रंगमञ्चमा ‘हरियो ढुंगा’

काठमाडौँ — यता जा भन्छ, उता जा भन्छ खोलाको पातैले
न यता जानु न उता जानु
भुटाङ्गे जातैले...
उपेन्द्र सुब्बाको कथा ‘हरियो ढुंगा’ को मूल मर्म यिनै पंक्तिमा समेटिएको छ । भुटानी शरणार्थीका समस्या किनारा लागेका छैनन् । सन् १९९० मा भारत हुँदै नेपाल आएका उनीहरू परिचयको खोजीमा छन् ।

रंगमञ्चमा ‘हरियो ढुंगा’

यता जा भन्छ, उता जा भन्छ खोलाको पातैले

न यता जानु न उता जानु

भुटाङ्गे जातैले...

उपेन्द्र सुब्बाको कथा ‘हरियो ढुंगा’ को मूल मर्म यिनै पंक्तिमा समेटिएको छ । भुटानी शरणार्थीका समस्या किनारा लागेका छैनन् । सन् १९९० मा भारत हुँदै नेपाल आएका उनीहरू परिचयको खोजीमा छन् । शरणार्थी शिविरमा दिन गुजारिरहेकाहरू देश फर्किने झिनो आशामा छन् । शिविरमै जन्मिएका छोराछोरी पुस्ता न भुटान चिन्छन् न आफूलाई ‘नेपाली हुँ’ भन्न सक्छन् ।

उपेन्द्रको ‘लाटो पहाड’ कथा संग्रहमा संगृहीत छ, ‘हरियो ढुंगा’ । यो कथालाई अहिले नाटय रूप दिइएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक सुनील पोखरेलले निर्देशन गरेका हुन् । यसमा उनले मन लगाएर काम गरेको देखिन्छ किनभने नाटक सुन्दर र सशक्त लाग्छ । उनले लेखकका पात्र, परिवेश र भावनालाई सजीव तुल्याएका छन् ।

नाटकमा झापाको बेलडाँगीमा राखिएको भुटानी शरणार्थी क्याम्पको परिवेश झल्किन्छ । शिविरभित्र भेटिने अनौठा पात्रहरूको स्वभावबीच कथाको गुदी पस्किन खोज्नु उपेन्द्रको लेखन शैली हो । उनको लेखनमा मनोरञ्जनका आग्र्यानिक मसला भेटिन्छन् । पात्रहरूको ठेट बोलीचाली, मौलिक व्यवहार र रोचक आनीबानीलाई उपेन्द्र खासै संशोधन गर्दैनन् । सायद यही बानीले उनको कथा जीवन्त र स्वादिलो बनेको हो । यता निर्देशक सुनीलको स्वभाव पनि उस्तै छ । उपेन्द्रका पात्रलाई दुरुस्त उतार्न उनी अब्बल देखिएका छन् ।

फिल्म ‘देश खोज्दै जाँदा’ को सुटिङका बेला बेलडाँगीमै उपेन्द्रले शरणार्थीको कथा सुनेका थिए । क्याम्पमा एक जना बूढा मान्छे (निचुले कान्छा) को कथा सुनेपछि उपेन्द्रलाई कहिले लेखौंजस्तो भएको थियो । उनले हतारमै शरणार्थीको गम्भीर कथा लेखिभ्याए । सरल शैलीको उक्त कथामा शरणार्थी हुनुको पीडा त छ नै, उनीहरूकै नयाँ पुस्ताले कुन राज्यको पहिचान बोक्ने भन्ने प्रश्न पनि सशक्त पाराले उठाइएको छ ।

झन्डै डेढ घण्टा लामो नाटकमा सबै पात्र मुख्य छन् । फिल्मी चर्चा कमाएका कलाकार राखेर नाटक चलाउने प्रचलन छ अहिले । ‘हरियो ढुंगा’ मा पनि चर्चित कलाकार विपिन कार्कीले अभिनय गरेका छन् । तर, उनको कारण अरू पात्रलाई ओझेल पारिएको छैन । त्यसमाथि विपिन मौन (संवादविहीन) पात्रको भूमिकामा छन् । विपिनभित्रको कलाकारिता प्रस्ट देखाइदिने सन्दर्भमा निर्देशक सुनीलको

काम तारिफयोग्य छ ।

त्यसले अरू पात्रको कलामा समेत न्याय गरेको महसुस हुन्छ ।

शरणार्थी शिविरभित्रको परिवेश पात्रहरूको मनोविज्ञानबाटै खोतल्न सक्नु नाटकको बलियो पक्ष हो । शरणार्थीलाई सुविधा दिने हेतुले तेस्रो मुलुक जान पाउने अवसर दिइएको छ । बगरमा गिट्टी कुटेर जीविका चलाइरहेका उनीहरूमध्ये सबै अर्को देश जान चाहिरहेका छैनन् । स्वदेश फर्किने सपना बोकेका बूढा आँखाहरू अझै पनि शिविरमै टोलाइरहेका छन् । यो दृश्य यति संवेदनशील ढंगले प्रस्तुत गरिएको छ कि दर्शक रुन बाध्य हुन्छन् ।

बगरमा गिट्टी कुटदै गरेको निचुले कान्छाले हरियो ढुंगा भेटेपछि नाटकको कथा मोडिन्छ । धन र सम्पत्तिको लोभले बिथोलिदिएको सुखी परिवारको कथा मञ्चमा देखापर्छ । पुस २२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार विपिनसँगै सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खडका, राज न्यौपाने, अर्जुन शिवाकोटी, दीपेन्द्र शाही, सुरज तमू, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बाँस्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रूपेश लामा, सौभाग्य सिंह (शोभा), दर्शन श्रेष्ठ, नवीनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी, महेशमान श्रेष्ठ लगायतले अभिनय गरेका छन् । नाटकलाई ‘ज्ञ डिस्कभर योर सेल्फ’ ले प्रस्तुत गरेको हो ।

प्रकाशित : पुस ११, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?