२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

स्वरसम्राट्को सम्झना

सत्ताइसौं स्मृति दिवस

काठमाडौं — नारायणगोपालको २७ औं स्मृति दिवस अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरिए । संगीतकर्मीहरूले आआफ्नै तौरतरिकाले स्वरसम्राट्लाई स्मरण गरिरहँदा महाराजगन्जस्थित उनकै निवासमा पनि समारोह आयोजना गरियो । त्यहाँ नयाँ र अग्रज संगीतकर्मीको बाक्लो उपस्थिति थियो ।

स्वरसम्राट्को सम्झना

नारायणगोपाल संगीत कोषले साविकझैं यसपालि विभिन्न स्रष्टालाई स्वरसम्राट् स्मृति सम्मान प्रदान गर्‍यो ।

नारायणगोपालले गाएका गीतका रचनाकारहरू यसपालि सम्मानका हकदार बने । तिनमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, चेतन कार्की, कालीप्रसाद रिजाल, किरण खरेल, भैरवनाथ रिमाल ‘कदम’, यादव खरेल, दुर्गालाल श्रेष्ठ, कञ्चन पुडासैनी, मानबहादुर मुखिया, रत्नशमशेर थापा र नगेन्द्र थापा थिए । थापाद्वय चाहिँ कार्यक्रममा उपस्थित थिएनन् । गायक/संगीतकार सीके रसाइलीलाई पनि स्मृति सम्मान प्रदान गरियो । 

सबै स्रष्टालाई कदरपत्र र २५ हजार रुपैयाँ प्रदान गरियो । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको हातबाट पुरस्कार ग्रहण गरे । ‘तपाईंहरू जस्ता अग्रज व्यक्तित्वमाझ बस्दा मलाई अप्ठयारो महसुस भइरहेछ,’ सम्मान अर्पण गरेपछि शाक्यले भने, ‘राष्ट्रले तपाईंहरूको योगदान सम्झिरहनेछ ।’ उनले नारायणगोपालको सपना पूरा गर्न महानगरपालिका तत्पर रहेको समेत सुनाए । 

शाक्यका अनुसार स्वरसम्राट्ले निर्माण गर्न चाहेको ‘गीत गंगा म्युजिक हल’ का लागि महानगरपालिकाले १ करोड रुपैयाँ सहयोग गर्नेछ । कोषले म्युजिक हलसहितको भवनको डिजाइन तयार पारिसकेको छ । ‘भवनको स्वरूप नेपालीपन झल्किने खालको होस्,’ शाक्यले भने, ‘पार्किङको राम्रो व्यवस्था हुनुपर्छ । योबाहेक नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धन र व्यापारीकरणका लागि पनि हामीले कदम चाल्न खोज्दै छौं । सबैको साथको अपेक्षा छ ।’

समारोहमा चेतन कार्कीले सम्मानित गीतकारहरूका तर्फबाट बोल्दै गायकलाई प्रसिद्धि दिलाउने गीतकार सम्मानित हुनु आफूहरूका लागि खुसीको कुरा भएको बताए । ‘राष्ट्रले बिर्सेका स्रष्टालाई कोषले सम्झिएछ,’ उनले भने, ‘मुरीको चलन त गइसक्यो, त्यसैले किलोका किलो धन्यवाद ।’ उनले २०२१ सालमा नारायणगोपाललाई भेट्दाको सम्झना पनि साझा गरे । आफूले उनलाई गण्डकी भेगका लोकभाकामा आधारित गीत गाउन लगाएको दाबी गरे । 

कोषकी महासचिव उषा शेरचनलाई भने गीतकारहरू ओझेल परेको महसुस भएछ । यही कारण आफूहरूले दुई वर्षअघिदेखि नै रचनाकारलाई सम्मान गर्नेबारे सोचेको बताइन् । तर, भूकम्प र नाकाबन्दीका कारण भनेजस्तो गर्न नपाएकाले यसपटक अग्रज गीतकारलाई एकसाथ सम्मान गरेको उनको भनाइ थियो । 

समारोहको दोस्रो चरण रहयो सांगीतिक प्रस्तुतिको । कोषको प्रांगणमा नारायणगोपालका गीत गुन्जिए । शिशिर योगी, निशा देशार, मदन गोपाल, रञ्जित नेपाली, कुशल पौडेल, कृष्ण विश्वकर्मा, सुरज थापा, अजर जंगम, लालकाजी श्रेष्ठ, सरला बीसी, देवेन्द्रमान सिंहलगायतले स्वरसम्राट्का अमर सिर्जनाहरू प्रस्तुत गरे । अधिकांश गायकगायिकाले गीतमा न्याय गरेका थिए भने गाउन रहर गर्ने केहीले बेसुरा गाएर अग्रजको अपमान गरेका थिए । त्यस्तै, केही वाद्यवादकले एउटा गीतमा अर्कै धुन बजाएर आफू प्रस्तुतिका लागि पूर्ण तयारीमा नरहेको चरितार्थ गरिरहेका थिए ।

‘नारायणगोपालको स्मृतिमा कार्यक्रम हुनु त राम्रो हो,’ एक संगीतप्रेमी भन्दै थिए, ‘मञ्चमा उक्लेका संगीतकर्मीहरूबाट पनि त्यही अनुरूपको गम्भीरता पनि हुनुपथ्र्यो ।’ 

 

प्रकाशित : मंसिर २०, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?