कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

“सिर्जनाले आशा जन्माउँछ”

बहसमा युवा लेखन
माधव घिमिरे

विराटनगर — राजनीतिक अस्थिरता, सामाजिक विकृति, अनेक अभाव र समस्याले जेलिएको समयमा विकास, शान्ति, स्थिरता अनि समृद्धिको खोजी तीव्र हुन्छ । तर समृद्धि ल्याउन काम गर्ने संरचनाले ठीकसँग काम गर्न नसक्दा निराशा बढदै जान्छ । यसरी आम रूपमा बढेको निराशाको आयतन घटाउने सानो कुराले पनि निकै महत्त्व राख्छ ।

 “सिर्जनाले आशा जन्माउँछ”

यो केबाट सम्भव छ त ? साहित्य सिर्जनामा लागिपरेका युवाको मत छ– राम्रो साहित्यले मानिसमा सकारात्मकता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । निराशाका बीच आशा जगाउन सक्ने सिर्जना आम पाठकका लागि प्रिय हुन्छ । विकृतिविरुद्ध लेखिएका सिर्जनाले खबरदारी गरिरहेका हुन्छन् । यस्तै धारणा राख्छन्– साहित्य सिर्जनामा लागिपरेका पूर्वेली युवाहरू ।
नारीका पीडा र समाजप्रति खरो टिप्पणी गर्ने विराटनगरकी कवि सीमा आभास साहित्यिक सिर्जनाले समाजको धारणा परिवर्तन गर्नेमा विश्वास गर्छिन् । कतिपय प्रसंगमा आफ्नो सिर्जना र अरू केही सिर्जनाको प्रभावले नारीप्रतिको धारणामा परिवर्तन आइरहेको अनुभव सुनाउँदै उनी साहित्य अनुत्पादक चिज हो भन्ने धारणा गलत भएको बताउँछिन् ।

‘कविताले पैसा कमाउनुपर्छ भन्ने होइन,’ ‘साँझको संघारबाट’ र ‘म, स्त्री अर्थात् आइमाई’ कविता संग्रह अनि ‘टापुका स्वरहरू’ कथा संग्रहकी सर्जक सीमा भन्छिन्, ‘यसले समाजमा सकारात्मक परिवर्तन ल्याएका धेरै उदाहरण छन् । र यो धेरै महत्त्वपूर्ण कुरा हो ।’ 

‘साहित्यको कुनै पनि विधामा सन्देश हुन्छ, बौद्धिकता विकास गर्न सक्ने शक्ति हुन्छ,’ झापा बिर्तामोडमा बसेर साहित्य सिर्जना गर्दै आएकी लीला अनमोलको भनाइ छ, ‘कुनै प्रभाव नपर्ने भए साहित्य सिर्जनाको औचित्यै हुँदैन नि ।’

‘बाँसुरी’ कविता संग्रह र ‘दुख्छ’ गजल संग्रह निकालेकी उनी कसरी प्रभावशाली सिर्जना गर्न सकिन्छ भनेर बेलाबेला पूर्वेली साहित्यकारबीच गम्भीर छलफल हुने गरेको सुनाउँछिन् । ‘साहित्यमा देखिएका नयाँ शैली र पुराना सिर्जनाबारे पनि हामीबीच बहस हुन्छ,’ उनी भन्छिन्, ‘यसले सिर्जनामा लाग्न थप प्रेरित गर्छ ।’

सबैले विकास खोज्ने, समृद्धि खोजीमा सबैको ध्यान जाने तर भौतिक विकास मात्र सबै थोक होइन भन्ने कुरा बिर्सने गरेको मोहन ढुंगानाको बुझाइ छ । झापाको दमकमा बसेर ‘मेचीपुत्र’ नामबाट कविता, गजल, गीतमा कलम चलाउने उनी भन्छन्, ‘साहित्यले मानिसको सोचाइमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भनेर सिर्जनामा लागेको हुँ ।’

‘रुवाइ काव्य’ निकालेका उनको बुझाइमा नयाँ पुस्तालाई साहित्यमा निरन्तरताको समस्या छ । असल अगुवा पाएर साहित्यमा अन्तरंग छलफल हुन सके नयाँ पुस्ता यसमा लागिरहने वातावरण बन्ने उनी बताउँछन् ।

दशकअघि खोटाङबाट पढाइका सिलसिलामा विराटनगर झरेका दीपक साम्चु कविता, कथा र कृति समीक्षामा कलम चलाउँछन् । बढीजसो सामाजिक विषयवस्तु र प्रेमका कुरा आफ्नो सिर्जनामा हुने उनी बताउँछन् । ‘लेख्छु भनेर लेखिने होइन,’ विषयवस्तुबाट प्रभावित भएर लेख्न मन लाग्ने बताउने उनी थप्छन्, ‘समय लगाएर लेखिसकेपछि भने आफ्नो सिर्जनाबाट बेग्लै आनन्द प्राप्त हुन्छ ।’ सिर्जनाले समय/परिस्थितिलाई पनि संकेत गर्ने बुझेका साम्चु त्यसमा कला, भाव र बिम्व सुन्दर हुनुपर्ने बताउँछन् ।

विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड र आसपासमा सिर्जनारत युवाहरू बेलाबेला भेला भएर साहित्यका विभिन्न विधामा अन्तरक्रिया पनि गर्छन् । आ–आफ्ना धारणा सुनाउँछन् अनि अनुभव बाँड्छन् । यसरी भेला हुनेहरूमा धरानका सुदिप पाख्रिन पनि पर्छन् । ‘आदिम मौनता’, ‘दगुरिहिँड्ने चौबाटो’ जस्ता कृति निकालेका उनी आफूले देखे/भोगेका कुराहरू सिर्जनामा उतार्ने गरेको बताउँछन् ।

पूर्वका विभिन्न स्थानमा आयोजना हुने साहित्यिक कार्यक्रममा युवाको उल्लेख्य जमघट हुन्छ । विराटनगरका धीरज राई पनि सकेसम्म पुगेकै हुन्छन् । कविता विधामा रमाउने उनलाई लाग्छ– साहित्य कसरी लेखिन्छ भन्ने कुराले त्यसको असर अनुभव गर्न सकिन्छ । समाजकै ऐनाजस्तो हुने भएकाले साहित्यिक सिर्जनाले समाजलाई सकारात्मक दिशामा जान सन्देश दिने उनको अनुभव छ । ‘सिर्जनाले कि मन कि मस्तिष्क छुनैपर्छ,’ उनी भन्छन्, ‘दुवैलाई छुन सक्ने सिर्जना त झन् शक्तिशाली हुन्छ ।’ 

प्रकाशित : पुस ५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?