बलिउडका चर्चित हल्लाहरु

कान्तिपुर संवाददाता

काठमाडौं — बबलिउडलाई बाहिरबाट जति ग्ल्यामरस र चमकधमक देखिन्छ, यहाँ टिकिरहन भने निकै कठिन मानिन्छ । कति चर्चित कलाकारहरू मरेको, गरिबीको कारणले सडकमा माग्दै गरेको खबरहरू बेलाबेला आइरहन्छन् । बलिउड सेलेब्रिटीबारे यस्ता समाचारहरू हल्ला मात्र हुने गरेको प्रमाणित भएको पनि छ ।

बाहुबली २ मा प्रभास र अनुष्का सेट्टीको जोडीले निकै तारिफ बटुलेको थियो । त्यो सँगै उनीहरूबीचको सम्बन्धबारेको खबर पनि एकाएक फैलियो । 
यसबारे उनीहरूले केही प्रतिक्रिया पनि जनाएनन् । यो मौनताले झन् खबरलाई जोडतोडले फैलिन सघायो । 
यही डिसेम्बरमै प्रभास र अनुष्काले विवाह हुने र त्यसैको लागि प्रभासले तौल घटाएको हल्ला फैलिएपछि भने प्रभासले यसबारे मुख खोले । ‘अनुष्का र म राम्रो साथी मात्र हौँ, हामी नौ वर्षदेखि फयामिली फ्रेन्ड्सको रूपमा छौँ । तर जब यस्तो हल्ला चल्छ, कहिलेकाहीं मलाई पनि हामीबीच केही छ कि भन्नेमा अचम्म लाग्छ,’ प्रभासले भनेका छन्, ‘हामीलाई थाहा छ कि हामीबीच केही छैन । कुनै अभिनेत्रीले धेरै फिल्ममा एउटै अभिनेतासँग जोडी बनेर काम गर्दा यस्तो हल्ला चल्नु स्वाभाविक हो ।’ 
यस वर्ष अनुभवी अभिनेता कादर खान पनि हल्लाबाट अछुतो रहेनन् । ७९ वर्षीय उनी केही महिनादेखि जेठा छोरा सर्फराजसँग क्यानाडामा बस्दै आएका छन् । मिडियामा उनी आफ्नो घुँडाको अप्रेसनका लागि गएको र मृत्यु भएको झूटो खबर फैलिने क्रम बढेपछि कादरले कालो धर्के सट र ट्राउजर लगाएको रिसेन्ट फोटो इन्स्टाग्राममा पोस्ट गरेर सकुशल रहेको बताउनुपर्‍यो । सन् २०१३ मा पनि उनको मृत्युको झूटो खबर फैलिएको थियो । त्यति बेला उनले भनेका थिए, ‘मेरो परिवार अत्यन्तै दु:खी छन् । यसले मेरो पूरै परिवारलाई हल्लाइदिएको छ । जसले यो खबर फैलाएको हो, प्लिज बन्द गर । एक दिन त सबै जानु नै छ । म सबैको आशिर्वाद लिएर जान चाहन्छु । अहिले म बिल्कुल ठीक छु ।’ 
‘दबंग’ गर्ल सोनाक्षी सिन्हा अभिनेता शत्रुघ्न र पुनमकी छोरी हुन् । तर बलिउड प्रवेशसँगै सोनाक्षीको तुलना १९८० को दशककी चर्चित अभिनेत्री रिना रोयसँग मिल्ने र उनैको छोरी रहेको खबर फैलिएको थियो । हालै रिनासँग अनुहार मिलेको प्रसंगमा सोनाक्षीले मुख खोलिन्, ‘म मेरी आमाजस्तो देखिन्छु ।’ पछिल्लो पटकचाहिँ सोनाक्षीको व्यवसायी बन्टी सज्देहसँग जोडिएर थुप्रै खबरहरू चर्चामा आइरहेका छन् । यसबारे भने उनले केही बोलेकी छैन । 
अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुसीले कोरियोग्राफर र फिल्ममेकर रेमो डिसुजाको डान्स सोमा अडिसन दिनेबारे पनि हल्ला चलेको थियो । तर श्रीदेवीले यो गलत समाचार भएको बताएकी थिइन् । 
‘खुसीको कुनै डान्स क्लास वा सो मा भाग लिनेबारे सोच छैन,’ उनले भनेकी छन्, ‘हामी यो हल्ला सम्झेर हामी खुब हाँस्यौं ।’ 
शाहरूख खानको कान्छा छोरा हुन् अब्राहम । तर बलिउडमा अब्राहम शाहरूख खानको छोरा नभई शाहरूखको जेठा छोरा आर्यनको भएको निकृष्ट समाचार आएको थियो । यस हल्लाबारे बोल्दै शाहरूख खानले भनेका थिए, ‘चार वर्षअघि गौरी र मैले तेस्रो सन्तान जन्माउने निर्णय गरेको थियौँ । त्यति बेला आर्यन १५ वर्ष मात्रै थियो । रोमानियामा आर्यनले कारमा एउटी केटीलाई राखेर घुमाएको फेक भिडियोको सहारा लिएर अब्राहमलाई आर्यनको छोरा भनियो । यसले हाम्रो परिवार निकै डिस्टर्व भयो ।’ १९ वर्षमा टेकेका आर्यन अहिले पनि कसैले हेल्लो के छ भनेर सोधे ‘मसँग युरोपियन ड्राइभिङ 
लाइसेन्स छैन’ भन्ने गरेको शाहरूखले सुनाए ।

प्रकाशित : मंसिर २४, २०७४ ०८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘निर्देशक कथामा भिज्नुपर्छ’

कान्तिपुर संवाददाता

काठमाडौं — कसैले ‘फिल्मका लागि कथा खोज्दै छु’ भनेको सुन्दा ‘सेतो सूर्य’ निर्देशक दीपक रौनियारलाई अप्ठयारो महसुस हुन्छ । उनलाई यो कुरा चित्तै बुझदैन । भन्छन्, ‘कथा खोजेर फिल्म बनाउने होइन । भएकै कथामा बनाउने हो ।’ उनी त सकेसम्म आफूले भोगेकै कथा फिल्ममा उतार्नु उत्तम मान्छन् ।

तर, आफ्नै अनुभवहरूमा मात्रै आधारित फिल्म बनाइरहन सम्भव नहोला । त्यसैले, अरूका अनुभवमाथि फिल्म बनाउँदा निर्देशकले कथालाई कसरी ‘पर्सनलाइज्ड’ गर्ने ? अरूका अनुभव आफ्नो बनाउन जरुरी छ ? 
यी प्रश्नका उत्तर थिए, दीपकसँग । उनले भने, ‘आफ्नै अनुभव भयो भने फिल्म अथेन्टिक देखिन्छ । अरूकै अनुभव हुन् भने पनि ठीकै छ । तर, निर्देशकले त्यो विषयसँग समय बिताउने, रिसर्च गर्ने, जानकारी बढाउने गर्नुपर्छ ।’ यही प्रसंगमा अर्का निर्देशक मीनबहादुर भामले थपे, ‘अरूको अनुभव तपाईंलाई फिल्ममा किन उतार्न मन लाग्यो ? केले छोयो ? के कुरा देखाउन मन लाग्यो ? यहीबारे खोज्न थालेपछि अरूको अनुभव आफ्नो बनिहाल्छ ।’ दीपक र मीनलाई शनिबार फिल्मको कथा, विषय, मेकिङ आदिबारे थुप्रै प्रश्न सोधिए । एकादेशमा फिल्म ल्याबको ‘सब्जेक्ट म्याटर्स’ शृंखलामा निर्देशकद्वयले आफ्ना अनुभव र विचार साझा गरेका थिए । भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा भेला भएका युवा फिल्म निर्माता र विद्यार्थीमाझ दीपकले फिल्मको कथा र विषयबीचको फरक सुनाए ।
‘कथा भनेको फिल्मको संरचना हो,’ उनले भने, ‘फिल्मले के एक्स्प्लोर गर्छ ? के देखाउन खोजिएको हो ? भन्ने कुराचाहिँ त्यसको विषय हो ।’ विषयमा प्रस्ट भइयो भने फिल्म प्रस्तुतिको तरिका फुर्दै जाने मीनको अनुभव छ । ती तरिका सांकेतिक, सरल, प्रत्यक्ष, परोक्षजस्ता पनि हुन सक्ने उनले बताए । 
‘आफू जुन चेतना स्तरको हो, दर्शकलाई पनि त्यही लेभलको सोचेर फिल्म बनायो भने सिम्पल कि सिम्बोलिक भन्ने प्रश्नै उठ्दैन,’ उनले भने, ‘निर्देशकले अनुशासित भएर उद्देश्य प्रस्ट हुनेगरी फिल्म बनाए पुग्छ ।’ दर्शक र आफूबीच सम्बन्ध स्थापित गर्न कथाको महत्त्वसम्बन्धीको तीनघण्टे कार्याशालामा पटकथा लेखक अविनाशविक्रम शाहले पनि आफ्नो अनुभव सुनाएका थिए । 
मीनको ‘कालो पोथी’ र दीपकको ‘हाइवे’ का लागि पटकथा लेखेका अविनाश अहिले ‘झ्यालिञ्चा’ फिल्ममा दिमाग खियाइरहेका छन् । ‘हाम्रो समाजमा व्याप्त पितृ सत्तात्मक सोचको असरलाई मैले विषय बनाउन खोजिरहेको छु,’ उनले भने, ‘मेरै दिदीले भोगेको एउटा घटनाले मलाई यो लेख्न बाध्य बनाइरहेको छ ।’
दीपकले फिल्म बनाउनुअघि निर्देशक दुई/चारवटा कुरामा स्पष्ट हुनुपर्ने बताए । उनका अनुसार फिल्म किन/कसका लागि बनाउने ? बनाउनुपर्ने आवश्यकता के ? त्यसको महत्त्व के हुन सक्छ ? प्रस्पेक्टिभ के हो ? र, कस्ता टुल प्रयोग गर्ने ? भन्नेबारे छर्लङ हुनुपर्छ । ‘कसले कसरी सोच्ला भनेर पीर लिनु पर्दैन,’ उनले भने, ‘हामी त व्यवस्थापनविरुद्ध हुन्छौं । मिडियाले समेत देखाउन/भन्न नसकेको कुरा फिल्मले पनि देखाएन भने अरू कसले देखाउने ?’
‘सेतो सूर्य’ मा दीपकले किन फयाक्चुअल एरर प्रस्तुत गरेको भन्ने खालका प्रश्नमा उनले निर्देशकीय स्वतन्त्रता प्रयोग गरेको बताए । मीनले चाहिँ नेपालमा कथानक फिल्मलाई पनि डकुमेन्ट्रीको एप्रोचबाट हेरिदिने चलन रहेकोमा आश्चर्य जनाए । यस गर्दा न्यारेटिभ फिल्मको विषय असन्तुलित देखिने उनको भनाइ थियो । ‘कथानक फिल्ममा पशुपतिनाथ, फेवा ताल र माछापुच्छ्रे एकै ठाउँमा देखिन सक्छ,’ उनले भने, ‘यसलाई फयाक्चुअल एरर मान्नु त भएन ।’

 

प्रकाशित : मंसिर २४, २०७४ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT