कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतीय लोकतन्त्रको किस्सा

फिल्म
एउटा काल्पनिक पात्रमाथि बनेको फिल्म ‘पद्मावती’ अहिले संसारको सबभन्दा ठूलो लोकतन्त्रको असली चरित्र जाँच्ने कसी बन्न पुगेको छ ।
यज्ञश

काठमाडौँ — हलिउडको विश्वव्यापी प्रभाव तथा सान सौकतप्रति बलिउडको लघुताभासको कथा निकै पुरानो हो । धेरै वर्षअगाडिदेखि भारतीय कलाकारहरूले हलिउडमा जम्ने प्रयास गर्दै आएका छन् । लामो समयको यो प्रयासमा गत वर्ष केही सफलता हात लागेको थियो । बलिउडका दुई हिरोइन प्रियंका चोपडा र दीपिका पादुकोणले एकसाथ हलिउडका ठूला फिल्ममा गतिलो भूमिका पाए ।

भारतीय लोकतन्त्रको किस्सा


‘क्वान्टिको’ सिरियलका लागि प्रियंकाले हलिउडका केही चर्चित अवार्ड पनि जितिन् । उता दीपिकाले भने भिन डिजलजस्ता हलिउड सुपरस्टारको ट्रिपल एक्स सिरिजको नयाँ भाग ‘रिर्टन अफ जेन्डर केज’ मा अभिनय गरेर सबैको ध्यान तानिन् । जुन काममा पुरुष अभिनेताहरू असफल भइरहेका थिए, त्यसमा सफलता पाएर यी दुई हिरोइनले बलिउडको एउटा ठूलो हीनताबोधलाई कम गरिदिएका थिए ।

वर्षहरू सबै उस्तै हुँदैनन् । हिमालमा न त हरेक दिन उत्तिकै हिउँ जम्छ, न पग्लिन्छ । चराचुरुंगीका लागि त हरेक दिन उस्तै हुँदैन भने मानिसका लागि उस्तै हुने कुरै भएन ।

अघिल्लो वर्ष ग्लोबल आइकन बनेर भारतीय फिल्म उद्योगको नाक उँचो बनाइदिएकी दीपिका पादुकोणका लागि २०१७ उस्तै रहेन । उनको नाकको रक्षा भारत सरकारले नै गरिदिनुपर्ने स्थिति आयो । त्यो पनि आफ्नै देशका शिक्षित, सुसंस्कृत राजनीतिक दल र संगठनका कार्यकर्ताहरूबाट । सरकारकै नेतृत्व गरिरहेको दलका कार्यकर्ताबाट दीपिकालाई सबभन्दा बढी खतरा भयो । नयाँ विश्वकै नेतृत्व गर्ने दाबी गर्दै विश्वभर वायुपंखीसरी उडिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दलका एक नेताले दीपिका पादुकोणको नाक काटेर ल्याउनेलाई ५ करोडको इनाम दिने घोषणा गरे । उनलाई उछिन्दै हरियाणाका एक सांसदले दीपिका र फिल्म निर्देशक सञ्जय लीला भन्सालीको टाउको काटेर ल्याउनेलाई १० करोड इनाम दिने घोषणा गरे ।

यसको कारण उनले अभिनय गरेको र प्रदर्शन मिति अनिश्चितकालका लागि सारिएको फिल्म ‘पद्मावती’ बनेको छ । तर, यो किस्सा न त एउटा फिल्मको हो, न त इतिहासको कलात्मक प्रस्तुतिमा भएको खोटको हो । यो किस्सा हो भारतीय लोकतन्त्रको हरिबिजोगको । किस्सा हो, भारतीय राजनीतिक दल र पुरुषप्रधान सोचको ।

***


किस्सा सुरु हुन्छ, १५४० मा रचिएको एक सुफी कविको कविताबाट । मलिक मुहमद जयासी नामक कविले अवधि भाषामा रचना गरेको काव्य ‘पद्मावत’ एउटा रानीको कथा हो । राजपुत रानी पद्मावतीको कथा । यो कथाअनुसार राजस्थानको मेवाड राज्यका राजा रतन सेनकी पत्नी रानी पद्मावती अति सुन्दरी थिइन् । आफ्नो राज्यमा आएको एउटा किचलोबाट बिच्किएर मेवाडको राजधानी चित्तौडगढबाट भागेको एक तान्त्रिक दिल्लीका सुल्तान अलाउद्दिन खिलजीलाई भेट्न पुग्छन् । तान्त्रिकबाट रानी पद्मावतीको सुन्दरताको बखान सनुेपछि अफगान–तुर्क सुल्तान खिलजी रानीका लागि व्यग्र बन्न थाल्छन् । र, रानीलाई प्राप्त गर्ने अभिलासामा मेवाडमाथि आक्रमण गर्न तयार हुन्छन् ।

चित्तौडगढमा लडाइँ हुन्छ र खिलजीले रतन सेनलाई बन्दी बनाउँछन् । उनले राजालाई छोड्नका लागि रानी पद्मावतीलाई हेर्न पाऊँ भन्ने सर्त राख्छन् । यसपछि कथामा दुइटा भनाइ छन् । एउटा भनाइअनुसार रानी खिलजीको शिविरमा आउँछिन् र पानीमा उनले आफ्नो मुहार खिलजीलाई देखाउँछिन् । अर्को भनाइअनुसार रानीलाई शिविरमा ल्याउने बहानामा १७ सय पालकीमा राजपुत सेना खिलजीको शिविरमा आउँछन् र राजालाई छुटाउँछन् । तर, खिलजी यत्तिकैमा फर्किंदैनन् । त्यसपछि झन् ठूलो युद्ध हुन्छ । खिलजी चित्तौढ किलामा प्रवेश गर्ने पक्का भएपछि पद्मावतीले राज्यका सबै १७ हजार महिलाका साथ आत्मदहन (जौहर) गर्छिन् ।

जयासीले बुनेको यो कथालाई नै बलिउडका नामी निर्देशक सञ्जयलीला भन्सालीले ‘पद्मावती’ का नाममा फिल्म बनाए, जसमा पद्मावतीको मुख्य भूमिकामा अभिनय गरिन् दीपिका पादुकोणले । फिल्ममा राजा रतन सेनको भूमिकामा साहिद कपुर र अलाउद्दिन खिलिजीको भूमिकामा रणवीर सिंहले अभिनय गरेका छन् ।

जयासीको काव्य कथा यस्तो कथा भए पनि अधिकांश भारतीय इतिहासकारहरू पद्मावतीको अस्तित्वलाई स्वीकार गर्दैनन् । उनीहरूका अनुसार पद्मावती नामक कुनै पात्र त्यसबेला थिइनन्, यो फगत कविको कल्पना हो । सन् १३०३ मा दिल्लीका सुल्तान अलाउद्दिन खिलजीले चित्तौडगढमाथि आक्रमण गरेको इतिहास भए पनि त्यसबेलाका कुनै पनि दस्तावेजमा रानी पद्मावतीको उल्लेख नपाइने इतिहासकारहरू बताउँछन् । आक्रमणको करिब डेढ सय वर्षपछि लेखिएको काव्यमा पहिलोपल्ट पद्मावतीको उल्लेख भेटिने उनीहरूको तर्क छ ।

तर, राजनीतिले यस्ता तर्कलाई मान्दैन । इतिहासको एउटा किस्सालाई आफ्नो जातीय अभिमान र अस्मितासँग जोडेर राजनीति हुन थालेपछि कविका हरफबाट पद्मावती अहिले सडकमा आइपुगेकी छन् । र, हातमा नांगो तरबार लिएका योद्धाहरू यी कल्पनाकी पात्रको अस्तित्व रक्षा गर्नका लागि सडकमा नारा लगाइरहेका छन् । उनीहरूको तरबार पर्दाकी पद्मावती दीपिकातिर सोझिनुमा भारतमा पछिल्लो सयम बढ्दै गएको धर्म र जातीयतामा आधारित राजनीतिको सबभन्दा ठूलो भूमिका छ ।

***


ऐतिहासिक दस्तावेजमा नभए पनि पद्मावती राजपुत समुदायको कथा कहानीमा एउटी वीरंगनाकी रूपमा उपस्थित छिन् । ‘रानी माँ’ र ‘राजमाता’ को नामले उनलाई सम्बोधन गरिन्छ । यिनै रानीमाका भक्त भएको दाबी गर्दै करणी सेनालगायतका राजपुत संगठनहरूले सञ्जय लीला भन्सालीको फिल्मको घोषणादेखि नै विरोध गरेका थिए । उनीहरूको माग थियो, यो ऐतिहासिक विषयको फिल्म भएकाले फिल्ममा के कस्तो दृश्य देखाइएको छ, हामीलाई बताउनुपर्छ । राजस्थानमा फिल्मको सुटिङ चलिरहेका बेला करणी सेनाको एउटा समूहले सञ्जयलीला भन्सालीमाथि आक्रमणसमेत गरेको थियो ।

भन्सालीको यसअघिको फिल्म ‘बाजिराव मस्तानी’ बारे पनि विवाद भएको थियो । मराठा साम्राज्यका योद्धा बाजिरावबारे फिल्ममा गलत चित्रण गरिएको भन्दै केही स्थानमा फिल्म चल्न पनि दिइएको थिएन । त्यो फिल्ममा पनि रणवीर सिंह बाजिराव र दीपिका मस्तानीको भूमिकामा थिए । विरोध भए पनि यो फिल्मको रिलिज रोकिएको थिएन । यसले समीक्षात्मक र व्यापारिक दुवैतिर राम्रो सफलता पाएको थियो ।

यसपालि भने त्यस्तो भएन । रिलिजको मिति तोकिएको ठूलो बजेटको यो फिल्म प्रदर्शन हुनै पाएन । डिसेम्बर १ मा प्रदर्शन गर्ने तय भएकोमा विरोधका कारण यसका निर्माताले प्रदर्शन मिति सारे । नयाँ मिति अझै तोकिएको छैन । न फिल्मको सेन्सर भएको छ न त कसैले हेरेको छ, यस्तो फिल्ममा के देखाइएको छ भन्नेबारेमा यत्रो ठूलो बबन्डर आखिर भयो किन ?

यसका दुई कारण छन् । पहिलो हो एउटा हल्ला । फिल्ममा अलाउद्दिन खिलजीले आफ्नो सपना/कल्पनामा रानी पद्मावतीसँग प्रेमालाप गरेको दृश्य राखिएको छ भन्ने हल्ला । यो हल्लालाई आधार मानेर भन्सालीले इतिहास बिगारेको, राजपुतको सम्मानमा ठेस पुर्‍याएको र पद्मावतीलाई गतल तरिकाले प्रस्तुत गरेको आरोप लगाइयो । यसकै आधारमा राजपुतको सम्मानको रक्षा गर्न भन्दै सयौं मानिस सडकमा उत्रिए । राजस्थानमा फिल्मको ट्ेरलर देखाइएको आरोपमा फिल्म हलमा तोडफोड गरियो । भन्सालीले एक युट्युब भिडियो नै जारी गरी आफ्नो फिल्ममा त्यस्तो कुनै दृश्य नभएको स्पष्टीकरण दिए । तर, भीड शान्त भएन ।

दोस्रो कारण थियो— चुनाव । डिसेम्बर १ मा ‘पद्मावती’ को रिलिज तय गरिएको थियो । यसकै एक सातापछि गुजरात र हिमाञ्चल प्रदेशमा राज्यसभाको निर्वाचन तोकिएको थियो । यी दुवै चुनाव भारतको सत्तारूढ दल बीजेपीका लागि महत्त्वपूर्ण थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा चुनावअघि बीजेपीको स्थिति खस्किएको मानिएको थियो । कांग्रेसको ठूलो मिहिनेत र पटेलहरूको आरक्षणको आन्दोलनबाट लोकप्रिय बनेका हार्दिक पटेलले कांग्रेसलाई समर्थन गरेपछि कांग्रेसको अवस्था सुदृढ भएका समाचार आइरहेका थिए । यस्तोमा बीजेपीलाई आफ्नो परम्परागत हिन्दु भोट ब्यांक जोगाउन नयाँ नयाँ एजेन्डा आवश्यक थियो ।

मोदीको विकासका नाराका पछाडि बीजेपीको खास एजेन्डा भने हिन्दु राज्यको रहने गरेको छ । विश्व हिन्दु परिषद् र राष्ट्रिय स्वयंसेवक संघजस्ता संगठनहरूको समर्थनमा हिन्दुत्वको राजनीतिलाई बढावा दिइरहेको बीजेपीका कार्यकर्ताले कुनै बेला उत्तरप्रदेशको अयोध्यामा राममन्दिर बनाउने भनेर बाबरी मस्जिद भत्काएका थिए । धर्म र इतिहासको नाममा घमण्ड गर्ने, पुरानो समयको अतिरञ्जनामा वर्तमानका समस्यालाई छोप्ने राजनीतिज्ञहरूको एउटा शैली रहँदै आएको छ । त्यसैलाई पछ्याउँदै यसपालि राजपुत इतिहासको अभिमानको कथालाई व्यापक बनाइएको विश्लेषकहरूको आरोप छ । आन्दोलनहरू सुरु भएपछि सेन्सर बोर्डमै नपुगेको फिल्मलाई मध्यप्रदेशका मुख्यमन्त्रीले आफ्नो राज्यमा प्रतिबन्ध घोषणा गरेका थिए । भनिरहनु नपर्ला उनी बीजेपीका मुख्यमन्त्री हुन् ।

कतै प्रतिबन्ध त कतै इनाम घोषणा हुन थालेपछि ‘पद्मावती’ को निर्माण टोलीले सेन्सर बोर्डलाई आफ्नो फिल्मलाई अलि अगाडि हेरिदिन आग्रह गरेको थियो । तर, सत्ताधारी दलको प्रत्यक्ष नियन्त्रणमा रहने (सरकारले नियुक्त गर्ने) सेन्सर पदाधिकारीले त्यो अपिललाई स्वीकार गरेनन् । गत महिना मात्रै भारतीय सेन्सर बोर्डको अध्यक्षमा बीजेपी सरकारले गीतकार एवं पटकथा लेखक प्रसुन जोशीलाई नियुक्त गरेको थियो । भारतमा प्रदर्शन अनिश्चित भए पनि बाहिर यसलाई देखाउने प्रयास गरिएको थियो । त्यो पनि असफल भएको छ । भारतीय सहरहरूमा हुने फिल्म फेस्टिभलमा समेत यसलाई देखाउन नदिइने विभिन्न संगठनले बताएका छन् । जबकि, फिल्म फेस्टिभलहरूमा देखाउनका लागि सेन्सर गर्नुपर्ने मानिँदैन ।

फिल्ममा हुँदै नभएको दृश्यका नाममा यत्रो बबन्डर गरेर फिल्म रोकिनुलाई चुनावी प्रोपोगन्डा होइन भन्न सकिँदैन । यसमा अतिरिक्त तर्क के पनि छ भने जिम्मेवार दलका नेता र सांसदहरूले चर्चित कलाकारको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिन्छु भन्दा सरकार चुप बस्नु । न राज्य सरकार न केन्द्र सरकार कुनै पनि सरकारले यस्ता घोषणा गर्नेलाई कुनै कारबाही नगरेबाट यो राजनीतिक प्रोपोगन्डा थियो भन्न सकिन्छ । अन्यथा, यस्ता घोषणा कानुनी अपराध हुन् ।

गुजरात र हिमाञ्चल दुवै राज्यको चुनाव बीजेपीले जितिसकेका कारण अब फिल्मको ठूलो विरोध नहुने एकथरी विश्लेषकले बताएका छन् ।

***


सेन्सर बोर्डमा नपुगेको फिल्म रोक्न सत्ता चलाउने राजनीतिक दलका कार्यकर्ताहरू नै अग्रसर भएपछि भारतीय लोकतन्त्र र व्यवस्थामाथि धेरै कोणबाट अहिले प्रश्न भइरहेका छन् । फिल्ममा देखाइएका कुराहरूको विश्लेषण गर्न र तिनलाई काटछाँट गर्नुपर्ने गर्न र दर्शकअनुसार वर्गीकरण गर्नका लागि भनेर सरकारले सेन्सर बोर्ड बनाउँछ । कानुनी व्यवस्थामा त्यस्तो बोर्डको निर्णयलाई मानिन्छ । तर, भीडतन्त्रमा यस्ता कुनै निकाय वा संस्थाले होइन, सडकबाटै ठीक बेठीकको फैसला गरिन्छ । ‘पद्मावती’ माथिको रोक लोकतन्त्रमाथि त्यही भीडतन्त्रको जित हो । अन्यथा, कुनै लेखक/कलाकारको अभिव्यक्तिको स्वतन्त्रतामाथि सोझै आघात पुग्नेगरी आक्रमण गरिँदा सरकारले कलाको संरक्षण गर्न सक्थ्यो ।

हुन त, भारतमा यस्तो घटना यो पहिलो होइन । प्रसिद्ध चित्रकार एमफफ हुसैनको ‘निर्वासन’, दीपा मेहताका फिल्म ‘फायर’ र ‘वाटर’ विरुद्धका प्रदर्शन हुन् वा राहुल ढालकियाको फिल्म ‘परजानिया’ माथि गुजरात सरकारले लगाएका प्रतिबन्ध यी सबैलाई राजनीति प्रेरित घटना मानिन्छ । कुनै खास धर्म, जाति, क्षेत्र वा भाषासँग जोडिएका कुनै पनि पात्र वा ‘मिथ’ को कलात्मक प्रस्तुतिलाई रोक्ने हो भने कुनै पनि कुराको पुनव्याख्या वा फरक व्याख्या हुन सक्दैन । न इतिहासको समीक्षा हुन सक्छ न कलात्मक अभिव्यक्ति ।

लेखक कलाकारहरूप्रति राज्यको व्यवहार असहिष्णु भएको र उनीहरूको हत्या भइरहेको भन्दै थुप्रै कवि कलाकार फिल्ममेकरले विरोध जनाइरहेका बेला ‘पद्मावती’ प्रकरणको पनि निकै विरोध भएको छ । सबाना आजमी, जावेद अख्तरलगायतका कलाकारहरू यसविरुद्ध मुखर भएका छन् । एउटा काल्पनिक पात्रमाथि बनेको फिल्म अहिले संसारको सबभन्दा ठूलो लोकतन्त्रको असली चरित्र जाच्ने कसी बन्न पुगेको छ । प्रोपोगन्डाका रूपमा खडा गरिएको यो धरापमा अहिले सञ्जयलीला भन्सालीको करोडौंको लगानी मात्र होइन, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता पनि फँसेको छ ।

प्रकाशित : पुस ८, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?