१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सोनुको जित

काठमाडौँ — केही समयअघिको कुरा हो, भारतीय गायक सोनु निगमले मस्जिदहरूमा सबेरै लाउडस्पिकर बजाउन बन्द गरिनुपर्ने बताउँदा ठूलो होहल्ला मच्चियो । उनलाई मुसलमानविरोधी पनि भनियो । तर, अहिले यूपी सरकारले साँच्चि नै लाउडस्पिकर बजाउन प्रतिबन्ध लगाइदिएपछि सोनु दंग छन् । यूपीमा मात्र होइन, देशैभरि यो निमय लगाउन आवश्यक रहेको उनी बताउँछन् ।

सोनुको जित

‘मैले बालेको दियो निभाउन थुप्रै आँधीतुफान आए,’ सोनुले भारतको एबीपी न्युजसँग भनेका छन्, ‘मलाई कुनै राजनीतिक पार्टीको साथ मिलेन । तर, म आफ्नो मुद्दामा अडिग रहेँ । धेरैले यसलाई बेढंगी पाराले अथ्र्याए । केहीले त सोनु भर्सेस इस्लामसमेत बनाइदिए ।’ गायकले आफू मुसलमान नभए पनि हरेक बिहान मस्जिदमा घन्काइने अजान सुनेर उठ्नुपर्ने बाध्यता कहिले सकिएला भन्दै ट्वीट गरेका थिए ।

‘सबैलाई भगवान्को आशीर्वाद मिलोस् । म मुसलमान होइन तर बिहान सधैँ अजानका कारण ब्युँझिनुपर्छ । यो अनिवार्य धार्मिकता (फोस्र्ड रिलिजियसनेस) भारतमा कहिले समाप्त होला ?’ सोनुले यस्तो ट्वीट गरेपछि उनलाई अनेक आक्षेप लागेका थिए । आफूले लाउडस्पिकर घन्काउने मन्दिर, मस्जिद, गुरुद्वारा सबैलाई जनाउन खोजेको सोनुको भनाइ थियो । ‘म धार्मिक मान्छे होइन,’ उनी भन्छन्, ‘कुनै धर्ममा खास रुझान छैन । म जस्तालाई लाउडस्पिकरले डिस्टर्ब गर्छ ।’

हरेक विकासोन्मुख समाजले अगाडि हेर्न आवश्यक रहेको सोनुको भनाइ छ । पछाडि फर्किएर अगाडि बढ्न नसकिने उनले बताएका छन् । यूपी सरकारले लाउडस्पिकर बजाउन प्रतिबन्ध लगाएको खबरले आफूलाई धेरै खुसी तुल्याएको भन्दै उनी थप्छन्, ‘मैले आफ्नो विचार राख्दा मार्ने धम्की दिइयो । कुरा राख्न पाउनु मेरो हक हो । त्यतिका लागि ज्यानकै धम्की दिनुपर्ने ? मैले कसैको हत्या गरेको थिएँ र ? कि बलात्कार गरेको थिएँ ?’

उनले स–साना कुरामा विवाद मच्चाएर देशकै बदनाम नगर्न अनुरोध गरेका छन् । असहिष्णुताले समाजमा अनेक थरी अराजक तत्त्व जन्माउने उनको भनाइ छ ।

सोनु भारतका हाइएस्ट पेड गायकमध्येका एक हुन् । उनले नेपाली गीतहरू पनि गाएका छन् । ‘उकाली ओराली गर्दै...’, ‘विरहीको भाकाले...’, ‘यो मायाले हेर न...’, ‘फूलको डालीडालीमा...’ जस्ता गीतमा उनको स्वर सुन्न सकिन्छ ।

प्रकाशित : पुस २७, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?