नाटक घर बनाउन श्रीमान् वीरबहादुर

विमल खतिवडा

चितवन — पछिल्लोपटक नेपाली रंगमञ्चमा कथा मञ्चनको परम्पराले निरन्तरता पाइरहेको छ । केही अघिमात्रै राजधानीमा कुमार नगरकोटी र नयनराज पाण्डेका कथाहरू मञ्चन भएका थिए । अब कथा मञ्चन मोफसलमा पनि सुरु भएको छ ।

नाटक घर बनाउन श्रीमान् वीरबहादुर

यहाँस्थित नारायणी कला मन्दिरमा मदन पुरस्कार विजेता रामलाल जोशीको ‘ऐना’ कथा संग्रहमा समाविष्ट ‘श्रीमान् वीरबहादुर’ मञ्चन सुरु भएको छ । बिहीबारबाट दैनिक दुई सो नाटक मञ्चन सुरु भएको हो । पहिलो दिन नाटक हेर्न आउने दर्शकको दैनिक भीडले कथा मञ्चनलाई मन पराएको संकेत गर्छ । नाटक घर बनाउने उद्देश्यका साथ कर्मी नाटय समूहले टिकटमा नाटक मञ्चन सुरु गरेको हो ।


५० मिनेटको नाटकमा दर्शकले समय बितेको पत्तो पाउँदैनन् । नाटकले घरी हसाँउछ त घरी रुवाउँछ । कलाकारहरूले जीवन्त अभिनय गरेका छन् । नाटक मञ्चन भइरहँदा दर्शकदीर्घा लगभग स्तब्ध बनेको थियो । ‘प्रस्तुतिले मन छोयो,’ बिहीबार दोस्रोपटक नाटक हेर्न पुगेका साहित्यकार लेखराम सापकोटाले भने, ‘छोटो समयमा धेरै कुरा समेटिएको छ, कलाकारको अभिनय प्रशंसायोग्य छ ।’


बालबालिकादेखि पाका उमेरकासम्म नाटक हेर्न झुम्मिने गरेका छन् । २ सय र ५ सय टिकट काटेर केही दर्शकले त बिहीबार दोहोर्‍याएर नाटक हेरे । यो नाटकमा कलाकार अञ्जान ढुंगाना कथा संग्रहका लेखक रामलाल जोशीको रूपमा प्रस्तुत भएका छन् । कृपा अधिकारीको अभिनय जीवन्त छ । उनको अभिनयले दर्शकको ध्यान खिच्छ । उता वीरबहादुरको रूपमा अभिनय गरेका सुरेश जीसीले भने घरी हँसाउँछन् त घरी भावुक बनाउँछन् । कृपा, अञ्जान, सुरेशसँगै सुमित आचार्य, भीष्म जोशी, विवेक तिवारी र तिलक पौडेललाई नाटकमा देख्न पाइन्छ ।


‘राम्रो प्रतिक्रिया पाएको छु,’ कृपाले भनिन्, ‘सबैले अभिनयको प्रशंसा गर्नुभएको छ, जसले गर्दा अभिनयमा हौसला मिलेको छ ।’ उता सर्वनाम थिएटरबाट रंंग क्षेत्रमा प्रवेश गरेका भीष्म जोशी यही नाटकमार्फत निर्देशकको रूपमा उदाएका छन् । नाटकमा आफैं अभिनयसमेत गरेका छन् उनले । ‘सबैले कामको प्रशंसा गर्दा खुसी लागेको छ,’ उनले भने, ‘मिहिनेत धेरै गरेका थियौं, दर्शकबाट अहिले स्याबासी पाउँदा नाटक तयार पार्दाको दु:ख बिर्सिएका छौं ।’ शनिबारसम्म नाटक देखाइने कर्मी समूहका संयोजक मुकुन्द खलपात्रले बताए ।


‘सिंगो जिल्लामा छुट्टै नाटक घर छैन,’ उनले भने, ‘त्यसैले नाटक घर बनाउन हामीसँग जे प्रतिभा छ, त्यसलाई सदुपयोग गरेर सहयोग जुटाऔं भन्ने हाम्रो अभियान हो ।’ उनका अनुसार यो नाटक धनगढी, मोरङको झोराहट र काठमाडौंमा समेत मञ्चन गर्ने सोच छ । जिल्लामा कलाकार छन् । तर नाटकलाई आवश्यक पर्ने प्रविधियुक्त नाटक घर छैन । ‘हाम्रो चाहना नाटक घर बनाएर कलाकार उत्पादन गर्ने, राम्रो नाटक तयार पार्ने हो,’ उनले भने, ‘त्यसका लागि हामीलाई सहयोगको खाँचो छ, सहयोग पाए राम्रो नाटक घर बनाएर देखाउने थियौं ।’

प्रकाशित : पुस २१, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?