करोडपतिबाट रोडपति बनेका हलिउड स्टारहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशीहरू ‘मनी इज अ फनी थिङ’ भन्छन् । जति कमाए पनि नपुग्ने । टन्नै कमाए पनि रहिनरहने † होस पुर्‍याउन जानिएन भने करोडपतिहरू रोडपति बन्न सक्छन् । केही सेलेब्रिटीका कथा यस्तै छन् । प्रशस्त नाम र दाम कमाएकाहरू जीवनको एक मोडमा ऋणी बनेका छन् ।


कोही त अझै ऋण चुक्ता गर्दै छन् । सूचीमा छन्– अमेरिकी अभिनेत्री लिन्ड्से लोहान, पमेला एन्डरसन, बक्सर माइक टाइसन, अभिनेता डन जोनसन, गायिका टोनी ब्राक्सटन लगायत ।

तीन वर्षको छँदादेखि अभिनयमा लागेकी लिन्ड्से अभिनेत्रीका रूपमा सधैं सफल रहिन् । उनी अभिनीत ‘द प्यारेन्ट ट्रयाप’, ‘फ्रिकी फ्राइडे’, ‘मिन गर्ल’ जस्ता फिल्म क्रिटिकल्ली र कमर्सियल्ली पनि राम्रा मानिए । तर, बिस्तारै उनका गतिविधि यस्ता भइदिए कि अभिनयभन्दा अड्डा–अदालत, मुद्दा–मामिला,
झयालखाना र सुधार केन्द्रतिर समय बढी बित्न थाल्यो ।

कुनै बेलाकी ‘टिन सेन्सेसन’ लिन्ड्से सन् २००७ देखि समस्याको भुमरीमा परिन् । ड्रग, अल्कोहल र भोजभतेरले उनलाई नराम्ररी डुबाए । त्यसबाट बाहिर निस्किन खोज्दा उल्टै ऋणमाथि ऋण थपियो । साथीभाइको सहयोगले धानेन । कहिलेकाहीँ कार्यक्रमहरू पनि गरिन् । त्यसबाट केही भरगेथ भयो । तर, पुरानो छवि फिर्ता आएन । गायिका एवं अभिनेत्री कर्टनी लभको कथा पनि उस्तै छ । सन् २००९ मा कर्टनी ऋणमा डुबेकी थिइन् । ड्रगले उनलाई कानुनी उल्झनमा पारिदिएको थियो ।

सुपरस्टार बक्सर माइक टाइसनलाई त हिरोबाट जिरोमा झरेका खेलाडीका रूपमै चित्रण गर्ने गरिन्छ । सेलेब्रिटी नेटवर्थका अनुसार कुनै बेला उनको कमाइ ३ सय मिलियन अमेरिकी थियो । त्यो रकम घटेर तीन मिलियनमा झर्नुको पछाडि उनको दाम्पत्य जीवनमा आइपरेको किचलोदेखि बलात्कारको घटनासम्म पर्छन् । श्रीमतीसँग छुट्टिएको केही सयमपछि उनी बलात्कार पुष्टि भएर जेल परेका थिए । जेलबाट निस्किएपछि उनले बक्सिङ रिङमा प्रतिस्पर्धीको कान टोकेर तहल्का मच्चाए ।

‘म भिखारी भएको छु,’ माइक एकताका मिडियासँग भन्थे, ‘बस्ने ठाउँ छैन, खाने चीज छैन । साथीहरूसँग हात फैलाउनुपरेको छ । शरणार्थी शिविरमा बसिरहेको छु ।’ सुखमा मातियो भने केसम्म हुन सक्छ भन्नेबारे माइकको जिन्दगी गतिलो पाठ बन्न सक्ने न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । ‘मायमी भाइस’ फिल्मका लागि गोल्डेन ग्लोब अवार्ड जितेका डन जोनसन चाहिँ चार पटक ‘ब्यांकरप्सी’ मा परेका थिए । छोरी डाकोटाले उनको ऋण चुक्ता गर्न थालेको बताइन्छ ।

सन् १९९० को दशकमा औधि चर्चा कमाएकी गायिका टोनी ब्राक्सटनलाई गीतको रोयल्टीले धान्न सकेन । उनको जीवनशैली साह्रै महँगो बन्न थाल्यो । अन्तत: सन् १९९८ मा उनले ब्यांकरप्सीको केस दर्ता गरेको समाचार सुन्नमा आयो । ‘घर सजावटका लागि उनले गर्ने खर्च असामान्य हुने गथ्र्यो,’ चिटसिट डटकमले लेखेको छ, ‘त्यही बानीले उनलाई खाली हात बनाइदियो ।’ गायक एवं र्‍यापर फिफ्टी सेन्ट पनि खर्चालु गतिविधिका कारण ब्यांकरप्ट बने ।

प्रकाशित : पुस ११, २०७४ ०८:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रंगमञ्चमा ‘हरियो ढुंगा’

कान्तिपुर संवाददाता

काठमाडौँ — यता जा भन्छ, उता जा भन्छ खोलाको पातैलेन यता जानु न उता जानुभुटाङ्गे जातैले...उपेन्द्र सुब्बाको कथा ‘हरियो ढुंगा’ को मूल मर्म यिनै पंक्तिमा समेटिएको छ । भुटानी शरणार्थीका समस्या किनारा लागेका छैनन् । सन् १९९० मा भारत हुँदै नेपाल आएका उनीहरू परिचयको खोजीमा छन् ।

शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘हरियो ढुंगा’ को एउटा दृश्य ।


यता जा भन्छ, उता जा भन्छ खोलाको पातैले
न यता जानु न उता जानु
भुटाङ्गे जातैले...
उपेन्द्र सुब्बाको कथा ‘हरियो ढुंगा’ को मूल मर्म यिनै पंक्तिमा समेटिएको छ । भुटानी शरणार्थीका समस्या किनारा लागेका छैनन् । सन् १९९० मा भारत हुँदै नेपाल आएका उनीहरू परिचयको खोजीमा छन् । शरणार्थी शिविरमा दिन गुजारिरहेकाहरू देश फर्किने झिनो आशामा छन् । शिविरमै जन्मिएका छोराछोरी पुस्ता न भुटान चिन्छन् न आफूलाई ‘नेपाली हुँ’ भन्न सक्छन् ।
उपेन्द्रको ‘लाटो पहाड’ कथा संग्रहमा संगृहीत छ, ‘हरियो ढुंगा’ । यो कथालाई अहिले नाटय रूप दिइएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक सुनील पोखरेलले निर्देशन गरेका हुन् । यसमा उनले मन लगाएर काम गरेको देखिन्छ किनभने नाटक सुन्दर र सशक्त लाग्छ । उनले लेखकका पात्र, परिवेश र भावनालाई सजीव तुल्याएका छन् ।
नाटकमा झापाको बेलडाँगीमा राखिएको भुटानी शरणार्थी क्याम्पको परिवेश झल्किन्छ । शिविरभित्र भेटिने अनौठा पात्रहरूको स्वभावबीच कथाको गुदी पस्किन खोज्नु उपेन्द्रको लेखन शैली हो । उनको लेखनमा मनोरञ्जनका आग्र्यानिक मसला भेटिन्छन् । पात्रहरूको ठेट बोलीचाली, मौलिक व्यवहार र रोचक आनीबानीलाई उपेन्द्र खासै संशोधन गर्दैनन् । सायद यही बानीले उनको कथा जीवन्त र स्वादिलो बनेको हो । यता निर्देशक सुनीलको स्वभाव पनि उस्तै छ । उपेन्द्रका पात्रलाई दुरुस्त उतार्न उनी अब्बल देखिएका छन् ।
फिल्म ‘देश खोज्दै जाँदा’ को सुटिङका बेला बेलडाँगीमै उपेन्द्रले शरणार्थीको कथा सुनेका थिए । क्याम्पमा एक जना बूढा मान्छे (निचुले कान्छा) को कथा सुनेपछि उपेन्द्रलाई कहिले लेखौंजस्तो भएको थियो । उनले हतारमै शरणार्थीको गम्भीर कथा लेखिभ्याए । सरल शैलीको उक्त कथामा शरणार्थी हुनुको पीडा त छ नै, उनीहरूकै नयाँ पुस्ताले कुन राज्यको पहिचान बोक्ने भन्ने प्रश्न पनि सशक्त पाराले उठाइएको छ ।
झन्डै डेढ घण्टा लामो नाटकमा सबै पात्र मुख्य छन् । फिल्मी चर्चा कमाएका कलाकार राखेर नाटक चलाउने प्रचलन छ अहिले । ‘हरियो ढुंगा’ मा पनि चर्चित कलाकार विपिन कार्कीले अभिनय गरेका छन् । तर, उनको कारण अरू पात्रलाई ओझेल पारिएको छैन । त्यसमाथि विपिन मौन (संवादविहीन) पात्रको भूमिकामा छन् । विपिनभित्रको कलाकारिता प्रस्ट देखाइदिने सन्दर्भमा निर्देशक सुनीलको
काम तारिफयोग्य छ ।
त्यसले अरू पात्रको कलामा समेत न्याय गरेको महसुस हुन्छ ।
शरणार्थी शिविरभित्रको परिवेश पात्रहरूको मनोविज्ञानबाटै खोतल्न सक्नु नाटकको बलियो पक्ष हो । शरणार्थीलाई सुविधा दिने हेतुले तेस्रो मुलुक जान पाउने अवसर दिइएको छ । बगरमा गिट्टी कुटेर जीविका चलाइरहेका उनीहरूमध्ये सबै अर्को देश जान चाहिरहेका छैनन् । स्वदेश फर्किने सपना बोकेका बूढा आँखाहरू अझै पनि शिविरमै टोलाइरहेका छन् । यो दृश्य यति संवेदनशील ढंगले प्रस्तुत गरिएको छ कि दर्शक रुन बाध्य हुन्छन् ।
बगरमा गिट्टी कुटदै गरेको निचुले कान्छाले हरियो ढुंगा भेटेपछि नाटकको कथा मोडिन्छ । धन र सम्पत्तिको लोभले बिथोलिदिएको सुखी परिवारको कथा मञ्चमा देखापर्छ । पुस २२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार विपिनसँगै सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खडका, राज न्यौपाने, अर्जुन शिवाकोटी, दीपेन्द्र शाही, सुरज तमू, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बाँस्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रूपेश लामा, सौभाग्य सिंह (शोभा), दर्शन श्रेष्ठ, नवीनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी, महेशमान श्रेष्ठ लगायतले अभिनय गरेका छन् । नाटकलाई ‘ज्ञ डिस्कभर योर सेल्फ’ ले प्रस्तुत गरेको हो ।

प्रकाशित : पुस ११, २०७४ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT