“लम्फू” सँग “हिरो रिटर्न्स” भिड्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाख २८ मा फिल्म हलमा रोचक भिडन्त हुने भएको छ, ‘लम्फू’ विरुद्ध ‘हिरो रिटर्न्स’ को । साताअघि मात्रै वैशाख २८ लाई रिलिज मिति तय गरेको फिल्म ‘लम्फू’ सँग सोही मितिमा अर्को फिल्म ‘हिरो रिटन्र्स’ को पनि रिलिज हुने भएपछि भिडन्त पक्का भएको हो । 

रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको ‘हिरो रिटर्न्स’ लाई आशिष भेटवालले निर्देशन गरेका हुन् । निर्माणमा लामो समय लगाएको उक्त फिल्मका केही दृश्य पुन: छायांकन गरी प्रदर्शनका लागि तयार पारिएको निर्माता समेत रहेका नायक श्रेष्ठले बताए । कमेडी एक्सन जानरामा बनाइएको फिल्ममा सविन र रेखासहित दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर, रोशन श्रेष्ठ, डीबी बम्जन, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठलगायतको अभिनय रहेको छ । पछिल्ला केही फिल्मबाट सफलता पाउन नसकिरहेका बेला ‘हिरो’ बाटै डेब्यु गरेकी रेखालाई भने ‘हिरो रिटन्र्स’ ले फेरि लाइमलाइटमा फर्काउने अपेक्षा गरिएको छ । तर त्यसका लागि गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’ सँगको व्यावसायिक भिडन्तमा खरो उत्रनु पर्नेछ । ‘लम्फू’ मा कबिर खडका, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सन्जित भण्डारीलगायतको अभिनय रहेको छ ।
मदनकाश्यप घिमिरेको सिनेमाटोग्राफी रहेको ‘हिरो रिटन्र्स’ को पटकथा शिवम् अधिकारीको हो भने चन्द्र पन्तको द्वन्द्व निर्देशन र मित्र गुरुङको सम्पादन रहेको छ । नायकतथा निर्माता सविन श्रेष्ठले ‘हिरो’ का पालादेखिका दर्शकको स्वादलाई समेत लक्षित गरी ‘हिरो रिटर्न्स’ रि–सुट गरेर बनाइएको दाबी गरे ।

Yamaha

Esewa Pasal

प्रकाशित : पुस १३, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संग्रहालयमा कविशिरोमणि

‘पाँच वर्ष अघिसम्म लेखनाथ जन्मस्थल वनमासा झाडीले पूरै ढाकेको थियो । केही रचनात्मक काम गर्नुपर्‍यो भनेर समिति र प्रचारमा अघि बढयौं ।’
पूर्ण विके

पोखरा — कविशिरोमणि लेखनाथ पौडयालको जन्मघर धमाधम संग्रहालय बन्दै छ । बनी नसक्दै आन्तरिक पर्यटक आउन थालेका छन् । पोखरा–लेखनाथ २७ अर्घौंअर्चलेस्थित कविको जन्मघरलाई लेखनाथ जन्मस्थल विकास समितिले संग्रहालय बनाउँदै गरेको हो ।

पोखरा लेखनाथ–२७, अर्घौंअर्चलेस्थित कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघर अवलोकन गर्दै पर्यटकहरू । 

६० लाख रुपैयाँ लागत अनुमान गरिएको संग्रहालय र पार्क यसै वर्ष सम्पन्न हुने समिति अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । पुरातत्त्व विभागबाट प्राप्त बजेटबाट काम भइरहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ देखि तीन वर्षसम्म लगातार २०/२० लाख रुपैयाँका दरले संग्रहालय निर्माणका लागि बजेट आएको छ । लेखनाथ जन्मस्थलको प्रचारप्रसारमा राज्यको ध्यान नगएपछि ५ वर्षअघि समिति स्थापना गरेर जनश्रमदानसहित करिब २ करोड रुपैयाँ मूल्यबराबरका संरचनाहरू निर्माण भइसकेको उनले बताए । उक्त रकममध्ये ७० लाख रुपैयाँ जति मात्रै सरकारीनिकायबाट प्राप्त भएको अध्यक्ष लामिछानेले जनाए ।
‘पाँच वर्षअघिसम्म लेखनाथ जन्मस्थल वनमासा झाडीले पूरै ढाकेको थियो,’ उनले भने, ‘केही रचनात्मक काम गर्नुपर्‍यो भनेर समिति र प्रचारमा अघि बढयौं ।’
जन्मस्थलमा साहित्यिक जमघटको लागि सभाहल, १०/१२ जना पाहुना राख्न मिल्ने अतिथिगृह, पिकनिक स्पटलगायत भ्युटावर बनाउने योजना समितिले बनाए पनि गुरुयोजना बनाउन तत्काललाई आर्थिक अभाव भएको उनले बताए । संग्रहालय भवनको करिब ७० प्रतिशत निर्माणकार्य भने सम्पन्न भइसकेको छ । सालको काठलाई कलात्मक तवरले कुँदेर भक्तपुरे शैलीको झयालढोकासहित संग्रहालय निर्माण हुँदै छ । उक्त घरको अलावा जन्मस्थल परिसरमा ढुंगाको छपनी बिछयाउने र कविशिरोमणि पौडयालका कवितालाई शिलामा कँुदेर स्तम्भ बनाउने कार्यसमेत अघि बढाइएको छ ।
जन्मस्थलदेखि करिब एक किलोमिटर तल पौडयालको सम्झनामा पोखरीसहितको पार्क बनाइएको छ ।
भूकम्पप्रतिरोधी संग्रहालयमा कविशिरोमणिका कृतिहरू राखिने छन् । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय अवलोकनका लागि विद्यार्थी, शिक्षक र साहित्यकार लगायत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य समितिलेराखेको छ ।
पोखरा महानगरपालिकालाई पूर्वाधार निर्माणका लागि आफूहरूले भने पनि तत्काललाई थप काम हुन नसकेको संग्रहालयका सचिव मनोज पौडेलले बताए । कविशिरोमणिको संग्रहालय बनाएर मुलुकभरका साहित्यिक पर्यटकलाई तान्न सके पोखराको गरिमा बढ्ने स्थानीयको अपेक्षा छ । पिकनिक स्थलको रूपमा समेत उक्त पार्कलाई प्रयोग गर्ने गरी आफूहरूले पहल गरे पनि रकम अभावमा थप काम गर्न नसकिएको पार्कका अध्यक्ष दीपक बाँस्तोलाले बताए । राज्यले संरक्षणमा चासो देखाए पनि विनियोजन गरिने रकम पर्याप्त नभएको उनले दुखेसो पोखे । संग्रहालय अवलोकनका लागि भने विद्यार्थी र छिटफुट आन्तरिक पर्यटक आउन थालिसकेका छन् ।
‘कविशिरोमणिबारे चासो राख्नेहरू बढ्दै गएका छन्,’ उनले भने, ‘गुरुयोजना बनाएर सोहीअनुसार
अघि बढ्न आवश्यक छ ।’
संग्रहालय व्यवस्थापनका लागि महानगरपालिकाको कार्यालयले पनि मासिक ७ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट केही पर पर्ने संग्रहालयमा पुग्न अझै एक किलोमिटरजति बाटो कच्ची छ । कविशिरोमणि पौडयालको १३४ औं जन्मजयन्ती बिहीबारदेखि तीन दिनसम्म मनाउने तयारीमा समिति लागिपरेको छ ।

प्रकाशित : पुस १३, २०७४ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT