२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

डर डन्डीफोरको

काठमाडौँ — हालै सम्पन्न गोल्डेन ग्लोब अवार्ड समारोहमा अमेरिकी सुपर मोडल केन्डल जेनर कालो स्ट्रापलेस गाउनमा उपस्थित भइन् । उनको पहिरनको निकै चर्चा भयो । जताततै फोटो छापियो । सुरुमा त तारिफ पनि पाइन् । तर, बिस्तारै कुरा मोडियो । मान्छेहरू उनको लवाइ होइन कि अनुहारको डन्डीफोरबारे बोल्न थाले । धेरैले आलोचना गरे । 

डर डन्डीफोरको

सेलिब्रेटीका लागि अनुहारमा डन्डीफोर आउनु दु:खद हुन्छ भन्दै केहीले दया देखाए । त्यस्तो अवस्थामा किन रेड कार्पेटमा हिँड्नुपर्‍यो भन्दै प्रश्न गर्नेहरू पनि निस्किए । पिम्पललाई लिएर ठूलै बखेडा मच्चिएपछि केन्डल चुप रहन सकिनन् । उनले हालै एउटा टीट गरेकी छन्, त्यही पिम्पलबारे । लेख्छिन्, ‘त्यो जाबोले तिमीलाई रोक्न नपाओस् ।’


केन्डलको टीटलाई विम्बात्मक भन्दै अमेरिकी सञ्चार माध्यमले उनको प्रशंसा गरेका छन् । डन्डीफोर जाबोलाई अवरोध मान्न नहुने इन–स्टाइल डटकमको विश्लेषण छ ।

आफ्ना ‘कमजोरी’हरूको बहाना बनाएर जिन्दगी निरस ठान्न नहुने उसको भनाइ छ । ‘डन्डीफोर त झन् अति साधारण, आम समस्या हो,’ वेबसाइटमा उल्लेख छ, ‘डन्डीफोर आउँदैमा लजाउनु, धकाउनुपर्ने के कारण छ र ?’


छालाको समस्याबारे केन्डलले यसअघि पनि मुख खोलेकी थिइन् । डन्डीफोरविरुद्ध आफूले कडा संघर्ष गर्दै आएको बताएकी थिइन् । यसले सुरुसुरुमा आफ्नो आत्मबल कमजोर पार्ने गरेको केन्डलको भनाइ थियो । ‘अरूको अनुहारमा हेरेर बोल्नसमेत नसक्ने भएकी थिएँ,’ उनी भन्थिन्, ‘डन्डीफोरले मेरो अनुहार कुरूप बनाएको ठान्थेँ ।’ डाक्टरको सल्लाहपछि चाहिँ सोच फेरिएको केन्डल बताउँछिन् ।


अभिनेता ब्राड पिट, अभिनेत्री इमा स्टोन, गायिका माइली साइरस, फेसन डिजाइनर एवं मोडल भिक्टोरिया बेखाम लगायतले पनि डन्डीफोरविरुद्ध जुध्नुपरेको छ । उनीहरूले बेलाबखत यसबारे सुनाउने गरेका छन् । ‘पहिलेपहिले मेरो छाला एकदम खराब थियो’, माइली भन्छिन्, ‘पिम्पल आउँथ्यो । मान्छेहरू जिस्काउँथे । मलाई नराम्रो लाग्थ्यो । तर, डिप्रेस्डचाहिँ भइनँ ।’


भिक्टोरिया पनि कुनै बेला आफू डन्डीफोर देखेर तर्सिने गरेको बताउँछिन् । उनलाई छाला रोग विशेषज्ञले हरेक दिन माछाका परिकार खान सल्लाह दिएका थिए । उनले त्यसै गरिन् । ‘हरेक दिन झोलाका झोला माछा किन्थेँ’, भिक्टोरियाले भनेकी छन्, ‘गणितको समस्या भएकाहरूले पनि स्मरण शक्ती बढाउन माछा खान्छन् रे । पसलेहरू मलाई गणितको विद्यार्थी भन्ठान्थे ।’


गायिका केटी पेरीले डन्डीफोर छोप्न हेभी मेकअप गर्ने गरेको बताएकी छन् । यसले आफूलाई असुरक्षित (इन्सेक्योर) महसुस गराउने गरेको केटीको भनाइ छ । सेलिब्रेटीहरू त भइहाले, आम युवायुवतीसमेत डन्डीफोरलाई ‘इस्यु’ मान्ने गर्छन् । यसको उपचारका लागि अनेक क्रिम र लोसन लगाउँछन् । उपचार त गर्नैपर्‍यो । तर, केन्डलको भनाइ अनुसार डन्डीफोरलाई बाधाचाहिँ ठान्नु भएन ।

प्रकाशित : पुस २६, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?