गन्तव्य चुचुरो 

‘सगरमाथा पुगेर लाइभ भिडियो दिने छौँ’
मधु शाही

काठमाडौँ — उनले जन्मदिने आमालाई कहिल्यै देखिनन् । आमा कस्ती थिइन् ? मनमा यही प्रश्न उब्जिरहन्थ्यो । कलिली बालिका रोजिता बुद्धाचार्यले जिज्ञासा मेट्न हजुरबालाई धेरै पटक सोधिन् । एक दिन हजुरबाले आकाशतिर देखाउँदै उनलाई भनेछन्, ‘तिम्री आमा तारा भइसकेकी छन्, आमा भेट्न तिमी त्यहीं पुग्नुपर्छ ।’

गन्तव्य चुचुरो 

काठमाडौंकी रोजिताले सानैदेखि आकाश पुग्ने र आमा भेट्ने सपना देख्न थालिन् । सपनामा उनी घरको छतछत कुद्दै पहाडको टुप्पोमा चढ्थिन् र अग्लो हिमालमा टेकेर तारा छुन्थिन् ।


सञ्चार र रंगकर्म दुवैमा छवि बनाएकी रोजिता अहिले २४ वर्षकी भइसकेकी छन् । यति बेला भने उनी साँच्चिकै हिमाल टेक्ने अभियानमा छिन् । त्यही पनि संसारकै अग्लो चुचुरो । उनीसहित अन्य चार महिला सञ्चारकर्मी आआफ्ना सपना बोकेर सगरमाथा आरोहण गर्न अभ्यास गर्दै छन् । रोजिता, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङ र कल्पना महर्जनको समूहले सगरमाथा आरोहण गर्न लागेको हो । एक वर्ष अघिदेखि उनीहरूको अभ्यास जारी छ ।


दोलखाको रामदुङ र यलुङरी हिमाल पुगेर आइसकेका उनीहरू अप्रिलमा सगरमाथा चढ्ने तयारीमा छन् । त्यसका लागि अभ्यास चाहिन्छ, अभ्यासलाई अर्थ । मंगलबार बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा यी पाँचको अभियानलाई सघाउन नाटक ‘हरियो ढुंगा’ को च्यारिटी सो गरियो । नाटकका निर्देशक सुनील पोखरेलले युवाहरूको ऊर्जामा आफूले थोरै सहयोग गर्ने प्रयास गरेको बताए । च्यारिटी सोमा दोलखामा हिमाल चढ्दा बनाएको भिडियोसमेत उनीहरूले देखाएका थिए ।


सगरमाथा चढ्ने सपना बुन्नुमा पाँचै जनाको आ–आफ्नै कथा छ । पाँचथरमा जन्मिएकी देउरालीको परिवार धरानमा बसाइँ सर्‍यो । तिनताक पासाङल्हामु शेर्पा सगरमाथा चढेर फर्किंदा बाटैमा मृत्यु भएको खबर देउरालीकी आमाले थाहा पाइन् । आमाले भनिन्, ‘मरेपछि कोही पनि अमर हुँदैन तर यी शेर्पिनीचाहिँ सधैँ अजम्बरी भइन् ।’ त्यति बेला देउरालीले सगरमाथा आरोहणको महत्त्व खासै बुझेकी थिइनन् । ‘अहिले म आमाले भन्नुभएको त्यही कुरा सम्झिन्छु,’ कुराकानी क्रममा मंगलबार उनी भावुक भइन्, ‘घुम्न त म यसै मन पराउँथेँ, ५० भन्दा बढी महत्त्वपूर्ण पर्यटकीय थलो घुमिसकेकी छु । तर, जब सगरमाथा चढ्ने सपना बुन्न थालें, पुरानो याद ब्युँझियो । त्यसैले मलाई ऊर्जा दिइरहेको छ ।’


सगरमाथा चढ्ने मन भएकाहरूलाई जोड्ने काम भने रोशा बस्नेतले गरेकी हुन् । काम गर्दा चुनौती खेप्न र फरक धारमा हिँड्ने अभिरुचि राख्ने रोशा राष्ट्रिय समाचार समिति आबद्ध छिन् । न्युज रुममै काम गरिहँदा २९ वर्षीया रोशाले कलम चलाउने हातबाट आइस काट्ने औजार चलाएर फरक पहिरचान बनाउने सपना बुनेकी थिइन् । ‘एक्लै होइन्, समूहमा काम गर्दा मिसन पूरा हुन्छ जस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यही भएर म जस्तै अरू पत्रकार खोज्न थालें ।’


ललितपुरकी कल्पना एक सन्तानकी आमा पनि हुन् । सगरमाथामा भने उनको यो दोस्रो अनुभव हुनेछ । सन् २०१४ मा सगरमाथा यात्रा क्रममा उनी दुर्घटनामा परेपछि ७ दिन कोमामा बसेकी थिइन् । ‘हिम्मत हारेकी छैन,’ उनले भनिन्, ‘दोस्रो जन्म फेरि सगरमाथा चढ्नकै लागि पाएकी हुँ ।’


अनामनगरकी प्रियालक्ष्मीले हिमालका थुप्रै चित्र कोरिन् । कोर्दाकोर्दै हिमाली सौन्दर्य उनको मस्तिष्कमा यसरी बसेछ कि त्यहाँ पुगेर प्रत्यक्ष सौन्दर्य अनुभूति गर्ने सपना देख्न थालिन् । टेलिभिजनमा पत्रकारिता गरिरहँदा उनको ध्याउन्न भने ‘सगरमाथा कसरी चढ्ने ?’ भन्नेमै हुन्थ्यो । सन् २००८ मा शैली बस्नेतलगायतको समावेशी महिला समूहसँग आबद्ध भएर सगरमाथा चढ्ने चाहना राखेकी थिइन् उनले । तर, उति बेला उनको उमेरले साथ दिएन । यति बेला भने उनी आफ्नो गन्तव्यनजिक आइपुगेकी छन् ।


फरक पृष्ठभूमिबाट आएका यी महिला पत्रकारको एउटै गन्तव्य बनेको छ सगरमाथा चुचुरो । उनीहरू भन्छन्, ‘सगरमाथा पुगेर लाइभ भिडियो दिने छौँ ।’

प्रकाशित : पुस १९, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?