहेको टिप्पणी गर्छिन् । 
मेकअप आर्टिस्ट दीपा शाहीसँग पाँच वर्षदेखिको ब्राइडल मेकअप अनुभव छ । उनी बेहुली सजाउने कुरामा खाली अनुहारलाई मात्रै महत्त्व दिन चाहन्नन् । हेयरदेखि पहिरनको स्टाइलसम्म पूरै फलो गर्ने उनको बानी छ । ‘एउटा स्टाइलले मान्छेको पूरै शरीरमा नयाँपन झल्काउँछ । बेहुली त्यो दिन सबैकी केन्द्रबिन्दु भएकी हुन्छिन् । त्यस्तो समयमा उनको शिरदेखि पाउसम्मै सौन्दर्य झल्किनुपर्छ,’ शाहीले भनिन् । 
नन्दा अधिकारी भारतबाट ब्राइडल मेकअप सिकेरै आएको २० वर्ष भइसकेछ । उनीसँग भारतीय बिहे संस्कृति र मेकअप कन्सेप्ट प्रशंस्तै छ । उनको बुझाइमा १५ वर्ष पहिलेसम्म बेहुलीको सजावटमा खासै महत्त्व दिने चलन थिएन । ‘अचेल युटयुबमा ब्राइडल लुक्स हेरेर त्यस्तै बनाइदिन भन्दै आउने क्लाइन्ट दिनदिनै बढिरहेका छन्,’ ब्राइडल आर्टिस्ट अधिकारीले थपिन्, ‘फोटोसुट र म्युजिक भिडियो गर्ने संस्कृतिले गर्दा पनि होला बेहुलाबेहुली सजिन चाहन्छन् ।’ थप्छिन्, ‘गहना बरु कम लगाउँछन्, फेसियल ब्युटीमा महत्त्व दिन्छन् ।’ केटी मात्रै नभई केटा पनि बेहुला हुँदा सौन्र्दयमा ख्याल गर्न थालेको मेकअप आर्टिस्टहरू सुनाउँछन् । नेपालमा ब्राइडल मेकअपका लागि १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने गर्छ । ब्राइडल मेकअपको तीनदेखि चार घण्टासम्म साइनिङ रहने अधिकारीले सुनाइन् । 
इच्छा कार्कीले क्यानडामा मेडिकल अध्ययन गरेर नेपाल फर्किइन् । तर त्यहीं उनले एकवर्षे वेडिङ मेकअप कोर्स पनि गरिन् । क्यानडामै दुई वर्ष यसको अनुभव संगालेकी कार्कीले नेपालमा पनि बेहुला–बेहुली सिंगारिरहेकी छन् । उनको विचारमा बेहुली श्रृंगार कस्तो हुने भन्नेबारे त्यस समाजको परिवेश, संस्कृति र परम्पराले अर्थ राख्छ । क्यानडमा लाइट र हल्का मेकअप गर्ने बेहुली छन् भने नेपाली र खासगरी हिन्दु संस्कृतिमा ब्राइट लुक्समा देखिन रुचाउँछन् । चाहे जुन परम्परा भए पनि बेहुली सिंगार गर्दा स्किन हेल्थसम्बन्धी सचेतना उत्तिकै हुनुपर्ने उनी बताउँछिन् । मेकअप गर्नुभन्दा एक साताअघि फेसियल गर्ने, ब्राइडल मेकअप गर्नुभन्दा पहिले अनुहारमा ‘प्राइमर’ लगाउने र विवाह सकिएपछि बेहुलीले अनुहार सफा गरेरै सुत्नुपर्ने उनको सल्लाह छ । 

प्रकाशित : मंसिर १७, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?