कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘फिल्म खिच्न उपयुक्त थलो हो नेपाल’

सजना बराल

काठमाडौं — सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा वार्षिक ९० वटा जति विदेशी फिल्म छायांकन हुने गरेका छन् । तीमध्ये कपितयले चाहिँ स्थानीय कथा र पात्रलाई पनि टिप्ने गरेका छन् । डकुमेन्ट्रीमा त प्राय: विषयवस्तु स्थानीय नै हुन्छन् । यहीँको ‘इस्यु’ रोज्नेमध्येका हुन्, जारा बलफर र मर्कस स्टेफेनसन ।

‘फिल्म खिच्न उपयुक्त थलो हो नेपाल’


बेलायतका यी दुई फिल्मकर्मीले विश्वका प्रतिष्ठित फिल्म अवार्ड जितिसकेका छन् । यो क्षेत्रमा लागेकै करिब दुई दशक हुन लाग्यो । पाँच वर्षअघि नेपाल घुम्न आउँदा यिनलाई यहाँको एउटा ‘स्टोरी’ ले मन छोएछ । भौगोलिक र आर्थिक रूपमा विकट डोल्पाका विभिन्न स्थानबाट काठमाडौं ल्याइएका केटाकेटीको कथा सुनेपछि उनीहरू ‘चिल्ड्ेरन अफ द स्नो ल्यान्ड’ फिल्म नबनाई स्वदेश फर्किन सकेनन् ।
‘बौद्ध भिक्षुले सञ्चालन गरेको स्नो ल्यान्ड स्कुलमा पढ्न आउनेहरू वर्षौंसम्म आफ्नो परिवारबाट अलग हुँदा रहेछन्,’ जाराले भनिन्, ‘यही कुरा अनौठो लाग्यो । तिनलाई केही सहयोग गर्न सकिन्छ कि भनेर यसबारे डकुमेन्ट्री बनाउन चाहयौं ।’ काठमाडौंबाट डोल्पा जाँदा निकै अप्ठयारो सहनुपरेको जाराले बताइन् । यद्यपि, त्यो अनुभव अहिलेसम्मकै उत्कृष्ट भएको उनको भनाइ छ ।
अमेरिकाका बेन एरेसचाहिँ नेपाल बसेको १९ वर्ष भइसक्यो । उनी यहाँका कथावस्तुसँग परिचित छन् । भोजपुरको कुलुङ समुदायसँग चिनजान गाढिएपछि उनले तिनको जीवनशैली पर्दामा उतार्न चाहे । ‘कुलुङ जातिका मौली धन अन्तिम मह सिकारी हुनेवाला छन्,’ निर्माता बेनले भने, ‘प्रदूषण र अन्य विविध कारणले भीर मौरी मासिँदै छन् र त्योसँगै मह काढ्नेहरू पनि ।’ कोलोराडो निवासी बेन नाइटको निर्देशनमा एरेसले ‘द लास्ट हनी हन्टर’ तयार पारेको एक वर्ष पनि भएको छैन । उनले मौली धन राई र तिनको गाउँको चित्र उर्तान खोजेको बताए । ‘यसअघि पनि भीर मौरीको मह काढ्नेहरूबारे डकुमेन्ट्री बनाइएको थियो,’ बेनले भने, ‘हामी अघिल्लो फिल्मभन्दा फरक तरिकाले प्रस्तुत भएका छौं । सबटाइटल बनाउने बेला अलि गाह्रो भयो ।’
ब्रिटिस–अमेरिकन फिल्म निर्देशक एवं डकुमेन्ट्री सिनेमाटोग्राफर सोफी डिय पेग्रुमले नेपालकी तेस्रोलिंगी महिला मोडलको जिन्दगीलाई ‘पिंक टिफानी’ फिल्ममा समेट्न खोजेकी छन् । मेघना लामाको कथा खिचिरहँदा आफू धेरै कुराबाट प्रभावित भएको सोफीले बताइन् । ‘यहाँका मान्छे गज्जबका हुँदा रहेछन्,’ सोफीले भनिन्, ‘खुलेर कुरा गर्ने, सहयोगी स्वभावका पाएँ ।’
फिल्म निर्माण/निर्देशनको क्रममा थुप्रै देश पुगेकी सोफीले नेपालमा काम गर्न रमाइलो हुने गरेको बताइन् । प्राविधिक रूपमा अप्ठयारो भए पनि मान्छेह मिलनसार भएकाले फिल्म मेकरका रूपमा नेपाल बस्दाको अनुभव इन्क्रेडिबल (असाधारण) रहेको सोफी बताउँछिन् । ‘जुन कोणबाट हेर्दा पनि
