१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उँधौली उल्लास

ललितपुर — किरात समुदायका महिलापुरुषले आइतबार राजधानीका विभिन्न ठाउँमा उँधौली चाड मनाए । यो चाडलाई लिम्बूले चासोक तङ्नाम, राईले साकेला, सुनुवारले फोलस्याँदर र याक्खा चासुवा भनेर मनाउने गर्छन् ।

उँधौली उल्लास

‘वान युथ’ ले पाटन संग्रहालयमा गरेको कार्यक्रममा किराती युवायुवतीहरूले मौलिक पहिरनमा सजिएर साकेला र च्याम्बु्रङ नाच प्रदर्शन गरे । त्यहीँ अर्कातिर किराती खाना र सामानका स्टल थिए ।

आठ वर्षदेखि राजधानीमा रहेका इलामका सेन्दो लिम्बूचाहिँ फेस पेन्टिङ गराउन खोज्दै थिए । उनले कलाकार सुजिता चौधरीसामु पुगेर ‘सिलाम साक्मा’ बनाइदिन आग्रह गरे । चौधरी एकछिन अलमल्ल परिन् । सेन्दोले आफ्नो साथीको कोटमा अड्काइएको ‘सिलाम साक्मा’ देखाएपछि चौधरीले उस्तै लोगो सेन्दोको अनुहारमा उतारिदिइन् ।


‘सिलाम साक्मा लिम्बूहरूको एकताको प्रतीक हो,’ सेन्दोले भने, ‘म लिम्बू हुनुमा गर्व गर्छु । यो मेरो अनुहारमा देख्नेबित्तिकै मलाई सबैले लिम्बू भनेर चिन्छन् भनेर बनाउन लगाएको हुँ । आजको दिन अरू बनाउनुभन्दा पनि यही बनाउन मन लाग्यो ।’ यसले मृत्यु रोक्ने र नराम्रो नजरबाट जोगाउने मान्यता रहेको उनले सुनाए । गाउँतिर घरमा शुभकार्य पूजा गर्दा पनि सिलाम साक्मा बनाइने चलन रहेको पनि उनले सम्झिए ।

प्रलिमा रञ्जितले चाहिँ अनुहारमा य:मरि बनाइन् । भनिन्, ‘आज य:मरि खान पाएको छैन । एकदमै मिस गरिरहेकी छु । त्यसैले गालामा भए पनि बनाउँm भनेर ।’

उठेको रकम सोलुखुम्बुका बालबालिकाको शिक्षामा खर्च गर्न भनेर पनि आयोजित कार्यक्रममा ‘किरात राडु शाखम’ टोलीले साकेला प्रस्तुत गर्‍यो । राई समुदायका महिलापुरुष गोलबद्ध भएर ढोलझ्याम्टा बजाउँदै, चमर र सेउली हल्लाएर साकेला सिली प्रदर्शन गरे । बाजाको तालमा महिलापुरुष डोको, सिब्री, धनुर्वाण, कठुवा (रक्सी हाल्ने काठको भाँडा), खरवा (जाँड हाल्ने काठको भाँडा) बोकेर नाच्दै थिए ।

उता, लिम्बू महिलापुरुषको ‘केलाङ समूह’ ले च्याबु्रङ बजाएर धाननाच देखायो । याक्खाले डोकेनी नाच र सुनुवारले स्याँदरसिल प्रदर्शन गरे । श्रीतारा ब्यान्डले धिमे, मादल, झ्यालीलगायत बाजा बजायो । गायिका सुनीता थेगिम लिम्बूले गीत गाएर मनोरञ्जन दिइन् ।


विधिवत् पूजा भने ललितपुरको सानो हात्तीवनस्थित किरात धार्मिक स्थल (किरात माङहिम) मा गरियो । मुन्धुमी अर्थात् पुजारीहरूले नयाँ अन्न धान, अदुवा, मर्चा, पानी लगायत मुन्धुमविधिअनुसार पूजाआजा गरे । पूजारीले नयाँ अन्न पाकेपछि कुलपितृको पूजा र प्रकृतिलाई धन्यवाद दिएपछि सामूहिक रूपमा ग्रहण गर्ने परम्परा छ ।


इतिहासविद् मन्जुल याक्थुम्बा लिम्बूका अनुसार उक्त वनमा १९०५ सालदेखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा कार्यरत किरात सैनिकले यसरी पूजाआजा गर्न थालेका थिए । त्यसयता त्यो कर्म निरन्तर रहेको छ । राई, लिम्बू, याक्खा र सुनुवार जातिको सामाजिक संस्थाले माग गरेअनुसार सरकारले २०५८ मा मंसिरे पूर्णिमालाई किरात चाड घोषणा गरेको थियो । २०६४ देखि उँभौली वैशाखे पूर्णिमा समेत किरात चाडकै रूपमा घोषणा गरी सार्वजनिक बिदा हुँदै आएको छ ।

प्रकाशित : मंसिर १८, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?