२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

“मन त परदेशी” पुस १४ देखि

नेपालगन्ज — वैदेशिक रोजगारीमा गएका युवाको समस्या तथा प्रेम सम्बन्ध समेटिएको ‘मन त परदेशी’ पुस १४ देखि देशभरका ४० हलभन्दा बढी हलमा प्रदर्शनमा आउने भएको छ । फिल्मको डिसेम्बर २५ मा कतारमा च्यारिटी सो गर्दा दर्शकको संख्या उल्लेख्य पाएपछि निर्माण पक्षले फिल्म सफल हुने दाबी गर्दै आएको छ । निर्माण पक्ष र कलाकारहरू फिल्म प्रमोसनका लागि देश दौडाहामा छन् । एबी फिल्म्स प्रोडक्सनले फिल्म प्रदर्शनमा ल्याउन लागेको हो । 

“मन त परदेशी” पुस १४ देखि

कतारमा फिल्मको दुई सो प्रदर्शन गरिएको थियो । बाँके, बर्दिया, काठमाडौं र कतारमा सुटिङ गरिएको फिल्म वैदेशिक रोजगारीमा गएका युवायुवतीको समस्या, भोगाइ, प्रेम सम्बन्ध, परिवारको समस्यालगायतमा केन्द्रित छ । निर्माण सुरु भएको दस महिनामा फिल्म तयार भएको निर्देशक देव नेपालले बताए । यसअघि ‘नमस्ते डोल्पा’, ‘वनझाँक्री’ लगायतका फिल्म निर्देशन गरिसकेका नेपालले यसअघिका फिल्मभन्दा यो फिल्म सफल हुनेमा आफू आशावादी रहेको बताए । फिल्मका निर्माता दुर्गाबहादुर खड्का हुन् ।

‘देशमा केही गर्ने इच्छा हुँदा हुँदै विदेश गएर दु:ख पाएका युवाहरूको कथालाई फिल्ममा समेटिएको छ,’ निर्माता खड्काले भने, ‘युवाहरूले त्यहाँ भोग्नुपरेका समस्या, परिवारिक समस्या, बाध्याता र प्रेम सम्बन्धलाई फिल्ममार्फत देखाउन खोजेका छौं ।’ उनका अनुसार युवालाई नेपालमै केही गर्न फिल्ममार्फत सन्देश दिन खोजिएको छ भने वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने सतर्कताबारे सचेत गराइएको छ । ४० दिनमा सुटिङ सकिएको फिल्मको १० प्रतिशत दृश्य कतारमा खिचिएको छ ।

फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेणु शर्मा, रमिला आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । नयाँ कलाकार भए पनि उनीहरूको अभिनयलगायतका सबै पक्ष राम्रो रहेकाले फिल्म सफल हुने निर्माण पक्षको दाबी छ । फिल्मको ‘बैना बुझ लौ, १६ वर्षे जवानीको.....’ गीत करिब १ लाख २५ हजार बढीले दुई सातामा युटयुबमार्फत हेरिसकेका छन् भने ‘तिमी छौं आँखामा...’ गीतको युटयुब टेन्डिङ बढ्दै गएको छ । फिल्मको ट्ेरलर सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाइरहेको फिल्ममा कथा र पटकथासमेत लेखेका निर्देशक नेपालले बताए । पुष्कर सुनुवारको संगीत रहेको फिल्ममा राज सिग्देल, पुष्कर सुनुवार र मेलिना राईले गीत गाएका छन् । छायांकन मरुभूमि नारायणले गरेका हुन् ।

‘वैदेशिक रोजगारीमा गएका युवाको पीडालाई समेटिएकाले उनीहरूको घरपरिवारका सदस्यले हेर्नैपर्ने फिल्म हो । फरक शैली र परिवेशमा फिल्म निर्माण गरिएको छ । कथा, गीतसंगीत, कलाकारको अभिनय सबैले दर्शकको मन छुने र फिल्म सफल हुनेमा आशावादी छौं,’ निर्देशक नेपालले भने, ‘कतारमा च्यारेटी सो गर्दासमेत निकै मन पराइएकाले यहाँ पनि सफल हुने हाम्रो विश्वास छ । परिवार, रोजगारीमा जाने युवा तथा सरकारलाई समेत फिल्मले सचेत बनाएको छ ।’

प्रकाशित : पुस १३, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?