१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पुजा लामा : डेढ घन्टामा तीन जीवनको अनुभूति  

मधु शाही

काठमाडौँ — उमेर भर्खरै २५ वर्ष । उनको बाल्य जीवनले कहिल्यै धुलो मैलो देखेन । अहिले किशोर अवस्थासम्म आइपुग्दा पनि पुजा लामा सुविधा सम्पन्न दैनिकी बिताइरहेकी छन् । तर, आफ्नो भन्दा ठिक विपरित र भिन्न भोगाइका पात्रहरुको चरित्र उनले रंगमञ्चमा उतार्नु थियो ।

पुजा लामा : डेढ घन्टामा तीन जीवनको अनुभूति  

सुदुर पुर्वको परिवेशमा आधारित नाटक ‘चिसो भञ्याङ’ मा पुजाले यतिबेला बाल पात्र, किशोरी र बृद्धा गरि तीन चरित्र एक साथ निभाएकी छन् । नाटक अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेकोछ ।

२०११ मा नेशनल स्कुल अफ ड्रामा (एनएसडी) भारतबाट रंगकर्मी एम.के राइना नेपाल आएका थिए । त्यसै बेला उनले एक महिनाको नाटक कार्यशाला समेत दिए । जसमा सिक्नेहरुको भिडमा पुजा पनि थिइन् । त्यहीबाट पुजाले वास्तविक रंगकर्मको अध्ययन गरेकी हुन् । जागिर खाँदै, अध्ययन गर्दै र यता रंगमञ्चमा सक्रिय हुँदै आएकी पुजाले अहिलेसम्म चार वटा नाटक खेलिन् ।

‘चिसो भञ्याङ’ सहित ‘अन्धो युग’, ‘उ कसको’, र ‘भजाइना मनोलग’ गरि चार नाटकमा अभिनय गरेकी छन् । तर, चिसो भञ्याङमा चाहिं पुजाले पात्रहरुको चुनौति आफै उठाएको बताउँछिन् । उनलाई निर्देशक एवं लेखक सन्दिप श्रेष्ठले मुख्य नायिकाको भुमिका र बहिनी गरि दुई मध्ये एउटा क्यारेक्टर छनोट गर्ने अप्सन दिएका थिए । पुजाले धेरै सोचविचार गरेर नायिकाको रोल निर्वाह गरिनन् । उनले बहिनीको बाल्यकाल, किशोरी र बृद्धा गरि तीन उमेर खण्डको भुमिकामा देखिने निश्चित गरिन् । तर यो भूमिका सहज थिएन । त्यहि ‘मल्टी कास्ट’ पात्र उनलाई मन पर्यो । ‘एउटै नाटकमा तीन जीवन अनुभुत गर्न पाएँ’, उनी भन्छिन्, ‘रंगमञ्चको विशेषता नै यहि हो ।’ झन्डै डेड घन्टा लामो नाटकमा पुजाले तीन रुप मञ्चमा देखाउदा आइपर्ने चुनौतिहरु थुप्रै छन् ।

बाल पात्र :


आफ्नो बाल्यकाल जुन पुजालाई सम्झनामा छैन । के गरिन्थ्यो, कस्ती थिएँ ? झन्डै ६, ७ कक्षामा पढ्दा खिचेका आफ्ना तस्बिर पुजाले फेरि पल्टाएर हेरिन् । त्यहाँ उनले हाँस्दा, बस्दा र फोटोमा झल्किएको एक किसिमको बालमनोविज्ञान महशुस गरिन् । अनि त्यसैलाई पात्रमा ढाल्ने प्रयास गरिन् । तर, उनले गर्नुपर्ने बालिकाको अभिनय भने प्राचिन समय र सुदुरपुर्वको परिवेशमा हुर्किएका बालबालिकाको जीवन शैली झल्काउनु पर्ने थियो । त्यसका लागि पुजाले इन्टरनेट सर्च गरेरसमेत अध्ययन गरेको बताउँछिन् ।


किशोरी पात्र:

बाल्यकालको क्यारेक्टर पछि किशोर अवस्थासम्म आइपुग्दा उनीसंग झन्डै १० मिनेट अवधि रहन्छ । त्यो समयमा उनले मञ्चको पर्दा पछाडि गएर पहिरन मात्र होइन, बाल मनोभाव समेत छोड्नु पर्छ । किशोर अवस्थामा पात्र निर्वाह गर्नु पुजालाई अलि सहज भयो । किनकी त्यो पात्र उनले केही अघि मात्र भोगेको समय थियो । बाल्यकालमा गरेको सानो गल्तीको प्रश्चातापमा उनको किशोरी अभिनय अल्झिरहेको हुन्छ । ‘हाँसेर एक्टिङ गर्न सजिलै हुन्छ’, उनी भन्छिन्, ‘पछुतोमा रुमलिएकी युवतीको पीडा पस्किन गाह्रै पर्छ ।’


बृद्धा पात्र :


२५ बसन्त टेकेकी पुजाले अब भने बृद्धाको अभिनय गर्नुछ । त्यो पनि एउटी बोल्ड लेखिकाको रुपमा । उमेर अनुसारको मनोभाव देखाउनु त छँदैछ त्यसमा पनि उसको लेखकीय पेशाको समेत अभिनयमार्फत न्याय गर्नुछ । पुजाले बृद्धा लेखकको क्यारेक्टर अब्जर्भेसन गर्न साहित्यकार बानिरा गिरीका अन्तर्वार्ता निकै हरेको बताइन् । उनले पत्रकारसंग गरेको कुराकानी र हाउभाउ नियालेर आफुले एक्टिङमा नक्कल गर्ने प्रयास गरेको सुनाइन् । बृद्धा अवस्थादेखिन मोटो पावरवाल चस्मा, खुल्ला कपडा टप्स लगाएकी पुजाले छोटो अवधिमा बृद्धा लेखकको गहिरो जीवनी भोग्न पाएको महशुस गरेकी छन् ।


एउटै व्यक्तिले अनेक पात्रको जीवन भोग्न पाउने भएकाले रंगमञ्च पुजालाई मन पर्ने क्षेत्र हो । उनी सधै भरि यस्तै नविन पात्र खोजि गरिरहेकी हुन्छिन् । नाटकभर अभिनय गर्दा एउटा पात्र भित्र छिरेर अर्कोमा रुपान्तरण हुनु निकै कठिन कुरा हो । त्यसबेला पुजा गुरु एमके राइनले भनेको वाक्य सम्झिन्छिन्, ‘क्यारेक्टर भित्र छिर्नु पनि कला हो र बाहिरिन सक्नु पनि कला ।’


यि दुवै गुणमा आफु अब्बल सावित गराउन पुजा रंगमञ्चमा निरन्तर लागेकी छन् । पुष ७ गतेसम्म मञ्चन हुने नाटकमा अनुप न्यौपाने, सविना गोपाली, दिपिका ढकाल, रोशन सुवेदी, बारात लिम्बु, सन्जिब राई, विकास पन्त, सीता राना मगर, सगुन पोखरेल, उदय लिम्बु, विवेक रसाइली, अनुजा अधिकारी र समापिका गौतम लगायतले अभिनय गरेका छन् ।

तस्बिर स्रोत: पुजा लामा ।


प्रकाशित : पुस ११, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?