किम्फ कथा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) एक हो । यो हुन थालेकै १७ वर्ष भइसकेछ । पहिले दुई वर्षमा एकपटक हुन्थ्यो भने अचेल वर्षैपिच्छे हुन्छ । किम्फको पुरानो ठेगाना रुसी सांस्कृतिक केन्द्र हो, त्यसपछि सभागृह र पर्यटन बोर्ड हुँदै अहिले कमलपोखरीको कुमारी हल पुगेको छ ।

नेपालका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) एक हो । यो हुन थालेकै १७ वर्ष भइसकेछ । पहिले दुई वर्षमा एकपटक हुन्थ्यो भने अचेल वर्षैपिच्छे हुन्छ । किम्फको पुरानो ठेगाना रुसी सांस्कृतिक केन्द्र हो, त्यसपछि सभागृह र पर्यटन बोर्ड हुँदै अहिले कमलपोखरीको कुमारी हलपुगेको छ ।
एउटा महोत्सवमा औसतमा सय वटा फिल्म देखाउँदाको दरले किम्फमा अहिलेसम्म १४ सय देशी/विदेशी फिल्म प्रदर्शन भएका छन् । किम्फकै माध्यमबाट नेपालका थुप्रै फिल्म मेकरले आफूलाई प्रस्तुत गर्ने मौका पाए । पाइरहेकै छन् । तीमध्ये केही त अहिले वरिष्ठ पनि बनिसकेका छन् । यसरी कसैका निम्ति फोरम बन्न सक्नु नै आफूहरूका लागि सन्तोषको कुरा भएको किम्फका अध्यक्ष वसन्त थापाले बताए ।
उनलाई महोत्सवमा आउने दर्शक र तिनका हँसिला चेहराले पनि ऊर्जा दिने गरेको छ । भन्छन्, ‘आफ्नो सामथ्र्यले भ्याएसम्म गरिरहेका छौं । भेन्यु र फन्डिङको समस्या छ । यसको चिन्ता नहुँदो त भव्य महोत्सव गरेर देखाउँथ्यौं ।’ सन् २००० मा महोत्सव सुरु गर्दादेखि नै आयोजकले आर्थिक समस्या झेल्नुपरेको थियो । यो समस्या कहिल्यै सल्टिएन । ‘एउटा दसैं सकिनासाथ अर्को कसरी मनाउने होला भन्ने पीर परेजस्तै हालत छ हाम्रो’, थापा भन्छन्, ‘हरेक साल शून्यबाट सुरु गर्छौं ।’


महोत्सवमा भाग लिन आउने विदेशी फिल्म मेकरलाई राम्रो सुविधा दिन नसक्दा थापा खिन्न हुन्छन् । विदेशी महोत्सवलाई त्यहाँको सरकार र सम्बन्धित संघसंस्थाले सहयोग गरेको देख्दा उनका आँखा रसाउँछन् । हामीकहाँ कहिले आउला त्यस्तो दिन ? कहिले पाउला कला क्षेत्रले सरकारको साथ ? जेहोस्, किम्फ चलिरहेकै छ । यो टिक्नुमा आफूहरूको स्वयंसेवालाई जस दिन्छन् थापा । किम्फका कर्मचारी नि:शुल्क सेवा दिइरहेका छन्भन्ने थाहा पाउँदा कतिलाई आश्चर्य लाग्ला ।
‘स्वयंसेवाको जादु कहिलेसम्म पो चल्ला ?’ थापा हाँस्छन्, ‘म रहेसम्म त ठीकै छ, मेरै पो ठेगान छैन ।’ उनी किम्फको एउटा स्थायी समूह बनाउन चाहिरहेका छन् । आफू भूतपूर्व अध्यक्ष बन्ने चाह उनमा पलाउन थालेको छ । यतिन्जेलको उपलब्धि के त ? उनलाई लाग्छ, किम्फले नेपाली दर्शकलाई नयाँ स्वादका थुप्रै उत्कृष्ट फिल्म देखाएको छ । स्थानीय फिल्मलाई मलजल गर्न यसले कन्जुस्याइँ गरेन । ‘नयाँ आइडिया सिक्न पाइयोस् भनेर महोत्सव सुरु गरेका थियौँ’, उनी भन्छन्, ‘दर्शकले नयाँ फिल्म हेरुन्, फिल्म मेकरले नयाँ शैली सिकुन् भन्ने चाहना थियो ।’
डिसेम्बर ११ मा पर्ने ‘इन्टरनेसनल माउन्टेन डे’ को छेउछाउमा हुँदै आएको फेस्टिभल यसपालि १४ देखि १८ तारिखमा हुँदैछ । ३७ देशका ७० भन्दा बढी फिल्म छानिएका छन् । प्रतिस्पर्धी विधामा १५, गैर–प्रतिस्पर्धातर्फ ४८, नेपाल पनोरमामा १५ र स्पेसल स्क्रिनिङ विधाअन्तर्गत केही फिल्म देखाइनेछन् । महोत्सवमा भाग लिन तीन दर्जनजति विदेशी फिल्म मेकर नेपाल आउन लागेको अध्यक्ष थापाले जानकारी दिए ।
यसपाीलको किम्फको रौनक के हो भने यसमा ‘लाइभ स्टोरी पिचिङ’ हुँदैन । यसमा चार/पाँच जना निर्णायकसामु निर्देशकलेआफ्नो फिल्मको कन्सेप्ट बयान गर्नुका साथै केही भिडियो क्लिप्स देखाउनुपर्नेछ । उनीहरूमध्ये उत्कृष्ट मानिएको डकुमेन्ट्री, फिल्मलाई पुरस्कृत गरिनेछ ।
‘यो नयाँ कन्सेप्ट होइन’, थापा सुनाउँछन्, ‘विदेशी फेस्टिभलमा गरिने अभ्यास हामीले पहिलो पटक नेपाल अवलम्बन गर्न जाँदैछौं ।’
समारोहको उद्घाटन ‘द लास्ट हनिहन्टर’ बाट गरिनेछ । ‘हेमा हेमा : सिङ मि अ सङ ह्वाइल आई वेट’, ‘चिन्ड्ेरन अफ द स्नो ल्यान्ड’ जस्ता फिल्मको स्पेसल स्क्रिनिङ हुँदैछ । स्विस भूगर्भविद् टोनी हेगनको सम्झनामा उनलेखिचेका पुरानो नेपालका तस्बिर फेस्टिभल हुने कुमारी हलमा सजाइनेछन् ।
‘पन्ध्रौं संस्करण भएकाले केही विशेष गर्ने योजना थियो’, थापा भन्छन्, ‘भनेजस्तो भइरहेको छैन, तैपनि राम्रो हुनेमा विश्वस्त छौं ।’

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वाम्बुले राई भाषाको कविताकृति

कान्तिपुर संवाददाता

ललितपुर — कवि/कोशकार अविनाथ राई वाम्बुले राई भाषाको कविता संग्रहसहित आएका छन् । ‘क्वाल खातिर’ (एउटा विस्मात) राजधानीमा हालै वाम्बुले राई समाज र लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक पत्रिकाद्वारा आयोजित समारोहमा लोकार्पण गरियो ।


ओखलढुंगाको हिलेपानीका राईको यो तेस्रो कृति हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले छापेको पुस्तकमा १९ कविता छन् । सँगै तिनको नेपाली अनुवाद पनि छ । राईकै संकलन तथा सम्पादनमा २०५७ मा ‘वाम्बुले राई शब्दकोश’ र ‘किरात वाम्बुले राई जाति र द्वार्‍वाङा वंशावली’ प्रकाशित छन् ।
कार्यक्रममा वाम्बुले भाषाका युवा कवि अप्सन क्याम्पालाई ‘लिब्जु–भुम्जु पुरस्कार, २०७३’ प्रदान गरियो । ‘लिब्जु–भुम्जु’ पत्रिकामा वर्षभरिमा छापिएका कवितामध्ये उत्कृष्टलाई २ हजार रुपैयाँ सहितको पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार गीतकार/पत्रकार पुष्पहरि क्याम्पा राईले स्थापना गरेका हुन् ।
कार्यक्रममा कवि व्याकुल माइला, समाज अध्यक्ष तथा पत्रकार गजुरधन राई, महासचिव जीवन हाताचो राई, पुष्पहरि, ‘लिब्जु–भुम्जु’ का सम्पादक गणेश राईले वाम्बुले भाषा साहित्यको वर्तमान अवस्थाबारे बोलेका थिए ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT