पुसभरि चिसो भञ्ज्याङ
काठमाडौँ — देखेका सबै सत्य हुँदैनन् । घटनाको गहिराइमा नपुगी गरिएको निर्णयले भविष्यमा सधंै पश्चतापमा जल्नुपर्ने बनाइदिन सक्छ । अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘चिसो भञ्ज्याङ’ को चुरो कुरो यही हो ।
सुदूरपूर्वको नेपाली परिवेशमा बोकेको नाटकमा प्रेमकथा, बालमनोविज्ञान र माओवादी जनयुद्ध गरी तीन पक्ष एकसाथ मिसाइएको छ । निम्न वर्गीय समुदायले भोग्नुपरेको सामाजिक आर्थिक उत्पीडनको सन्दर्भसमेत नाटकमा छ । तीनवटा फरक सन्दर्भ जोडेको हुनाले नाटकका कतैकतै बहकिएको र प्रसंग नमिलेको जस्तो पनि लाग्न सक्छ तर निर्देशक संदीप श्रेष्ठले कथाहरूलाई जोड्ने राम्रै प्रयास गरेका छन् ।
श्रेष्ठको यो पहिलो निर्देशकीय प्रयास हो । बेलायती साहित्यकार लान म्याक्वानको प्रसिद्ध उपन्यास ‘अटोन्मेन्ट’ माथि आधारित नाटकको नेपाली रूपान्तरण श्रेष्ठ स्वयंले गरेका हुन् । बाल्यकालमा आफ्नी दिदीको बलात्कार भएको दृश्य देखेकी एक बालिकाले बेकसुर व्यक्तिलाई आरोप लाउँदाको परिणति नाटकले उठान गर्न खोजेको छ । देखेका सबै सत्य हुँदैनन् भन्ने भनाइलाई नाटकले समाएको छ । कहिलेकाहीं आइलागेको सानो क्षणले सिंगो जीवनलाई कसरी प्रभाव पार्छ भन्ने यो नाटक हेरेपछि थाहा हुन्छ । बिनाकारण आरोप लागेपछि डाक्टर पढदै गरेको एक युवक माओवादी जनयुद्धमा होमिन बाध्य हुन्छन् । उसकी प्रेमिकाले भने अन्योलको जीवन बिताउनुपर्ने हुन्छ ।
डेढ घण्टा अविधमा दर्शकदीर्घाबाट थुप्रै पात्रहरू मञ्चमा देखा पर्छन् । यसले कलाकारको मञ्च कभर दायरालाई फराकिलो बनाएको महसुस हुन्छ । नाटकको पूरै घटनाको साक्षी ‘चिसो भञ्ज्याङ’ नाम गरिएको चौतारो हुन्छ । त्यसैले नामअनुसारको नाटकको नाम सान्दर्भिक नै लाग्छ । बलात्कारको दृश्य भने खासै कलात्मकता प्रयोग गर्न सकिएको देखिँदैन । पूर्वी भेगकै विभिन्न सांस्कृतिक गतिविधि र रहनसहनसमेत समेटिएको नाटकको अभिनय पक्ष पनि केही फितलो लाग्छ । मुना पात्रको रूपमा देखिएकी सविना गोपालीको अभिनय र बालिका, किशोरी र वृद्धा गरी तीन फरक चरित्र देखिएकी पूजा लामाले चरित्रलाई न्याय गरेका छन् । पुस ३० गतेसम्म जारी रहने नाटकमा सविना, पूजासहित अनुप न्यौपाने, दीपिका ढकाल, रोशन सुवेदी, बारात लिम्बू, सञ्जीव राई, विकास पन्त, सीता रानामगर,
सगुन पोख्रेल, उदय लिम्बू, विवेक रसाइली, अनुजा अधिकारी, समापिका गौतम र प्रतीक दुलालले अभिनय गरेका छन् ।
प्रकाशित : पुस १३, २०७४ ०९:०७