१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘निर्देशक कथामा भिज्नुपर्छ’

काठमाडौं — कसैले ‘फिल्मका लागि कथा खोज्दै छु’ भनेको सुन्दा ‘सेतो सूर्य’ निर्देशक दीपक रौनियारलाई अप्ठयारो महसुस हुन्छ । उनलाई यो कुरा चित्तै बुझदैन । भन्छन्, ‘कथा खोजेर फिल्म बनाउने होइन । भएकै कथामा बनाउने हो ।’ उनी त सकेसम्म आफूले भोगेकै कथा फिल्ममा उतार्नु उत्तम मान्छन् ।

‘निर्देशक कथामा भिज्नुपर्छ’

तर, आफ्नै अनुभवहरूमा मात्रै आधारित फिल्म बनाइरहन सम्भव नहोला । त्यसैले, अरूका अनुभवमाथि फिल्म बनाउँदा निर्देशकले कथालाई कसरी ‘पर्सनलाइज्ड’ गर्ने ? अरूका अनुभव आफ्नो बनाउन जरुरी छ ? 
यी प्रश्नका उत्तर थिए, दीपकसँग । उनले भने, ‘आफ्नै अनुभव भयो भने फिल्म अथेन्टिक देखिन्छ । अरूकै अनुभव हुन् भने पनि ठीकै छ । तर, निर्देशकले त्यो विषयसँग समय बिताउने, रिसर्च गर्ने, जानकारी बढाउने गर्नुपर्छ ।’ यही प्रसंगमा अर्का निर्देशक मीनबहादुर भामले थपे, ‘अरूको अनुभव तपाईंलाई फिल्ममा किन उतार्न मन लाग्यो ? केले छोयो ? के कुरा देखाउन मन लाग्यो ? यहीबारे खोज्न थालेपछि अरूको अनुभव आफ्नो बनिहाल्छ ।’ दीपक र मीनलाई शनिबार फिल्मको कथा, विषय, मेकिङ आदिबारे थुप्रै प्रश्न सोधिए । एकादेशमा फिल्म ल्याबको ‘सब्जेक्ट म्याटर्स’ शृंखलामा निर्देशकद्वयले आफ्ना अनुभव र विचार साझा गरेका थिए । भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा भेला भएका युवा फिल्म निर्माता र विद्यार्थीमाझ दीपकले फिल्मको कथा र विषयबीचको फरक सुनाए ।
‘कथा भनेको फिल्मको संरचना हो,’ उनले भने, ‘फिल्मले के एक्स्प्लोर गर्छ ? के देखाउन खोजिएको हो ? भन्ने कुराचाहिँ त्यसको विषय हो ।’ विषयमा प्रस्ट भइयो भने फिल्म प्रस्तुतिको तरिका फुर्दै जाने मीनको अनुभव छ । ती तरिका सांकेतिक, सरल, प्रत्यक्ष, परोक्षजस्ता पनि हुन सक्ने उनले बताए । 
‘आफू जुन चेतना स्तरको हो, दर्शकलाई पनि त्यही लेभलको सोचेर फिल्म बनायो भने सिम्पल कि सिम्बोलिक भन्ने प्रश्नै उठ्दैन,’ उनले भने, ‘निर्देशकले अनुशासित भएर उद्देश्य प्रस्ट हुनेगरी फिल्म बनाए पुग्छ ।’ दर्शक र आफूबीच सम्बन्ध स्थापित गर्न कथाको महत्त्वसम्बन्धीको तीनघण्टे कार्याशालामा पटकथा लेखक अविनाशविक्रम शाहले पनि आफ्नो अनुभव सुनाएका थिए । 
मीनको ‘कालो पोथी’ र दीपकको ‘हाइवे’ का लागि पटकथा लेखेका अविनाश अहिले ‘झ्यालिञ्चा’ फिल्ममा दिमाग खियाइरहेका छन् । ‘हाम्रो समाजमा व्याप्त पितृ सत्तात्मक सोचको असरलाई मैले विषय बनाउन खोजिरहेको छु,’ उनले भने, ‘मेरै दिदीले भोगेको एउटा घटनाले मलाई यो लेख्न बाध्य बनाइरहेको छ ।’
दीपकले फिल्म बनाउनुअघि निर्देशक दुई/चारवटा कुरामा स्पष्ट हुनुपर्ने बताए । उनका अनुसार फिल्म किन/कसका लागि बनाउने ? बनाउनुपर्ने आवश्यकता के ? त्यसको महत्त्व के हुन सक्छ ? प्रस्पेक्टिभ के हो ? र, कस्ता टुल प्रयोग गर्ने ? भन्नेबारे छर्लङ हुनुपर्छ । ‘कसले कसरी सोच्ला भनेर पीर लिनु पर्दैन,’ उनले भने, ‘हामी त व्यवस्थापनविरुद्ध हुन्छौं । मिडियाले समेत देखाउन/भन्न नसकेको कुरा फिल्मले पनि देखाएन भने अरू कसले देखाउने ?’
‘सेतो सूर्य’ मा दीपकले किन फयाक्चुअल एरर प्रस्तुत गरेको भन्ने खालका प्रश्नमा उनले निर्देशकीय स्वतन्त्रता प्रयोग गरेको बताए । मीनले चाहिँ नेपालमा कथानक फिल्मलाई पनि डकुमेन्ट्रीको एप्रोचबाट हेरिदिने चलन रहेकोमा आश्चर्य जनाए । यस गर्दा न्यारेटिभ फिल्मको विषय असन्तुलित देखिने उनको भनाइ थियो । ‘कथानक फिल्ममा पशुपतिनाथ, फेवा ताल र माछापुच्छ्रे एकै ठाउँमा देखिन सक्छ,’ उनले भने, ‘यसलाई फयाक्चुअल एरर मान्नु त भएन ।’

 

प्रकाशित : मंसिर २४, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?