केही न केही रोचक कथावस्तु भेटिन्छन् यहाँ,’ उनले भनिन् ।
भूगोल र जनजीवनका कथा
जाराले नेपाल आफ्नो दोस्रो घरजस्तो लाग्न थालेको बताइन् । फिल्मले नै यहाँसम्म डोहोर्‍याएको भन्दै उनले आगामी डकुमेन्ट्रीबारे पनि सोचिसकेको जानकारी दिइन् । ‘तत्काल गर्दिनँ,’ उनले भनिन्, ‘तर, पाँच/छ वर्षपछि अहिलेकै विषयको फलोअप स्टोरी गर्ने योजना छ ।’ नेपालको ग्रामीण जनजीवन, त्यहाँका रीतिरिवाज आदिबारे गजबका फिल्म बनाउन सकिने उनले बताइन् ।
बेनलाई पनि नेपाल फिल्म खिच्न उत्तम ठाउँ हो भन्ने लाग्छ । उनी यहाँको भूगोल, संस्कृति र जनजीवनभित्र अनगिन्ती कथा लुकेको पाउँछन् । ‘सिनेमाको लागि उपयुक्त ठाउँ हो नेपाल,’ नेपाली भाषामा प्रखर बेनले भने, ‘मैले त अब तीनवटा फिल्मका लागि प्रक्रिया थालिसकेको छु ।’ उनी स्थानीय फिल्म मेकिङमा भइरहेको प्रगति देखेर खुसी छन् । नेपाली युवाले साहसी फिल्म बनाएको देख्दा बेन दङ्ग पर्छन् । नेपाली विषयमा तीनवटा डकुमेन्ट्री बनाइभ्याएकी सोफी अरू कथा खोज्दै छिन् । उनलाई यसमा नेपालमै कार्यरत बेलायती फिल्म निर्माता मिरान्डा मोर्टन यपले सघाउने गरेकी छन् । ‘खासमा हामीलाई कथा खोज्दै हिँड्नुपरेको छैन,’ मिरान्डा भन्छिन्, ‘काम गर्दै जाँदा एकपछि अर्को कथा स्वत: भेटिइरहेको छ ।’ नेपालको बनावट र मौसम फिल्मलाई भिजिअल्ली रिच (दृश्यमा सुन्दर) बनाउने खालको भएको सोफी बताउँछिन् ।
काठमाडौं : होम अफ फिल्म
जारा र मर्कसको पहिलो नेपाली फिचर डकुमेन्ट्री ‘चिल्ड्ेरन अफ द स्नो ल्यान्ड’ यसपालिको इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा वल्र्ड प्रिमियर भयो । यसमा भाग लिन आएका उनीहरू किम्फ र काठमाडौंलाई ‘होम अफ फिल्म्स’ भन्दै थिए । ‘पहिलो पटक यहाँ सहभागी भएका हौं,’ जाराले भनिन्, ‘यस्ता फेस्टिभलले इन्डिपेन्डेन्ट फिल्मलाई दर्शकसम्म पुग्ने ढोका खोलिदिन्छन् ।’
नेपाली बालबालिकासम्बन्धीको फिल्म बनाउन पाएकोमा आफू भाग्यमानी भएको जाराले बताइन् । महिला केन्द्रित विषयवस्तुमा खास रुचि राख्ने मिरान्डा र सोफीचाहिँ फिल्म मेकिङमा नेपाली महिलाको उपस्थित बढोस् भन्ने चाहन्छन् । ‘फिल्म फेस्टिभलहरू प्रशस्त हुन थालेका छन्,’ मिरान्डाले भनिन्, ‘महिला फिल्मकर्मीको संख्या बढेको हेर्न मन छ ।’
नेपाली विषयले ‘स्ट्राइक’ गरेकै कारण आफू अपरझट फिल्म मेकर बनेको प्रसंग जोड्दै उनले भनिन्, ‘म त अनायासै यो क्षेत्रमा आएँ । यसमा रुचि हुने नेपाली महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।’ किम्फमा यसपालि विदेशी फिल्म मेकरले बनाएका नेपाली विषयका थुप्रै फिल्म प्रदर्शन भइरहेका छन् । तीमध्ये एन्डी कक्रुमको ‘सेर्पाज स्टिउ’, डेभिड जुरिकको ‘क्रसिङ स्याक्रेड माउन्टेन’, युलिया भेरेन्सोभाको ‘तेरिबेर्का डट लाइभ’ उदाहरण हुन् ।

प्रकाशित : पुस २, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?