२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

“संगीतमा व्यावसायिकताभन्दा फेसन हाबी”

‘अहिले १ सय राम्रा गायकगायिका निस्किए भने जम्मा १० जना मुस्किलले ब्यावसायिक रुपमा बाँच्ने सम्भावना छ । यसलाई के ब्यावसायिकता भन्ने ?’ 
नारायण खडका

अस्ट्रेलिया — उनले नौ वर्षसम्म संगीतको अध्ययन गरे, व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा आउने क्रममा । अहिले राम्रो गायकको परिचय बनाइसकेका छन् । तर उनलाई लाग्छ— पछिल्लो समय नेपाली संगीतमा फेसन बढ्दै गएको छ, व्यावसायिकता र स्तर भने दिनहुँ खस्किँदै छ ।

“संगीतमा व्यावसायिकताभन्दा फेसन हाबी”

अहिलेसम्म चार सोलो एल्बम र तीन दर्जनभन्दा बढी सामूहिक एल्बम सार्वजनिक गरिसकेका राज सिग्देल आफू पूर्णत: व्यावसायिक गायक भएको गर्वका साथ सुनाउँछन् । हुन त ‘ऊ जितेर गई या हारेर गई...’ बोलको गजल नआएको भए उनको परिचय अहिले फरक पनि हुन सक्थ्यो । पाँच वर्षअघि जब यो गजल सार्वजनिक गरे, त्यसयता नेपाली सांगीतिक क्षेत्रबाट पछाडि फर्केेर

हेर्नुपरेको छैन । यसले उनलाई संगीतको क्षेत्रमा हिँड्नका लागि प्रेरणा मात्र दिएन, बाटोसमेत फराकिलो बनाइदियो ।

‘नेपाली संगीतको व्यावसायिकताको कुरा गर्दा, अहिले करिब २० जना गायकगायिका मात्र यसैबाट बाँचेका होलान्,’ कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया आएका गायकले कान्तिपुरसँग भने । उनी त विदेशमा रहेका नेपालीहरूले नेपाली कलाकार र संगीतलाई प्राण भरिदिएको समेत खुसीसाथ सुनाए । ‘विदेशमा गरिएका कार्यक्रमहरूले नेपाली कलाकारहरूलाई जीवनयापन गर्न अत्यन्तै सहज बनाइदिएका छन्,’ उनले थपे, ‘यसले नेपाली संगीत बचाउनसमेत मद्दत पुर्‍याएको छ ।’

नेपालको सांगीतिक क्षेत्रको अवस्था हेरेर उनी साह्रै आशावादी छैनन् । उनी नेपालको संगीतमा लहड र फेसनका रूपमा आउने गायकगायिकाको बाहुल्य रहेको देख्छन् । संगीतमा हुनुपर्ने व्यावसायिकता, लगन र स्तर भने दैनिकजसो कम हुँदै गएको उनले बताए । ‘अहिले १ सय राम्रा गायकगायिका निस्किए भने जम्मा १० जना मुस्किलले व्यावसायिक रूपमा बाँच्ने सम्भावना छ । यसलाई के व्यावसायिकता भन्ने ?’ उनको प्रश्न छ ।

हङकङ र जापानमा कन्सर्ट गरिसकेका उनलाई विदेशमा काम गर्न मजा लाग्ने मुख्य कुरा नै नेपालीहरूको कलाकार र संगीतप्रतिको माया हो । ‘विदेशमा तपाईंले नसोचेको माया पाउनुहुन्छ,’ उनले भने । अर्काेतिर आफ्नै घरको सदस्यजस्तो दिइने मायाप्रेम र सत्कारसमेत अविस्मरणीय हुने गरेको उनको अनुभव छ । तर, विदेशमा अलि प्रोफेसनल कार्यक्रम गरिदिए हुन्थ्योजस्तो पनि लाग्छ उनलाई ।

उनी गायक मात्र नभएर पछिल्लो समयमा अभिनयमा समेत लागिपरेका छन् । ‘म गायनसँगै अभिनयमा समेत परिचय बनाउन चाहन्छु,’ उनले सुनाए ।

पहिलो पटक अस्ट्रेलिया आएका सिग्देल यसलगत्तै कोरिया जाने योजनामा छन् ।

केही महिनाभित्रै युरोपका आठ देश र यूके जाने तयारीमा छन् । त्यसैले पनि उनलाई लाग्छ, विदेशका नेपालीहरूले नेपाली गीतसंगीत र कलाकारहरूलाई जति माया गरेका छन्, त्यसले वास्तवमा नेपाली गीतसंगीत र कलाकारहरूलाई जीवन राम्ररी चलाउन सहयोग पुर्‍याएको छ । त्यसैले पनि नेपाली संगीतको क्षेत्रमा लागिपरेकाहरूले यसको स्तरलाई अझ माथि पुर्‍याउन लागिपर्नुपर्ने उनको सोच छ ।

प्रकाशित : पुस १४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?