“आई एम बेलमाया”

‘नपढ्दाको दु:ख मलाई भिडियोग्राफी तालिमको  बेला महसुस भयो । तैपनि तालिममा हौसला मिलिरह्यो ।’
दीपक परियार

लेखनाथ — पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (पिम्फ) मा लगातार दुई डकुमेन्ट्री फिल्म हेरिसकेपछि निर्देशकलाई मञ्चमा बोलाइयो । सामान्य कुर्ता–सुरुवालमा २४–२५ वर्षकी देखिने युवती मञ्चमा झुल्किइन् । दर्शकदीर्घामा कानेखुसी चल्न थाल्यो, ‘यिनै हुन् डकुमेन्ट्री फिल्मकी निर्देशक ?’

“आई एम बेलमाया”

‘एजुकेट आवर डटर्स’ र ‘रोइङ अगेन्स्ट दी फ्लो’ हेरेर ताली पिटेका दर्शक निर्देशक बेलमाया नेपालीलाई देखेपछि आश्चर्यमा परे । ‘प्लम्बर’ बाट फुत्त निस्केर ‘फिल्ममेकर’ बनेकी उनै बेलमाया पिम्फको आकर्षण बनिन् । धुरन्धर फिल्मकर्मीका अगाडि उभिएर डकुमेन्ट्रीबारे प्रतिक्रिया बटुलुँला भन्ने उनले एकरत्ती सोचेकी थिइनन् । घन, बेल्चा र सावेल चलाएका हातले कुनै दिन क्यामेराको लेन्स घुमाउँछु भन्ने उनलाई लागेकै थिएन । भइदियो त्यस्तै । उनको सुरुवाती दुई डकुमेन्ट्री फिल्मले नै यस पटकको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा प्रवेश पायो । उमेरले २५ मा हिँडिरहेकी उनी ५ वर्षकी छोरी च्यापेर डकुमेन्ट्री देखाउन गाउँगाउँ पुग्छिन् । कास्कीको लाहाचोकमा ‘श्यामश्वेत’ जीवन बाँचिरहेकी बेलमायाको रंगीन पदार्पण कम्ता रोचक छैन ।


उनको विगत आम अनाथ बालबालिकासँग मिल्दोजुल्दो नै छ । उनी ५ वर्षको हुँदा बुबा ब्लड क्यान्सरले बिते । गरिबी झेल्न नसकेर ४ छोरा २ छोरीकी आमाले आत्महत्या रोजिन् । दाजुभाइले पढाउन बल गरेनन् । आक्कलझुक्कल विद्यालय पुग्थिन् । मास्टरले ‘दिमाग नभएकी’ भनेर बारम्बार गर्ने गाली मनमा बिझिरहन्थ्यो । आमा बित्दा उनी ९ वर्षकी हुँदी हुन् । एक गैरसरकारी संस्थाले पोखराको एसओएस (सेभ आवर सिस्टर्स) बहिनीमा ल्याएर उनलाई राखिदियो । ६ कक्षासम्म त्यहीँ बसेर पढिन् । त्यति बेला संस्थामा बेलायती नागरिक सुई कार्पेन्टर आइपुगिन् । उनले त्यहाँ भएका २२ बालिकालाई फोटोग्राफी तालिम दिइन् । तालिम लिनेमा बेलमाया पनि थिइन् । तालिमपछि तिनै बालिकाले खिचेका १ सय ५० फोटो समेटिएको किताब ‘माई वल्र्ड, माई भ्यु’ प्रकाशित भयो । ती फोटो सन् २००७ मा काठमाडौंको ब्रिटिस काउन्सिल र लन्डनको रोयल कलेज अफ आर्टमा प्रदर्शन गरिए ।


बेलमायाको पढाइ उति तेज थिएन । पढाइ छोडेर संस्थाबाटै उनले सीपमूलक तालिम लिइन् । काम गर्न सजिलो होला भनेर उनले प्लम्बर बन्ने तालिम रोजेकी थिइन् । उनले सोचेभन्दा उल्टो भइदियो । ‘भित्ता फुटाउनुपर्ने, पाइप जोड्नुपर्ने, मलाई झन् गाह्रो भयो,’ उनले विगत सम्झिइन्, ‘केटी मान्छेले सक्दैनन् भनेर काममा पनि पत्याएनन् ।’ संस्थाबाट निस्केपछि उनको जाने ठाउँ थिएन । विदेश गएका एक दाजुको अत्तोपत्तो थिएन । दुई दाजु बिहे गरेर घर सम्हालेर बसेका थिए । एक दाइको स्वास्थ्य अवस्था ठीक थिएन । दिदी पनि बिहे गरेर गइसकेकी थिइन् । उनले पोखरामै बसेर डकर्मीको सहयोगी बन्ने काम रोजिन् । बेल्चा, सावेल र कराहीसँग खेल्ने उनको दैनिकी बन्यो ।


काम गर्दै थिइन्, उनको भेट सुनसरीका विरेन सदासँग भयो । बालुवामा सिमेन्ट घुलेजस्तै मधेसी मूलका विरेन र पहाडी मूलकी बेलमायाको प्रेम बेफिक्रीसँग घुल्यो । १९ वर्षमै बेलमाया विरेनकी भइन् । सँगै मिलेर घरका भित्तामा रंग पोत्दापोत्दै गरेका कल्पना, ‘कल्पना’ बनेर जन्म लिइन् । छोरी कल्पना २ वर्षकी मात्रै पुगेकी थिइन् । सुई कार्पेन्टर बेलमायालाई खोज्दै पोखरा आइपुगिन् । अनाथ, गरिब, दलित, महिला बेलमायाका परिचय थिए । त्यही सम्झेर सुईले बेलमाया खोजिन् । बेलमायाको दैनिकी देखेर सुईलाई दिग्दार लाग्यो । फोटोग्राफी तालिम लिएकी बेलमायालाई अब उनले भिडियोग्राफी तालिम दिने सोच बनाइन् । डेढ वर्षसम्म आफ्नै खर्चमा डकुमेन्ट्री निर्माणसम्बन्धी तालिम दिइन् ।


फिल्ममा उति चासो नभएकी बेलमायालाई डकुमेन्ट्री कुन चराको नाम हो भन्ने नै थाहा थिएन । सुरुमा निकै गाह्रो भयो । तालिममा आइरहने अंग्रेजी शब्दले उनलाई निकै दु:ख दियो । ‘नपढ्दाको दु:ख मलाई तालिमको बेला महसुस भयो,’ उनले भनिन्, ‘तैपनि तालिममा हौसला मिलिरह्यो ।’ तालिममै उनलाई फ्रेम के हो, एंगल के हो, लाइट र साउन्ड के हुन् भन्ने बिस्तारै पत्तो चल्दै गयो । कहिलेकाहीं उनी द्विविधामा पर्थिन्, दुई वर्षकी छोरी हेर्ने कि क्यामेराको भ्यु फाइन्डर ? श्रीमानले क्यामरा होइन, छोरी सम्हाल्न बारम्बार ताकेता गर्थे । उनले त्यसको पर्वाह गरिनन् । बरु जुक्ति निकालिन्– छोरीलाई मन्टेसोरी राख्ने । सुईले नै खर्च बेहोर्ने भएपछि बेलमायालाई सजिलो भयो ।


डेढ वर्षको तालिमपछि पहिलो डकुमेन्ट्रीको विषयवस्तु उनले शिक्षालाई बनाइन् । छोरीलाई शिक्षित बनाउनुपर्ने विषय समेटेर बनाइन्, ‘एजुकेट आवर डटर्स ।’ आफूले राम्रोसँग पढ्न नपाएकाले त्यही विषय रोजेको उनी बताउँछिन् । डकुमेन्ट्रीमा उनी आफैं पनि क्यारेक्टरको रूपमा छिन् । स्कुल–स्कुल पुगेर छात्रालाई प्रश्न सोधिरहेकी छन् । आफ्नै छोरी कल्पनालाई शिक्षित बनाउने संकल्पसहित डकुमेन्ट्री टुंग्याएकी छन् ।


एउटा बनाएपछि अर्को बनाउन सजिलो हुने नै भयो । लेकसाइडमा ज्यामी काम गर्दागर्दै उनले फेवातालमा डुंगा पो चलाउनुपर्छ कि भनेर सोचेकी रहिछन् । तर श्रीमानले ‘डुबिन्छ, नगर’ भनेपछि गरिनन् । त्यस्तो जोखिमको काम थुप्रै महिलाले गरिरहेको उनको दिमागमा घुस्यो । त्यसैलाई अर्को डकुमेन्ट्रीको विषयवस्तु बनाइन् । छोराछोरी पाल्न महिलाले गर्ने दु:ख, उनीहरूको दैनिकी, भुइँमान्छेका सपनालाई ‘रोइङ अगेन्स्ट दी फ्लो’ मा दुरुस्त उतारिन् । आफ्ना डकुमेन्ट्री आफू जन्मेको गाउँमा पनि लगेर देखाइन् । धेरैले ‘टुहुरीको पनि दिन आउँछ’ भने । स्याबासी दिए ।


काठमाडौं र पोखराका ठूला डकुमेन्ट्री महोत्सवमा सहभागी भएर फिल्म मेकरका रूपमा चिनिइसकेपछि फेरि उनी ज्यामी काममा फर्किएलिन् कि नफर्किएलिन् ? अर्को डकुमेन्ट्री बनाउलिन् कि नबनाउलिन् ? ‘मेहनतले हातमा आएको सीप छोड्नु हुँदैन,’ उनी भन्छिन्, ‘मनमा अझै पनि गर्न सक्छु भन्ने छ ।’ तेस्रो डकुमेन्ट्री बनाउने सोचमा रहेको उनले सुनाइन् । लिंग पहिचान गरेर पेटमा छोरी भएकाले धेरै पटक गर्भपतन गराउन बाध्य पारिएकी महिलाको सत्य घटनामा डकुमेन्ट्री बनाउने तयारीमा उनी छिन् ।


बेलमायाको यो कथाको अर्को पाटो पनि छ । १० वर्षअघि फोटोग्राफी तालिम दिँदादेखिका केही दृश्य सुई कार्पेन्टरले पनि आफ्नो भिडियो क्यामेरामा कैद गरेकी थिइन् । त्यतिखेरदेखि नै उनले बेलमायालाई पछयाइरहेकी छन् । बेलमायाले गरेको मजदुरी, मजदुरीबाट बाहिर निस्किएर लिएको डकुमेन्ट्री निर्माण तालिम, निर्देशन र प्रदर्शनलाई उनी डकुमेन्ट्रीमार्फत दस्ताबेजीकरण गर्न खोज्दै छिन् । सुईको निर्देशनमा उक्त डकुमेन्ट्री अन्तिम चरणमा छ । बेलमायाको रामकहानीको बेलीविस्तार लगाउने डकुमेन्ट्री, जुन छिट्टै आउँदै छ, नाम हो– ‘आई एम बेलमाया’ ।

प्रकाशित : पुस २४, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?